तमु धीं युके टोलीलाई सहाराको स्वागत

पोखरा ।
सहारा क्लव पोखराले तमु धीं युकेको टोलीलाई स्वागत गरेको छ । बिहीबार सहारा क्लब पोखराले दोबिल्लास्थित ‘सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी’मा युकेको टोलीलाई स्वागत गरेको हो ।
तमु धीं युकेका अध्यक्ष हरि गुरुङले संस्थाले गरेका कामबाट आफूहरु प्रभावित भएको बताए । उनले क्लबका रचनात्मक तथा परोपकारी कार्यमा आफूहरु निरन्तर जोडिँदै जाने बताए ।
उनले क्लबले आयोजना गर्ने आहा रारा पोखरा गोल्डकप प्रतियोगितालाई एउटा क्यालेन्डरमा नै समावेश गरेर सञ्चालन गर्न सुझाव दिए ।
संस्थाका संस्थापक सदस्य तथा सहारा युकेका कार्यसमिति सदस्य मञ्जु गुरुङ राईले क्लबले सञ्चालन गरेको एकेडेमीको सफलताको कामना गर्दै खेलकुदमा अनुशासन महत्वपूर्ण हुने बताइन् ।
पूर्व राष्ट्रिय भलिबल प्रशिक्षक तथा खेलाडीसमेत रहेकी उनले अनुशान नै खेलाडीको गहना भएको उल्लेख गरिन् ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष दीननाथ बरालले टोलीलाई पोखरामा स्वागत गर्दै मञ्चले बर्सेनि आयोजना गर्ने पोखरा स्पोर्टस् अवार्डमा तमु धीं युकेले गरेको सहयोगप्रति आभार व्यक्त गरे ।
उनले आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा गरे । कार्यक्रममा तमु धीं युकेको तर्फबाट एकेडेमीका लागि ५५ हजार रुपैयाँ संस्थाका अध्यक्ष हरि गुरुङले क्लब अध्यक्ष हरिराम गुरुङ सुरज र कोषाध्यक्ष विनु रानामगरलाई हस्तान्त्रण गरे ।
टोलीसँगै संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङका छोरा बेन्जेमेनले एकेडेमीमा रहेका बालकहरुको खाजा तथा खानाका लागि २० हजार रुपैयाँ हस्तान्तरण गरे ।
विसं २०६३ मा पोखरा १७ दोबिल्लास्थित २६ रोपनी क्षेत्रफल जग्गा खरिद गरी सुरु गरिएको एकेडेमीको पूर्वाधार क्लबले तयार बनाईसकेको छ । अहिले एकेडेमीमा १५ बालक छन् ।
कार्यक्रममा तमु धीं युकेका निवर्तमान अध्यक्ष हितकाजी गुरुङ, संस्थाका संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङ, तमु धीं आमा समूह अध्यक्ष सन्ध्या गुरुङ, उपाध्यक्ष कमलादेवी गुरुङ, पूर्वअध्यक्ष तथा सहारा क्लबका सल्लाहाकार मुछेत्र गुरुङ, सहारा क्लब पोखराका मानार्थ सदस्य महेश गुरुङ, शिक्षा तथा संस्कृतिविद् एकेन्द्र गुरुङ, संस्थाका कार्यसमिति सदस्य मिलन गुरुङ लगायतको उपस्थिति थियो ।
तपाईको प्रतिक्रिया