प्रहरी चौकी प्रमुखसम्मको फोन नम्बर वेबसाइटमा

पोखरा ।
प्रहरीलाई कुनै सूचना दिनुपर्यो ? वा सहयोगका लागि प्रहरीलाई सम्झनुपर्यो ? आफ्नै घरगाउँको प्रहरी चौकीमा खबर गर्नुपरे कसरी गर्ने त ? अबचाहिँ सजिलो हुने भएको छ । गण्डकी प्रदेश प्रहरीले चौकी प्रमुखसम्मको फोन नम्बर वेबसाइटमै उपलब्ध गराएको छ ।
सेवाग्राही र प्रहरी बिचमा विश्वासको वातावरण विकास गरी शान्ति सुरक्षासँग सम्बन्धित महत्वपूर्ण सूचनाहरु आदानप्रदान गर्न सजिलो होस् भनेर प्रहरी कार्यालय प्रमुखहरुको मोबाइल नम्बर वेबसाइटमै राखिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रदेशभरका जिल्ला, इलाका, वडा र चौकीसम्मका कार्यालय र प्रमुखको सम्पर्क नम्बर गण्डकी प्रदेश प्रहरी कार्यालयको वेबसाइटमा राखिएको हो । सेवाग्राहीले गण्डकी प्रदेश प्रहरी कार्यालयको वेबसाइटमा गई आफ्नो गुनासो वा समस्या कुन प्रहरी कार्यलयमा पु¥याउनुपर्ने सो कार्यालय र कार्यालय प्रमुखको सम्पर्क नम्बर प्राप्त गर्न सकिने प्रहरी प्रहरी कार्यालयले जनाएको छ । ‘सेवाग्राहीले आफूले चाहेको प्रहरी कार्यालय प्रमुखसँग सिधै सम्पर्क गरी आफ्ना गुनासा, समस्या वा सुरक्षा सम्बन्धी राय सल्लाह लिन सक्नेछन्,’ कार्यालयले भनेको छ ।
सेवाग्राहीहरुले नेपाल प्रहरीको एप्लिकेसनबाट पनि नेपालभरका नेपाल प्रहरीका सबै कार्यालयको सम्पर्क नम्बर प्राप्त गर्न सक्छन् । प्रहरी सेवा प्रवाहलाई थप जनमुखी र चुस्त बनाई सहज सेवा प्रवाहका लागि गण्डकी प्रदेश प्रहरीको यो कार्यले महत्वपूर्ण भूमिका निर्वाह गर्ने गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) बुद्धिराज गुरुङले बताएका छन् । आफूले सम्पर्क गर्न खोजेको प्रहरी कार्यालय प्रमुखसँग सिधै कुराकानी गर्ने अवसर पाएपछि प्रहरीसँग सहजै जनताको पहँुच पुग्ने विश्वास प्रहरी नायब महानिरीक्षक गुरुङले व्यक्त गरे ।
तपाईको प्रतिक्रिया