७ मन्त्रालयको भागबन्डामा कसलाई कति ?

एमाले ४, माओवादी २ र राप्रपा १ को खाका तयार तर ३ मन्त्रालय चाहिने माओवादीको दावी

सञ्जय रानाभाट २०७९ माघ १० गते १०:३९

सञ्जय रानाभाट, पोखरा ।
सत्ता गठबन्धनका दलले गण्डकी प्रदेशमा ७ वटा मन्त्रालय बनाउने सहमति गरेका छन् । तर ती मन्त्रालयको भागबन्डा कसरी गर्ने भन्ने टुंगो लाग्न बाँकी छ । यद्यपि भागबन्डाको एउटा खाका भने तयार भइसकेको छ ।

भागबन्डा मिलाउन र आफ्नो पार्टी एमालेबाट बनाउने मन्त्रीबारे सल्लाह लिन मुख्यमन्त्री खगराज अधिकारी सोमबार काठमाडौं पुगेका छन् । उनले पार्टी अध्यक्ष केपी ओलीसँग परामर्श गरी आफ्नो पार्टीको भागबाट बन्ने मन्त्रीको नाम टुंगो लगाउने स्रोत बताउँछ ।

गण्डकी प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ७ मन्त्रालय बनाउने निर्णय गरेको जानकारी सरकारकी प्रवक्तासमेत रहेकी मन्त्री सीता सुन्दासले दिएकी छन् । त्यसअघि सत्ता गठबन्धनका दलहरु एमाले, माओवादी र राप्रपाले १२ वटा मन्त्रालयलाई घटाएर ७ बनाउने सहमति गरेका थिए ।

Advertisement

प्रदेश सरकार कार्यविभाजन नियमावली, २०७४ संशोधन गरेर मन्त्रालय संख्या १२ बाट ७ वटा बनाउने निर्णय मन्त्रिपरिषद बैठकले गरेको हो । ‘आइतबार र सोमबार बिहान सत्ता साझोदारको बैठक बस्यो । बैठकलगत्तै बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको संख्या ७ बनाउने निर्णय गरेको छ,’ सरकारकी प्रवक्ता सुन्दासले भनिन् ।

अधिकारी पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए । सोही दिन उनले ४ सदस्यीय मन्त्रिपरिषद बनाउँदै माओवादीका हरिबहादुर चुमान, एमालेकी सीता सुन्दास र राप्रपाका पञ्चराम गुरुङलाई विनाविभागीय मन्त्री नियुक्त गरे । मन्त्रालय संख्या र भागबन्डा टुंगो नलाग्दा विनाविभागीय मन्त्रीको जिम्मेवारी यकिन हुन सकेको छैन । संख्या यकिन भएपछि अब भागबन्डा मिलाउनमात्रै बाँकी भएको छ ।

Advertisement

मुख्यमन्त्री अधिकारीले ७ मन्त्रालयमध्ये ४ एमाले, २ माओवादी र १ राप्रपाका गरी मन्त्री बनाउने योजनामा सत्ता साझेदार दललाई कन्भिन्स गर्नै प्रयास गरेका छन् । यो खाकामा एक किसिमको सहमति भएको भए पनि माओवादीले एमाले र माओवादीले ३/३ मन्त्रालय राख्नुपर्ने दाबी गरिराखेका छन् । त्यसैमा अझै टुंगो नलाग्दा मन्त्रिपरिषद विस्तार हुन सकेन ।

‘मुख्यमन्त्रीको भित्री चाहना सोमबार नै मन्त्रिपरिष्द विस्तार गर्ने चाहना थियो । तर, यहाँ सत्ता गठबन्धनमा सहभागी दलका नेताहरुको बैठकले कुन दलको कति मन्त्रालय बनाउने भन्ने विषयमा सहमति नजुट्दा समस्या भएको हो,’ मुख्यमन्त्रीनिकट स्रोतले भन्यो, ‘मन्त्रालय संख्या घटेपछि सबै दलले धेरै मन्त्रालयको अपेक्षा गर्दा मुख्यमन्त्री यही कुरालाई टुंग्याउन केन्द्रीय नेतासँग सल्लाह लिन जानु भएको सत्य हो ।’

सम्भावित मन्त्री
माओवादी गण्डकी संसदीय दलले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ । सोमबार बसेको उक्त पार्टीको संसदीय दलको बैठकले रेशमबहादुर जुग्जाली (सुविन)लाई सरकारमा पठाउने निर्णय गरेको हो । मालिका गाउँपालिकाको वडा नम्बर ७ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएर जितेका जुग्जाली गत स्थानीय निर्वाचनमा भने मालिका गाउँपालिका अध्यक्षमा पराजित भएका थिए ।

तत्कालीन सत्ता गठबन्धनबाट गाउँपालिका अध्यक्ष हारे पनि उनले गत प्रदेश सभा निर्वाचनमा प्रदेश सांसदका लागि टिकट पाएका थिए । ३९ वर्षीय जुग्जाली म्याग्दी प्रदेशसभा क्षेत्र (२) बाट निर्वाचित भएका थिए । माओवादीका तर्फबाट यसअघि तनहुँ २(ख) बाट निर्वाचित हरिबहादुर चुमान विना विभागीय मन्त्री नियुक्त भइसकेका छन् ।

‘पार्टीको सिफारिसमा संसदीय दलको बैठकले जुग्जालीलाई सरकारमा पठाउने निर्णय गरेको छ,’ माआवादी केन्द्रका १ सांसदले भने । माओवादीले ३ मन्त्रालय पाएको खण्डमा गोरखाबाट निर्वाचित फणीन्द्र देवकोटालाई मन्त्री बनाउने माओवादीको तयारी छ । तर, ३ मन्त्रालय पाउने सम्भावना निकै कम रहेको माओवादी नेताहरु नै बताउँछन् ।

एमालेबाट रोशन गाहा थापा मगर मन्त्री हुने सम्भावना छ । अन्य ३ मन्त्रीमा बागलुङबाट १ सांसद मन्त्री बन्ने एमालेनिकट स्रोत बताउँछ । ‘बागलुङका गोविन्दबहादुर नेपाली र लीलबहादुर थापामध्ये १ मन्त्री हुन सक्छन्,’ स्रोत भन्छ, ‘बागलुङका कोही नभएर कास्की आइपुगे भीमबहादुर कार्की वा वेदबहादुर गुरुङ ‘श्याम’ मन्त्री हुने सम्भावना छ ।’

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया