तनहुँ ।
म्याग्दे गाउँपालिका कार्यालयले १ सय २२ व्यावसायिक फार्ममा अनुगमन गरेको छ । व्यावसायिक फार्म सञ्चालन गरेका कृषकलाई राहत दिन अनुगमन तथा निरीक्षण कार्यलाई तीव्रता दिइएको हो ।
गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, अनुगमन समितिका संयोजक बालकृष्ण घिमिरे, सदस्यद्वय हिरा गुरुङ, अनु महत श्रेष्ठ र शाखाका प्रमुख श्रीकृष्ण पौडेलले दर्ता भइ सञ्चालन गरेका फार्म अनुगमन गरेका हुन् ।
कृषकलाई कृषि र उत्पादनमा अभिप्रेरित गर्न अनुदानको व्यवस्था गरेसँगै अनुदानका लागि पालिकाभित्रका व्यावसायिक फार्मसँग निवेदन माग गरिएको गाउँपालिकाले जनाएको छ ।
फार्म अनुगमनका क्रममा नवदुर्गा कृषि फार्मका सञ्चालक युवराज शाहीले व्यवासायका लागि बैंकबाट ऋण लिएर ठूलो लगानी गरे पनि बजारको उचित व्यवस्था नहुँदा उत्पादित दूधले बजार नपाएको गुनासो गरे ।
वास्तविक किसान मर्कामा परे पनि अनुदान तथा राहत भने नक्कली कृषकले पाएकाले सक्कली कृषक पहिचान गरी अनुदान दिन उनकोे आग्रह थियो ।
गाउँपालिकाले अनुदानका लागि चालु आर्थिक वर्षमा बोका वितरण गर्नाका साथै माछाको भुरा खरिद, गोठ–खोर निर्माणका लागि ४ लाख, ३ लाख ५० हजार, औजार च्याप कटरमा १ लाख र लोकल कुखुराका लागि १ लाख विनियोजन गरेको संयोजक घिमिरेले जानकारी दिए ।
बजेट वितरणका लागि आवश्यकतामा आधारित भएर कृषकलाई अनुदान वितरण गर्न लागेको हौं,’ उनले भने, ‘पालिका मातहत रहेका ७ वटै वडामा गएर व्यावसायिक फार्म अनुगमन तथा निरीक्षण थालिएको छ ।’
अनुदानका क्रममा पालिकाले कुखुरा तथा पशुपक्षीपालन, माछापालन, बङ्गुरपालन, भैँसीपालन, मौरीपालन, कुखुरापालन, गाई फार्मलगायत व्यावसायिक फार्म निरीक्षण गरिएको संयोजक घिमिरेले बताए ।
वास्तविक कृषक पहिचानका लागि कृषकका फार्ममा अनुगमन तथा निरीक्षणमा पुग्ने गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ जानकारी दिए । ‘अनुदान पाउन धेरै कृषकको आवेदन परेकाले वास्तविक कृषक पहिचान गर्न सहज हुने हुँदा हामीले फार्म निरीक्षण गरेको हौं,’ उनले भने, ‘अब गाउँपालिकाले अनुदानको प्रक्रिया छिट्टै अघि बढाउँछ ।’

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।
तपाईको प्रतिक्रिया