शैक्षिक प्रणाली सुधारौं

रेशम शर्मा बस्ताकोटी २०७९ माघ ९ गते १२:१७

रेशम शर्मा बस्ताकोटी

निर्वाचन प्रणालीबाट जनताले असल व्यक्तित्व रोज्ने र खोज्ने व्यवस्था गर्छ । जसको कारण स्वच्छ छवि भएको इमान्दार नेतृत्व गर्नेको काँधमा जनताको नासो पुग्छ । त्यसबाट जनताको हातमा अधिकार कति रहेछ भन्ने विषयमा अशिक्षित नागरिकसमेतमा बोध हुन्छ ।

तर अझै पनि हाम्रा देशका नागरिक राम्ररी शिक्षित भइसकेका छैनन् । कतै डर धाकको दबाव छ, कतै रक्सी–मासु, भोजभतेरको प्रभाव छ । अझै पनि त्यसैको दबाब र प्रभावमा परेर मतदान हुँदा त्यसको परिणामले सुल्टोउल्टो छुट्याउन सक्दैन ।

Advertisement

सत्तामा नपुग्ने पुग्छ, सत्ता पुग्नुपर्ने व्यक्ति पुग्न सक्दैन । जसका कारण राष्ट्र र जनताको हितमा काम हुन सक्दैन । निर्वाचन प्रणाली जस्तै हाम्रो शिक्षा प्रणाली पनि हिजो आज कमजोर हुँदै गएको छ । राज्यको दायित्व कुनै पनि विद्यालयमा रहेका विद्यार्थीलाई विद्यार्थीको धर्म के हो, संस्कार के हो, नैतिकता र अनुशासन के हो भन्ने सन्दर्भसँग मेल खाने पद्धतिलाई अवलम्बन गरेर शिक्षादीक्षा दिनु हो ।

त्यो हुन सक्ने हो भने संस्कारयुक्त प्रथम श्रेणीका सक्षम नागरिक उत्पादन हुन्छन् यस्ता नागरिकको उत्पादन गर्नुपर्ने मुख्य कर्तव्य पनि राज्यको हुन्छ ।

Advertisement

सत्तामा नपुग्ने पुग्छ, सत्ता पुग्नुपर्ने व्यक्ति पुग्न सक्दैन । जसका कारण राष्ट्र र जनताको हितमा काम हुन सक्दैन ।

विद्यार्थीलाई विद्यालयमा असल संस्कार सिकाउनु, राष्ट्रिय भावनालाई जगाउनु, राष्ट्रप्रतिको जिम्मेवारी बोध हुने खालका शिक्षाका माध्यमबाट कलिला बालबालिकाको मन मस्तिष्कलाई जागृत गराउनु हामी सबैको कार्य हो । किनकि अनुशासन र नैतिकवान व्यक्तिबाट मात्रै राष्ट्रको विकास सम्भव हुन सक्छ । व्यक्तिको बोल्ने शैली, देखाउने लगाइखवाइ र खानपिनले देशमा विकास भएको र व्यक्तिको व्यक्तित्व असल भन्न मिल्दैन ।

बालबच्चाहरूले आमालाई मम्मी र बुबालाई डेडी भन्दैमा विकास भन्न मिल्दैन । घोडालाई लगाम लगाएसरिको शिक्षापद्धतिले कलिलो उमेरका बालबालिकालाई असल मार्ग निर्देशन गर्न नसकेको आम नागरिकको बुझाई छ ।

दृष्टिविहिन व्यक्तिलाई भिरमा बाटो छ भन्दा विश्वास मान्नु, गाईको कान समाएर हात्तीको कान भन्दा विश्वास मान्नुलाई जसरी सिकारुको गल्ती भन्न मिल्दैन त्यस्तै आजको सिकाइ पद्धति र प्रणाली असल र सही नहुँदा कलिला बच्चाहरूमा राष्ट्र र राष्ट्रियताप्रतिको महिमा जागृत हुन सकिरहेको छैन ।

आगोको काम जान्दा जान्दै आगोमा हाम फाल्दा त्यसले स्वतः खरानी गराइदिन्छ । यसैले पशुलाई लौराको त्रास गराए सरी मानव जातिलाई कानूनको त्रास डर हुनु पर्ने हो तर त्यो हुन सकेको छैन । पशु त पशु नै थिए तर आजको मानव सभ्यता पशुसरहको अवस्थामा आउनु भनेको गुणस्तरिय शिक्षा पद्धतिको अभाव भन्न सकिन्छ ।

त्यसैकारण हाम्रो दैनिक जीवनमा, हाम्रो परम्परा, संस्कार, संस्कृति र नैतिकतासँग जोडिने मर्यादित र अनुशासित शिक्षारूपी ज्योतिलाई घरघरमा पुर्‍याई स्वच्छ छवि भएका व्यक्तिको उत्पादन गर्नु राज्यको कर्तव्य हो । यसैले मातृभूमिले अपेक्षा गरेजस्ता योग्य सपुतहरू जन्माउन हाम्रो शिक्षा प्रणालीमा सुधार आवश्यक भइरहेको आँकलन गर्न सकिन्छ ।

मानव सभ्यताको विकासका लागि समाज आवश्यक हुन्छ । समाज राम्रो छैन भने त्यहाँको संस्कार राम्रो हुँदैन, विभिन्न खराब गतिविधि चल्छन् । यसैले समाज असल हुन शिक्षा प्रणाली असल हुन आवश्यक हुन्छ । वर्तमानको घोकन्ते र आधुनिक नाम दिइएको शिक्षाबाट मात्र राज्यको विकास हुँदैन, मान्छे नैतिकवान् हुँदैन त्यसैले समाज सुधारका लागि नैतिक शिक्षाको जरुरी पर्छ ।

बलिरहेको आगो पानीले समाप्त गरेजस्तै समाजका खराब परम्परालाई नैतिक शिक्षाले मात्रै खरानी पार्छ । यसैले आजको २१ औं शताब्दीको माग भनेको हरेक बालबालिकालाई नैतिकवान बनाउनु हो, त्यसैको सेरोफेरोमा हाम्रो शैक्षिक प्रणालीको उत्पादन अपेक्षाकृति नैतिकवान नहुँदा राज्यमा बाधा, व्यवधानहरू खडा भइरहेका छन् ।

जसरी मैला कपडालाई साबुन पानीले र अँध्यारोलाई प्रकाशले समाप्त गर्छ, त्यस्तै गरेर आत्मभित्र लुकिरहेको कुकर्मलाई संस्कारजन्य शिक्षाले सफा गर्ने भएकाले असल संस्कारयुक्त शिक्षा प्रणाली आजको आवश्यकता भएको छ । जसरी कृर्षकले आफ्नो जमिन खनजोत गरेर भूमि सफा गर्छ त्यस्तै गरेर राष्ट्र र राष्ट्रियतालाई उचो राख्न, जनतालाई सुखी र समृद्ध बनाउन संस्कारयुक्त शिक्षा पद्धति आवश्यक छ ।

शिक्षाका नाममा सुगा रटाइ जस्तो घोकाइ होइन, विद्यार्थीलाई व्यवहारिक ज्ञान, समाजले अपेक्षा गरेको सामाजिक शिक्षा, व्यवहारिक शिक्षा, जीवनपयोगी र नैतिक शिक्षा प्राप्त नेपाली नागरिकले मात्र राज्यप्रतिको दायित्व पूरा गर्न सक्ने हुँदा कागजमा देखाउने शिक्षा भन्दा समाज सुधार गर्ने, घर परिवारमा परिवर्तनको बोध गराउने, म र मेरो भन्नु भन्दा पनि हामी र हाम्रो भन्ने नैतिकवान नागरिकको उत्पादन गर्नतर्फ जोड दिनुपर्ने देखिन्छ ।

शिक्षाका नाममा व्यापार गर्ने र सबै आ–आफ्नै स्वार्थ सिद्धितर्फ लाग्ने हो भने राज्यमा असल जनशक्तिको अभाव हुँदा काँडाले जसलाई कोप्छ त्यसको दुःखाई उसैलाई थाहा हुन्छ । मिश्री जस्तो सेतो वस्तु त धेरै देखिन्छ तर त्यो के भनेर त्यसको स्वादले मात्र चिन्न सकिन्छ । त्यस्तै हाम्रो समाजलाई सभ्य र संस्कारयुक्त बनाउन व्यक्ति नैतिकवान हुन आवश्यक छ ।

त्यो भनेको असल शिक्षा नै हो । जसले चरित्रवान र अनुशासित नागरिकको उत्पादन गर्दछ । जसले गर्दा जुनसुकै व्यवस्थामा पनि आफ्नो अधिकारको मूल्यांकन आफैँ गर्न सक्ने नागरिकलाई थप उर्जा उत्पन्न गराउँछ । त्यसैकारण राज्यले सबै बालबालिकालाई कागजी र घोकन्ते नभएर अनुशासित, नैतिकवान राष्ट्रप्रेमीर देशभक्त हुने संस्कारयुक्त पठनपाठन पद्धति लागू गर्नु पर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया