प्रेमको आत्मदाहबारे गृह मन्त्रालयले छानबिन गर्ने

काठमाडौं ।
इलामका व्यवसायी युवा प्रेमप्रसाद आचार्यले मंगलबार नयाँबानेश्वरस्थित संसद भवनअगाडिको सडकमा गरेको आत्मदाहबारे छानबिन गर्न सरकारले समिति बनाएको छ ।
बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले आचार्यले आत्मदाहसम्म पुग्नुपर्ने कारणसहितको विवरण पत्ता लगाउने जिम्मेवारीसहित छानबिन समिति बनाउने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आत्मदाह गरेका आचार्यले उठाएका विषयहरुको छानबिन गर्न गृह मन्त्रालयबाटै तदारुकतासाथ लाग्ने निर्णय भएको बताए ।
उनले मन्त्रालयले सत्यतथ्य बाहिर ल्याएर छानबिनपछिको निष्कर्ष अनुसार आवश्यक कदम चाल्ने बताए। लामिछानेले बुधबार नै छानबिनकार्य गृह मन्त्रालयको तदारुकतामा अघि बढाउने बताए ।
मृतकले उठाएका विषयहरुको छानबिनपछि आवश्यक कारबाही गर्ने निर्णय भएको उनले बताए । ‘आत्मदाह गर्नुभएका प्रेमजीको विषयलाई लिएर हामीले उहाँले गम्भीर विषयहरु उठान गर्नुभएको छ ।
लेख्नुभएको थियो, अन्यायमा परेको विषय उठान गर्नुभएको थियो, त्यसलाई छानबिनमा ल्याउने र गृह मन्त्रालयले नै तदारुकताका साथ अघि बढाएर छानबिन गरी सत्यतथ्य बाहिर आएपछि तदनुसार सरकारले आवश्यक कदम चाल्ने निर्णय भएको छ’, उनले भने, ‘आज नै छानबिनसम्बन्धी गृह मन्त्रालयको तदारुकतामा अघि बढाउनेछौं ।
उहाँले भन्नुभएको विषयहरु छानबिनका क्रममा निस्किएपछि आवश्यक कारबाही गर्ने निर्णय भएको छ । छानबिनको नतिजाका आधारमा गर्नुपर्ने कार्य सरकारले गर्नेछ ।’
गृहमन्त्री लामिछानेले छानबिनको नतिजाका आधारमा गर्नुपर्ने कार्य सबै सरकारले गर्ने पनि बताएका छन् ।
तपाईको प्रतिक्रिया