अब ज्ञान एकातिर, काम अर्कातिर नहोस्ः मेयर आचार्य

समाधान संवाददाता २०७९ माघ १३ गते १०:३५

पोखरा ।
पोखरा महानगरपालिकाको शिक्षा महाशाखा र गण्डकी बहु प्राविधिक शिक्षालय पोखराको आयोजनामा मेयरसँग विद्यार्थी अन्तर संवाद कार्यक्रम भएको छ ।

प्राविधिक शिक्षाको अवस्था, आवश्यकता र अवसर लगायतमा केन्द्रित अन्तर संवादमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसहित प्राविधिक शिक्षा सेवा प्रदायक संस्था, संस्थान र अध्ययन गरिरहेका विद्यार्थीलेसहभागिता जनाएका छन् ।

कार्यक्रममा विद्यार्थीले प्राविधिक शिक्षा अध्ययनका सम्बन्धमा भोगेका समस्या, चुनौती र भविष्यमा हुन सक्ने अवसरका विषयमा जिज्ञासा राखेका छन् । जवाफमा प्रमुख आचार्यले प्राविधिक जनशक्तिलाई अवसर अभाव नहुने भन्दै स्थानीय सरकारको हैसियतले दक्षताका आधारमा ती जनशक्तिको व्यवस्थापन गर्दै जाने बताए ।

Advertisement

प्राविधिक शिक्षा हासिल गरेका कुनै पनि विद्यार्थी. बेरोजगार हुन नपर्ने बताउँदै उनले व्यवसाय गर्न चाहनेका लागि स्टार्ट अप अनुदान उपलब्ध गराउने लगायतका कार्यक्रम महानगरपालिकाले गरिरहेको सुनाए ।

‘प्राविधिक शिक्षा आजको आवश्यकता भन्ने कुरा नकार्न सकिने अवस्था छैन, त्यस कारण पोखरामा हामीलाई कति जनशक्ति चाहिने हो भनेर अहिले सर्वे गरिरहेका छौँ,’ प्रमुख आचार्यले भने, ‘महानगरले बेरोजगारको डाटा संकलनका लागि आह्वान गरिरहेको छ, केही वडामा विभिन्न प्राविधिक पोस्टका लागि आवेदन माग गरेको छ, तर निवेदन एकदमै कम परिरहेको छ ।’

Advertisement

प्राविधिक शिक्षाको महत्व बुझाउन आवश्यक रहेको जनाउँदै उनले ज्ञान एकातिर काम अर्कोतिर हुने अवस्था अन्त्य गर्न जरुरी रहेकोसमेत औंल्याए । यसका लागि राइट मेन राइट प्लेसको अवधारणामा काम गर्ने तयारी महानगर रहेको उनले सुनाए ।

प्राविधिक शिक्षा तथा व्यासायीक तालिम परिषद् (सिटिइभिटी) गण्डकी प्रदेश निर्देशक प्रमोदभक्त आचार्यले प्राविधिक शिक्षाको महत्व सिकाइसँगै आर्जन र भविष्यका लागि थप परिष्कृत ज्ञानको हासिल भएको उल्लेख गरे ।

‘हाम्रो प्राविधिक शिक्षाको महत्व के हो भने, काम गर्दै अलिकति आयआर्जन गर्दै आफ्नो करिअरलाई अगाठि बढाउँदै लैजाने हो,’ निर्देशक आचार्यले भने, ‘आफ्नो ज्ञानको स्तरलाई बढाउँदै लैजानुहोस्, प्राविधिक शिक्षा समयको वेगसँगै यसको महत्व बढिरहेको छ ।’

गण्डकी बहु प्राविधिक शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाले प्राविधिक शिक्षाको सम्बन्धमा केन्द्रीय शिक्षा नीतिमै सुधारको आवश्यकता औंल्याए । राष्ट्रिय शिक्षा प्रारूपमा यसको ढाँचा स्वीकृत भइसकेको जनाउँदै उनले अबको केही वर्षमा प्राविधिक शिक्षामा नीतिगत एकरूपता आउने विश्वास व्यक्त गरे ।

प्राविधिक शिक्षा अध्यापन गराइरहेका विद्यालयका प्राध्यानाध्यापकहरुले प्राविधिक शिक्षाको सुधारमा सरकारले अझ बढी समन्वय गर्न आवश्यक रहेको उनको भनाइ छ । कार्यक्रममा सहभागी विद्यार्थीले प्राविधिक शिक्षा अध्ययन गरेको भए पनि विभिन्न वाहानामा आफूहरू विभेदपूर्ण व्यवहार भइरहेको गुनासो गरे ।

कयौँ समयसम्म इन्टर्नसिपका नाममा पारिश्रमिक नदिई काममा लगाउने, दिए पनि असाध्यै कम पारिश्रमिक दिने, आफूहरूको क्षमता अनुसारको काम नपाउने लगायतका समस्या झेल्नु परेको उनीहरुले सुनाए ।

तपाईको प्रतिक्रिया