विद्यार्थी कुटपिटपछि स्कुलमा तनाव

समाधान संवाददाता २०७९ माघ १० गते ११:०२

पोखरा ।
तनहुँको घिरिङ गाउपालिकामा रहेको चन्द्रज्योति मावि तनावग्रस्त बनेको छ । विद्यालयका प्रधानाध्यापक प्रेम थापाले कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई कुटपिट गरेपछि विद्यालयमा तनाव सिर्जना भएको हो ।

एसइई पूर्व तयारी कक्षाका लागि होस्टलमा पढ्दै गरेका विद्यार्थीलाई टेस्ट परीक्षामा उत्तर नजानेको भन्दै थापाले कुटपिट गरेका हुन् ।

उनले ४२ जना विद्यार्थीलाई समूहिक रुपमा लौरीले कुटपिट गरेको विद्यार्थीहरु बताउँछन् । विद्यार्थी भिमाद ४ बरण्डाडाका लीलामाया आले गम्भीर घाइते भएपछि घटनाबाहिर आएको हो ।

घाइते विद्यार्थीको हाल बेलचौतारा स्थित जिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

विद्यार्थीका अभिभावकले विद्यालय परिसरमा नाराबाजी गर्दै प्रधानाध्यापकलाई कारबाहीको माग गरेका छन् । घाइते विद्यार्थीका आफन्तले थापालाई कारवाही माग गर्दै इलाका प्रहरी कार्यालय भिमादमा निवेदन दर्ता गराएका छन् ।

तपाईको प्रतिक्रिया