पोखराले भोगेको अकल्पनीय त्रासदी

राजेन्द्र आचार्य ।
सम्भवत माघ १ गतेको कालो दिनलाई पोखरेली जनताले कदापि भुल्ने छैनन् । पोखरामात्र होइन; सिंगो देश नै अकल्पनीय हवाई दुर्घटनाले स्तब्ध बन्यो । काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको एटिआर विमान अवतरण हुनै लाग्दा दुर्घटनामा परी ७१ जनाको अकालमै ज्यान जान पुग्यो ।
१ जनाको अवस्था अझै पनि अज्ञात छ । यो दुर्घटनाले परिवारजनलाई जिन्दगीभरको पीडा दिएर गएको छ । आफ्ना प्रियजनलाई अप्रत्यासित र अकल्पनीयरुमा यसरी गुमाउनुपर्दा असह्य बनाइदिएको छ । मध्य बस्तीको बीचमा भएको यति ठूलो दुर्घटनाले वरपरका बासिन्दालाई समेत बेचैन बनाइदिएको छ ।
आँखैअगाडि भयंकर दुर्घटना देख्नेहरु अझै सामान्य बन्न सकेका छैनन् । बस्तीको बीचमा भएर पनि सेती नदीका कारण खाली रहेको ठाउँमा जहाज खस्नु संयोगमात्र होइन; यसले सयौं घर र थुप्रै मानिसको समेत ज्यान जोगिन पुगेको छ । घना बस्तीको बीचमा खाली रहेको सानो क्षेत्रमै मात्र प्लेन खस्नु यो आफैंमा आश्चर्यको विषय हो । ५० मिटरमात्र दायाँबायाँ भएको भए त्यसबाट हुने थप क्षतिको हामी कल्पना पनि गर्न सक्दैनौं ।
सबै जना माघे संक्रान्तिको रमाइलोमा रहेकै बेला यो अप्रत्यासित दुर्घटना हुन पुग्यो । विमानमै रहेका यात्रुलाई समेत क्षणभरमा यति ठूलो दुर्घटना भएर आफू मरौंला भन्ने रत्तिभर शंका थिएन । भारतीय यात्रु सोनु जैसवालले फेसबुकका लाइभ गर्दाको सार्वजनिक भएको भिडियोले पनि यो कुराको पुष्टि गर्दछ । छानबिन र अनुसन्धानबाट दुर्घटनाको कारण खुल्ने नै छ । तर जमिनमा टेक्नै लागेको विमानले कसरी यो नियति भोग्नुपर्यो भन्ने जिज्ञासा आमसर्वसाधारणको मनमा गहिरोसँग गडेको छ ।
जमिनमा टेक्नै लागेको विमानले कसरी यो नियति भोग्नुपर्यो भन्ने जिज्ञासा आमसर्वसाधारणको मनमा गहिरोसँग गडेको छ
उक्त विमान दुर्घटना भोग्ने, देख्ने र सुन्ने प्रत्येका व्यक्तिका आ–आफ्नै भोगाइ, अनुभव र किस्सा छन् । दुर्घटनाको पहिलो सूचना पाउँदा सुरुमा त पत्याउनै गाह्राे भयो । शरीरले काम गर्न छाडेको महसुस भयो । हातगोडा काम्न थाले । प्रहरीका साधन, एम्बुलेन्स र दमकल साइरन बजाउँदै दुर्घटनास्थलतर्फ जाँदै थिए ।
बस्तीको बीचमा भएकाले आम सर्वसाधारणको भीड थाम्नै नसकिने गरी बढिसकेको थियो । विमान सेतीको खोंच, त्यसमा पनि निकै नै अप्ठ्यारो ठाउँमा खसेकाले उद्धारमा खटिने सुरक्षाकर्मी र सर्वसाधारण लामो समयसम्म अलमलमै परेको देखियो ।
विशाल आगोको मुस्लोछेउ जाने आँट कसैको भएन । दमकलबाट फालिएको पानीको फोहोराले आगो निभ्ने कुनै छाँटकाँट नै थिएन । अत्यधिक प्रज्जवलनशील र भारी मात्रामा इन्धन भएकाले दुर्घटनापछि लागेको आगो दमकलबाट तत्काल नियन्त्रणमा लिन मुस्किल थियो ।
थप दमकल, खानेपानीका ट्यांकी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सर्वसाधारणको समेत सहयोगमा लामो समयपछि मात्र आगो नियन्त्रणमा आएको थियो । भौगोलिक कठिनाई बाधक बन्नाले आगो नियन्त्रण र उद्धारमा लामो समय लाग्यो ।
