महिलातर्फ उपाधिका लागि एपिएफ र आर्मी भिड्ने

समाधान संवाददाता २०७९ माघ १३ गते १०:३२

पोखरा ।
तेस्रो टाइगर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत महिलातर्फको उपाधिका लागि सशस्त्र प्रहरी बल (एपिएफ) र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् ।

टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिताको बिहीबार भएको सेमीफाइलन खेलमा एपिएफ र आर्मी विजयी हुँदै फाइनलमा प्रवेश गरेका हुन् ।

पहिलो सेमीफाइलन आयोजक गण्डकीलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफ फाइनलमा प्रवेश गरेको हो । गण्डकीविरुद्ध पहिलो सेट २५–१३ को जित निकालेको एपिएफले दोस्रो सेटमा २५–१७ र तेस्रो सेट २५–२१ ले जित निकालेको हो ।

Advertisement

लिग चरणमा पनि एपिएफले गण्डकीलाई ३–० को सोझो सेटले पराजित गरेको थियो । दोस्रो सेमिफाइनल खेलमा न्यु डायमन्डलाई ३–१ को सेटले पराजित गर्दै आर्मी फाइनलमा प्रवेश गरेको हो ।

न्यु डायमन्डले पहिलो सेटमा २५–२३ ले जित निकाल्दा दोस्रो सेट २५–१३ र तेस्रो सेट २५–२२ ले आर्मीले आफ्नो पक्षमा पार्‍यो । चौथो सेटमा आर्मीले २५–१२ को जित निकाल्दै फाइनलको यात्रा सुनिश्चित गर्‍यो ।

Advertisement

पुरुषतर्फ गण्डकी प्रदेशले सेमिफाइनलमा त्रिभुवन आर्मीको सामाना गर्ने भएको छ । राउन्ड रोविन लिग चरणको अन्तिम खेलमा गण्डकीले पाहुना टोली श्रीलंकाको सेन्ट जोसेफ भाज स्पोर्टस् क्लबलाई ३–० को सोझो सेटमा हराएको हो ।

पहिलो सेट २६–२४ ले जितेको गण्डकीले दोस्रो सेटमा २५–१४ को सहज जित निकाल्यो । तेस्रो सेटमा गण्डकीले २५–२३ को जित निकाल्यो ।

जितसँगै ४ खेलबाट ८ अंकसहित गण्डकी दोस्रो स्थानमा रहँदै सेमिफाइनल प्रवेश गरेको छ । जितविहीन पाहुना टोली सेन्ट जोसेफ लिग चरणबाटै बाहिरिएको छ ।

४ खेल खेलबाट १ अंक रहेको पाहुना टोली तालिकाको पुछारमा रहँदै बाहिरिएको हो । पाहुना टोली बाहिरिँदा नेपाल पुलिस क्लबले अन्तिम ४ मा स्थान सुरक्षित बनाएको छ ।

बिहीबार नै भएको लिग चरणको अन्तिम खेलमा त्रिभुवन आर्मीले नेपाल पुलिसलाई ३–० को सोझो सेटमा हराउँदै सेमिफाइनलमा गण्डकीसँगको भेट पक्का गरेको हो ।

आर्मीले २५–१७, २५–१९ र २५–२३ ले हराउँदै तालिकाको तेस्रो स्थानमा रह्यो । आर्मीको ४ खेलबाट ७ अंक छ । पुलिसको भने ४ खेलबाट २ अंक रह्यो । पुलिसले अब फाइनल प्रवेशका लागि निकै लयमा रहेको एपिएफको सामना गर्नेछ ।

महिला–पुरुष दुवैतर्फ उपाधि विजेता टिमलाई ५–५ लाख नगद, उपविजेता टिमलाई समान लाख ५० हजार, तेस्रो हुने टिमलाई१ लाख २५ हजार र सान्त्वना हुने टिमलाई ६५ हजारसहित ट्रफी र प्रमाण पत्र दिइनेछ ।

महिला तथा पुरुषतर्फ उत्कृष्ट खेलाडीले जनही २५ हजार प्राप्त गर्नेछन् भने हरेक विद्याका उत्कृष्ट प्रशिक्षकलाई नगद १० हजार र ट्रफीसहित सम्मान गर्ने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया