बजेट खर्च गर्नै सक्दैनन् पालिका

सुन्दरकुमार थकाली २०७९ माघ ११ गते १२:२८

जोमसोम ।
मुस्ताङका ५ स्थानीय तहले चालु आव लागि विनियोजित पुँजीगत विकास खर्च निकै कम गरेका छन् । ६ महिनामा पालिकाहरुको खर्च चौथाईभन्दा कम छ । घरपझोङ गाउँपालिकाले कुल विनियोजित बजेट ३२ करोड ३९ लाखमध्ये २९ दशमलव ६१ प्रतिशत खर्च गरेको छ ।

कुल पुँजीगत बजेट १५ करोड ४३ लाख मध्ये ४ करोड ६ लाख अर्थात् २६ दशमलव ३३ प्रतिशत खर्च भएको छ घरपझोङले चालुतर्फ १६ करोड ९५ लाखमध्ये ५ करोड ५२ लाख अर्थात् ३२ दशमलव ५९ प्रतिशत खर्च गरेको छ ।

लोमान्थाङ गाउँपालिकाको २८ करोड ८६ लाख बजेटमा पँुजीगततर्फ १९ दमलव ८४ प्रतिशत र चालुतर्फ २७ दशमलव ३ प्रतिशत खर्च गरेको छ । लोमान्थाङमा पुँजिगत बजेट १५ करोड १९ लाख विनियोजन भएको थियो । थासाङ गाउँपालिकाले ३५ करोड २३ लाख बजेटमध्ये चालु र पुँजीगत गरी २२ दशमलव २३ प्रतिशत खर्च गरेको छ ।

Advertisement

पुँजीगत बजेट १४ करोड ६ लाखमा १ करोड ७२ लाख अर्थात् १२ दशमलव २४ प्रतिशत खर्च भएको छ । चालुतर्फ २१ करोड २३ लाखमध्ये ६ करोड १२ लाख ६४ हजार खर्च भएको लेखा अधिकृत सकुन्तला अधिकारीले जानकारी दिइन् ।

मुस्ताङमा संघीय, प्रदेश र स्थानीय तहको पुँजीगत बजेट खर्च न्यून हुनुको मुख्य कारण भौगोलिक विकटता भएको कोष नियन्त्रक डालेश्वर अर्याल बताउँछन् ।

Advertisement

भौगोलिक अवस्थाले निर्माण व्यवसायीलाई काम गर्न अप्ठ्यारो पर्नु, निर्माण व्यवसायीको काम गर्ने क्षमता कम हुनु, निर्माण व्यवसायीसँग उपकरण र स्रोत, साधन न्यून हुनु, अघिल्लो आर्थिक वर्षको प्रगति समीक्षामा व्यस्त हुनु र पुस र माघ महिनामा मौसम प्रतिकूल बन्दा काम ठप्प हुनु र कार्यालयहरुमा जनशक्ति पर्याप्त नहुँदा बजेट कम खर्च हुने गरेको छ ।

वातावरणीय प्रतिवेदन (इआइए) बिना विकास पूर्वाधारका काम हुँदा काममा जटिलता उत्पन्न हुनु र जनप्रतिनिधिले विकासको कामप्रति चाँसो नदिनुले पनि विकास खर्च लक्ष्य अनुसार हुन नसकेको कोष नियन्त्रक अर्यालको भनाइ छ ।

मुस्ताङमा संघीय तथा प्रादेशिक सरकार अन्तर्गतका कार्यालयलाई आर्थिक वर्ष २०७९/०८० का लागि विनियोजन भएको कुल पुँजीगत विकास बजेट २ अर्ब १७ करोड ६२ लाख छ । आलु आ.व.को ६ महिना अर्थात् पुस मसान्तसम्ममा ३५ करोड ३८ लाख ७२ हजारमात्र बजेट खर्च भएको छ ।

मुस्ताङका संघीयतर्फका २४ र प्रादेशिकतर्फका ११ कार्यालयलाई विनियोजन भएको पुँजीगत बजेटमध्ये १६ दशमलव २६ प्रतिशतमात्र खर्च भएको छ । आर्थिक वर्ष २०७९/८० का लागि संघीयतर्फ चालु र पुँजीगत गरी ३ अर्ब ८० करोड बजेट विनियोजन भएकोमा चालु आवको ६ महिनामा १ अर्ब ३२ करोड ८७ लाख अर्थात ३४ दशमलव ८९ प्रतिशत बजेट खर्च भएको छ ।