दुर्घटनाका क्रममा उछिटिएका केही यात्रुलाई तत्काल उद्धार गरे पनि कसैलाई जीवितै भने फेला पार्न सकिएन । दुर्घटनालगत्तै उक्त स्थानमा लागेको भीडका कारण उद्धार टोलीले समयमै काम गर्न पाएन भने एम्बुलेन्स र दमकलले समेत आउजाउमा निकै नै सास्ती खेप्नु परेको थियो । यद्यपि केही सर्वसाधारणले व्यक्तिगतरुपमा देखाएको तदारुकता सराहनीय र प्रशंसायोग्य थियो ।
आगो निभाउन, बाटो सहज बनाउन र उद्धार टोलीलाई आवश्यक सहयोगका लागि सयौं सर्वसाधारण लागिपरेका थिए । केही कमी, कमजोरीका बाबजुद दुर्घटनापछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, प्रदेश सरकार, पोखरा महानगरपालिका, जिल्ला प्रशासन कार्यालय कास्की, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र नेपाल सरकारका सम्बन्धित निकायले देखाएको तदारुकता र पहलकदमी तारिफयोग्य थियो ।
दुर्घटनालगत्तै आफ्ना मान्छेको अवस्था बुझ्न आफन्तजनको अस्पतालमा भिड लाग्न थालिसकेको थियो । अस्पतालमा आफन्तजनको कोलाहल र रुवाइले परिस्थितिलाई भावुक बनाइदिएको थियो । सबैलाई आफ्ना मान्छे जीवित छैनन् भन्ने भइसकेको थियो । उनीहरुको ध्यान आफ्ना मान्छेको शव अस्पतालमा आइपुग्यो कि पुगेन र पहिचान गर्न सक्ने अवस्थामा छन् कि छैनन् भन्नेमात्र थियो ।
आफन्त गुमाउनुको पीडा एकातिर थियो भने शव पहिचान हुन नसक्नु अर्को पीडा थियो । अनेक प्रक्रिया पु¥याएर शवको पहिचानसहित आफन्तलाई जिम्मा लगाउन अस्पताल र प्रशासनलाई हम्मेहम्मे परेको थियो । पोखरामा पहिचान हुन नसकेको शव डिएनए परीक्षणका लागि काठमाडौं लैजानुपर्ने भएकाले पीडितलाई अर्को पीडा थपिएको थियो ।
बेला बेलामा भइरहने यस्ता हवाई दुर्घटनाका कारण मानिस अकालमा ज्यान गुमाउन बाध्य भइरहेका छन् । जब दुर्घटनामा मानिसको मृत्युको समाचार देखिन्छ/सुनिन्छ अनि ती मृतकका परिवारको हाल कस्तो होला भन्ने बेचैनीले सताउन थाल्छ । दुर्घटनामा मानिसको ज्यान त जान्छ नै त्यसबाट सम्बन्धित परिवारमा कयौं दर्दनाक पीडा पनि सँगै आइरहेको हुन्छ । दुर्घटनाको परिणाम भनेको अन्ततः परिवारलाई जिन्दगीभरको पीडा नै हो ।
दुर्घटनामा ज्यान गुमाउनु जो कसैका लागि पनि पीडादायी क्षण हो । अनेकौं सपना सजाउने लक्ष्यसहित अघि बढिरहेको पाइलामा क्षणभरको एउटा घटनाले पूर्णविराम लगाइदिन्छ । आफ्नो र परिवारको सपना सजाएर अघि बढिरहेका सयौंको पाइलामा पनि अब यो दुर्घटनासँगै साँच्चिकै पूर्णविराम लागिइसकेको छ । त्यससँगै आश्रित परिवारको पनि अकल्पनीय र पीडादायी यात्रा सुरू भइसकेको छ ।
प्रायः दुर्घटनामा परी ज्यान गुमाउनेमा युवा अवस्थाका हुने गरेका कारण पनि यसको पीडा परिवारले वर्षांैसम्म भोग्नु परिरहेको हुन्छ । दुर्घटनाले एउटा परिवार र आश्रित वर्गको दैनिकी नै अस्तव्यस्त बनाइदिन्छ । दुर्घटनाले जिन्दगीभर दिने मानसिक पीडा त छँदैछ, आर्थिक र पारिवारिक पीडा पनि जिन्दगीभर रहिरहन्छ । दुर्घटनाबाट आफन्त गमाउनुको पीडा रोग लागेर कोही मानिसको मृत्यु भएकोभन्दा कयौं गुणा बढी हुने गर्दछ ।
विस्तारै यस्ता दुर्घटनाको चासो र चिन्ता कम हुँदै जान्छ । तर सम्बन्धित निकायले यसबारे बेलैमा गम्भीर भएर आगामी दिनमा यो खालको भयंकर दुर्घटना हुन नदिनका लागि आवश्यक कदम चाल्न भने सुरु गरिहाल्नुपर्छ । ताकि यो खालको अकल्पनीय र भयंकर दुर्घटनाको सामना हामीले फेरि गर्न नपरोस् ।
तपाईको प्रतिक्रिया