गल्याङका पूर्वमेयर विरुद्ध मुद्दा, अदुवाको बीउ खरिदमा २ कराेड भ्रष्टाचार

समाधान संवाददाता २०७९ माघ १० गते १०:४९

पोखरा ।
स्याङ्जाको गल्याङ नगरपालिकाका पूर्वमेयर भूपराज अधिकारीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदुवाको बीउ खरिद गर्दा भ्रष्टाचार भएको ठहर गर्दै सोमबार अधिकारीसहित नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, लेखापाल, आपूर्तिकर्ता स्पुक ट्रेडर्सका प्रतिनिधिसमेत गरी ६ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

Advertisement

अधिकारीले अदुवाको बीउको दररेट तय गर्ने गरी गरेको सिफारिसमा अस्वभाविक रुपमा दररेट थप गरेर नगरपालिकालाई १३ लाख रुपैयाँ क्षति गरेको अख्तियारको ठहर छ । अधिकारीलाई १३ लाख रुपैयाँ बिगो कायम गरी मागदावी लिएर विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए ।

अदुवाको बीउ खरिद गर्दा भ्रष्ट्रचार भएकाे अभियाेग

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद पाण्डे, तत्कालीन बाली विकास अधिकृत अरविन्दमणि त्रिपाठी, तत्कालीन लेखापाल राजेन्द्र रेग्मी र तत्कालीन खरिदार सन्तोष कोइरालाले स्पेसिफिकेशनमा उल्लिखित कागजात परीक्षण नै नगरी गुणस्तरहीन अदुवाको बीउ खरिद गरी भुक्तानीका लागि टिप्पणी आदेश पेश गरेको अख्तियारको दाबी छ ।

उनीहरुले आपूर्तिकर्तालाई पटक पटक गरेर २ करोड १४ लाख ५० हजार भुक्तानी दिएको अख्तियारले जनाएको छ । उनीहरुउपर करबापत कट्टा गरिएको रकम घटाई कायम हुने २ करोड ९७ लाख ७० हजार ४ सय १९ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर भएको छ ।

Advertisement

अदुवाको बीउ आपूर्तिकर्ता स्पुक ट्रेडर्स र सो कम्पनीका प्रतिनिधि शिवप्रसाद न्यौपाने विरुद्ध पनि २ करोड १० लाख ७० हजार ४ सय १९ रुपैयाँ बिगो कायम गरी आरोपपत्र दायर भएको अख्तियारले जनाएको छ ।

तपाईको प्रतिक्रिया