संघीय कार्यालयतर्फ विनियोजन भएको कुल पुँजीगत बजेट १ अर्ब ६१ करोड ३ लाखमध्ये चालु वर्षको ६ महिनामा २१ करोड ११ लाख अर्थात १३ प्रतिशत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रक डालेश्वर अर्यालले जानकारी दिए ।

संघीयतर्फको चालु बजेट २ अर्ब १९ करोड ८७ लाखमध्ये १ अर्ब ११ करोड ८६ लाख अर्थात ५० प्रतिशत खर्च भएको छ । प्रदेश सरकार अन्तर्गत चालु र पुँजीगततर्फ ९३ करोड ९८ लाख ६३ हजार विनियोजन भएकोमा २४ करोड ६० लाख ६८ हजार बजेट ६ महिनामा खर्च भएको देखिन्छ । यो कुल बजेटको २६ दशमलव १८ प्रतिशत हो ।

प्रदेश कार्यालयको चालु आवमा पुँजीगत विकासतर्फ ५६ करोड ६२ लाख बजेट रहेकोमा १४ करोड ३७ लाख अर्थात् २५ दशमलव ३९ प्रतिशत खर्च देखिएको छ । बजेट सानो भए पनि संघीय पुँजीगतभन्दा प्रदेशको पुँजीगत खर्च १२ प्रतिशत बढी देखिन्छ । प्रदेशतर्फको चालु बजेट ३७ करोड ३६ लाखमध्ये १० करोड २३ लाख अर्थात् २७ दशमलव ३९ प्रतिशत खर्च भएको छ ।

२०७९/८० का लागि संघीय तथा प्रादेशिक कुल बजेट ४ अर्ब ७४ करोड ८६ लाखमध्ये १ अर्ब ५७ करोड अर्थात ३३ दशमलव ३३ दशमलव १६ प्रतिशत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय मुस्ताङले जनाएको छ ।

संघीय कार्यालयतर्फ राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजनाको पुँजीगत खर्च १ अर्ब २८ करोड ७६ लाख बजेटमा ६ महिनामा १७ करोड १८ लाख अर्थात १३ दशमलव ३४ प्रतिशतमात्र बजेट खर्च गरेको छ । आयोजना अन्तर्गत निर्माणाधीन सडक, पुल र कालोपत्र विस्तारका लागि विनियोजन भएको बजेट निर्माण कम्पनीको ढिलासुस्तीले नगन्य मात्रामा खर्च भएको हो ।

आयोजनालाई विनियोजन भएको चालुतर्फ १ करोड ४० लाख बजेटमध्ये ५६ लाख ५८ हजार अर्थात ४० प्रतिशत खर्च भएको छ । आयोजनाले चालु र पुँजीगत गरी१३ दशमलव ६४ प्रतिशत अर्थात १७ करोड ७४ लाख ९९ हजार खर्च गरेको हो ।

संघतर्फकै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ मुस्ताङले पुँजीगत बजेट २३ लाखमध्ये ४ लाख ९ हजार र शीतोष्ण वागवानी विकास कार्यालय मार्फाले पुँजीगत बजेट ४ करोड ३६ लाख ८५ हजारमा ३७ लाख ९४ हजार खर्च गरेका छन् ।

प्रदेश अन्तर्गतका कार्यालयमध्ये पूर्वाधार विकास कार्यालयले पुँजीगततर्फ विनियोजन भएको २६ करोडमा ६ महिनामा ७ करोड ५५ लाख खर्च गरेको छ । मुस्ताङ जिल्ला अस्पतालको पुँजीगत विकास खर्च ८ करोड ४० मध्ये १ करोड १९ लाख ,खानेपानी, जलस्रोत तथा सिंचाइ सबडिभिजनले १६ करोड ९५ लाख पुँजीगत बजेटमा ४ करोड ८० लाख, डिभिजन वनले ५८ लाखमध्ये १४ लाख र सामाजिक विकास कार्यालयले २ करोड २६ लाखमध्ये १६ लाख ३१ हजार पुँजीगत खर्च गरेका हुन् ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया