बागलुङ–पोखरा मगर समाजको सम्मान

समाधान संवाददाता २०७९ माघ ९ गते १७:३५

पोखरा ।
बागलुङ–पोखरा मगर समाजले गण्डकी प्रदेशसभाकी नवनिर्वाचित उपसभामुखदेखि नेपाल सरकारका उपसचिवसम्मलाई शनिबार सम्मान गरेको छ ।

Advertisement

समाजले माघे सकरातीको सन्दर्भमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा उपसभामुख विनाकुमारी थापामगर, गण्डकी प्रदेशसभाका सदस्यहरू दीपेन्द्रबहादुर थापामगर र कुसुम बुढामगर तथा गण्डकी प्रदेशका सहकारी रजिष्ट्रार, नेपाल सरकारका उपसचिव रमेश घर्तीमगरलाई सम्मान गरेको हो ।

कार्यक्रममा समाजले कक्षा १२ उत्तीर्ण मगर विद्यार्थी तथा ज्येष्ठ नागरिकलाई समेत सम्मान गरेको थियो । सम्मानित व्यक्तित्वहरूलाई सम्मान गर्दै आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष एवं संविधानसभा सदस्य गोकुल घर्तीमगरले मगर जातिको भाषा, संस्कृति र भेषभूषा जोगाउन युवा पुस्ताले विशेष ध्यान दिनुपर्ने बताए ।

भेग अनुसार संस्कार, संस्कृति फरक हुने गरेको भन्दै उनले मौलिक पहिचान जोगाउन सके मात्र जातीय अस्तित्व कायम रहन सक्ने धारणा व्यक्त गरे। माघे सकरातीलाई मगर समुदायले फरक विशेषताका साथ मनाउने गरेको बताउँदै घर्तीमगरले मानव समुदायको उत्पत्तिसँगसँगै यस पर्वको सम्बन्ध रहेको समेत उल्लेख गरे ।

गण्डकी प्रदेशसभाकी उपसभामुख विनाकुमारी थापामगरले आफ्नै जिल्लाबासीको समाजमा सम्मानित हुन पाउँदा खुसी लागेको सुनाइन् । उनले सम्मानले समाज र देशप्रति जिम्मेवार भएर काम गर्न हौसला मिलेको उल्लेख गरिन् ।

Advertisement

गण्डकी प्रदेशसभा सदस्य दीपेन्द्रबहादुर थापामगरले जो जहाँ रहे पनि एक भएर अघि बढे मात्रै मगर समुदायको अधिकार स्थापित गर्न सकिने भन्दै भाषा, संस्कृति र भेषभूषा संरक्षण अहिलेको सर्वाधिक चासोको विषय भएको धारणा व्यक्त गरे ।

अर्की गण्डकी प्रदेशसभा सदस्य कुसुम बुढामगरले आफूले मगर समुदायको मुक्तिका लागि लामो संघर्ष गरेर आएको भन्दै अब नीति निर्माण तहबाट मगर समुदाय लगायत उत्पीडित वर्ग, समुदायको लागि काम गर्ने प्रतिबद्धता जनाइन् ।

सो अवसरमा नेपाल मगर संघका उपमहासचिव खेम पुनमगर, गण्डकी प्रदेशका सहकारी रजिष्ट्रार रमेश घर्तीमगर, नेपाल मगर संघका केन्द्रीय सदस्य हर्क आलेमगर, बागलुङ समाज पोखराका अध्यक्ष डिल्लीप्रसाद शर्माले बोलेका थिए । कार्यक्रम समाजका अध्यक्ष गजेन्द्र थापामगरको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा बागलुङ घुम्टे मगर समाज, पोखराको तर्फबाट सोरठी नृत्य प्रस्तुत गरिएको थियो भने नेपाल मगर सांस्कृतिक संघ, कास्कीकी सचिव एवं चर्चित लोक तथा दोहोरी गायिका वसन्ती थापामगर, गायक रामचन्द्र थापामगर र सञ्जय पुनमगरले सांगीतिक प्रस्तुति राखेका थिए । कलाकारहरू बलबहादुर श्रीसमगर, सविना घर्तीमगर र विनिषा श्रीसमगरले नृत्य प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया