प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीलाई भेटेर पोखरा फर्किए मुख्यमन्त्री अधिकारी

समाधान संवाददाता २०७९ माघ १० गते ११:५२

पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरी पोखरा फर्किएका छन् । मुख्यमन्त्री अधिकारीले मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् । सोमबार काठमाडौं गएका मुख्यमन्त्री अधिकारीले अध्यक्ष ओलीसँग भने सोमबार भेटघाट गरेका हुन् ।

मुख्यमन्त्री अधिकारी र प्रधानमन्त्री प्रचण्डबीच समसामयिक राजनीतिक घटनाक्रम, गण्डकीमा मन्त्रिपरिषद विस्तारलगायतका विषयमा कुराकानी भएको बताइएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकीमा मन्त्रालय संख्या घटाएर १२ वटा मन्त्रालयबाट ७ वटामा झार्ने निर्णय गरेको छ । गण्डकीमा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान र राप्रपाका प्रदेश अध्यक्ष एवं सांसद पञ्चराम गुरूङ मन्त्री नियुक्त भइसकेका छन् ।

बाँकी तीन मन्त्रीमा कुन दलले कति पाउने र कसले पाउने भन्ने भागबण्डा मिलेको छैन । मुख्यमन्त्री अधिकारीले यिनै विषयमा प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेको बताइएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया