इन्द्रेणी मन्त्रिपरिषद्

सञ्जय रानाभाट २०७९ माघ ११ गते १०:५०


सञ्जय रानाभाट, पोखरा ।
इन्द्रेणी ७ थरी रङले मात्रै पूर्ण हुन्छ । ७ जना मन्त्री पाएर गण्डकी मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । दलित/महिला, जनजाति र खसआर्य समावेशितासहित इन्द्रेणी मन्त्रिपरिषद बनेको छ ।

गण्डकीमा उल्लेख्य संख्यामा रहेको जनजाति समुदाय गुरुङबाट २ जना र मगरबाट २ जना मन्त्री भएका छन् । प्रत्यक्ष निर्वाचित दलित महिलाले ‘पावरफुल मन्त्रालय’ आर्थिक मामिला पाएकी छन् ।

मुख्यमन्त्री खगराज अधिकारीले मंगलबार थप ३ मन्त्री नियुक्त गरी मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । यसअघि मुख्यमन्त्री अधिकारीसहितको ४ सदस्यीय मन्त्रिमण्डल गठन भएको थियो ।

Advertisement

मंगलबार एमालेका रोशनबहादुर गाहाथापा मगर, वेदबहादुर गुरुङ ‘श्याम’ र माओवादीका रेशमबहादुर जुग्जाली मगर मन्त्री नियुक्त भएका हुन् । उनीहरुलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनियताको सपथ खुवाए ।

अधिकारी मुख्यमन्त्री नियुक्त हुँदाकै दिन २५ पुसमा एमालेबाट सीता सुन्दास, माओवादीबाट हरिबहादुर चुमान र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पञ्चराम गुरुङ विनाविभागीय मन्त्री नियुक्त भएका थिए । मन्त्रिपरिषदलाई पूर्णता दिएसँगै मुख्यमन्त्री अधिकारीले विनाविभागीय मन्त्रीहरुको समेत कार्यविभाजन गरेका छन् ।

Advertisement
  • —हरिबहादुर चुमान दोहोरिएर मन्त्री हुन पाए
  • —दलित महिलालाई शक्तिशाली अर्थ मन्त्रालय
  • —पालिका हारेर प्रदेशमा जितेका जुग्जाली मन्त्री
  • —रोशन गाहा मन्त्री भएपछि एमाले प्रमुख सचेतक को ?
  • —खगराज अधिकारी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद
  • —हरिबहादुर चुमान, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था
  • —सीता सुन्दास, आर्थिक मामिला
  • —पञ्चराम गुरुङ, सामाजिक विकास तथा स्वास्थ्य
  • —रोशनबहादुर गाहाथापा, आन्तरिक मामिला तथा कानुन
  • —वेदबहादुर गुरुङ, कृषि, ऊर्जा तथा जलस्रोत
  • —रेशमबहादुर जुग्जाली, उद्योग, पर्यटन, वन तथा वातावरण

मुख्यमन्त्री अधिकारीले सोमबारमात्रै आफ्नो पार्टी एमाले अध्यक्ष केपी शर्मा ओली र मंगलबार बिहान माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका थिए ।

ओली र दाहाललाई भेटेर मुख्यमन्त्री अधिकारी मंगलबार बिहानै काठमाडौंबाट पोखरा फर्किएका हुन् । ओली र दाहालसँगको परामर्शपछि अधिकारीले मन्त्रीको नाम टुंग्याएर मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा सबैभन्दा धेरै सांसद रहेको बागलुङबाट अधिकारी मन्त्रिपरिषदमा कोही पर्न सकेनन् । यद्यपि यसअघि नै बागलुङकी बिनाकुमार थापामगर उपसभामुख निर्वाचित भइसकेकी छिन् । सत्ता गठबन्धनकै समर्थनबाट गोरखाका कृष्ण धिताल सभामुख भएका छन् ।

मुख्यमन्त्री अधिकारीले मंगलबार मन्त्री नियुक्त गरेकामध्ये रोशनबहादुर गाहाथापा प्रदेश सभामा समेत दोहोरिन सफल सांसद हुन् । गण्डकीमा दोहोरिएर सांसद जम्मा ४ जनामध्ये उनी पनि १ हुन् । एमाले प्रदेश संसदीय दलमा प्रमुख सचेतक रहेका उनी मन्त्री भएपछि अब त्यो जिम्मेवारी अरु सांसदलाई मिल्ने भएको छ ।

रोशन २०७४ सालमै पृथ्वीसुब्बा गुरुङ नेतृत्व सरकारमा सामेल हुने चर्चा थियो । तर, हुन पाएनन् । गुरुङ सरकार ढलेपछि भने उनी प्रदेशमा सार्वजनिक लेखा समितिको सभापति बन्न पाएका थिए ।

माओवादीका हरिबहादुर चुमान प्रदेश सभा सदस्यमात्रै नभई दोहोरिएर मन्त्री हुन सफल भएका छन् । २०७४ सालमा एमाले र माओवादीले मिलेर पृथ्वीसुब्बा गुरुङ नेतृत्वमा सरकार बनाउँदा चुमान आन्तरिक मामिला मन्त्री बनेका थिए । त्यति बेला १२ जना प्रदेश सभा सदस्य रहेको माओवादीबाट २ जना मन्त्री बनेका थिए ।

यसपालि ८ जनामात्रै सांसद रहँदासमेत माओवादीबाट उत्ति नै संख्यामा मन्त्री भएका छन् । गुरुङ सरकार ढलेर कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वमा सरकार बन्दा भने माओवादीबाट ४ जना मन्त्री भएका थिए ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नियुक्त रेशमबहादुर जुग्जालीलाई माओवादी गण्डकी संसदीय दलले सरकारमा पठाउने निर्णय सोमबार नै गरेको थियो । २०७४ सालमा म्याग्दीको मालिका गाउँपालिकाको वडा नम्बर ७ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएर जितेका जुग्जाली गत स्थानीय निर्वाचनमा भने मालिका गाउँपालिका अध्यक्षमा पराजित भएका थिए ।

तर फेरि उनले गत प्रदेश सभा निर्वाचनमा प्रदेश सांसदका लागि टिकट पाएका थिए । ३९ वर्षीय जुग्जाली म्याग्दी प्रदेशसभा क्षेत्र (२) बाट निर्वाचित भएका हुन् ।

एमालेबाट मन्त्री भएकी सीता सुन्दासले पावरफुल मन्त्रालय मानिने आर्थिक मामिला पाएकी छिन् । उनी स्याङ्जा १ (१) बाट प्रदेश सभामा निर्वाचित भएकी हुन् । उनलाई गण्डकी प्रदेश सरकारको पहिलो बैठकले प्रवक्ताको जिम्मेवारी तोकेको छ ।

यसअघि स्याङ्जा जिल्ला समन्वय समिति प्रमुख रहेकी सुन्दास जिल्ला समन्वय समिति महासंघकी संस्थापक अध्यक्षसमेत थिइन् । सुन्दास गण्डकी प्रदेशमा प्रत्यक्ष निर्वाचन जित्ने एक्ली दलित हुन् । प्रत्यक्ष निर्वाचन जित्ने महिला भने उनीसहित २ जना छन् ।

कृषि, ऊर्जा तथा जलस्रोत मन्त्री भएका एमाले सांसद वेदबहादुर गुरुङ श्याम कास्की १ (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । गुरुङ २०६४ मा नेकपा एमाले कास्की जिल्ला कमिटी सदस्य थिए ।

उनी ०७४ को निर्वाचनमा कास्कीको मादी गाउँपालिकाको संस्थापक अध्यक्ष भइसकेका छन् । गुरुङ राजनीतिककर्मी मात्र नभई कलाकार पनि हुन् । उनले गुरुङ भाषाको फिल्ममा अभिनय र निर्देशन गरेका छन् ।

राप्रपाबाट विना विभागीय मन्त्रीको रुपमा सपथ लिएका पञ्चराम गुरुङले सामाजिक तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनी पार्टीको गण्डकी प्रदेश समिति अध्यक्ष पनि हुन् । गण्डकी राप्रपाबाट संसदीय दलको नेतासमेत हुन् ।

अघिल्लो कार्यकालमा शून्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले यसपालि गण्डकी प्रदेश सभामा समानुपातिकबाट २ सिट पाएको हो । गुरुङले पार्टीको नेतृत्व गर्दै सरकारमा सहभागी हुने मौका पाएका हुन् ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया