आँखाभित्र राखेपनि नबिझाउने मान्छे

विमला भण्डारी २०७९ माघ १३ गते १२:२४

विमला भण्डारी
त्रिभुवन पौडेल आँखाभित्रै राखे पनि नबिझाउने मान्छे ! हँसिलो अनुहार, बोल्नुभन्दा पहिले हाँस्ने । अनिमात्रै हालखबर सोध्ने, कसैसँग नरिसाउने, अरूका झगडा पनि मिलाउन सक्ने । अरूलाई सहयोग गर्न पाउँदा खुसी मान्ने पत्रकार पौडेललाई हामीले गुमाएका छौं । शोकको यो घडीमा लेख्दालेख्दै त्रिभुवन आएर‘ के लेख्दै छौ’ भनेर सोध्छ कि झैं लागिरहेछ ।

यसरी त्रिभुवन आइदिए, म भन्ने थिएँ, ‘तिमीलाई सम्झेर दुई, चार शब्द लेख्न खोज्दैछु । सम्झनाहरू शब्दमा बदलिन मानेका छैनन् । तिमी आफैं भन, म तिम्राबारे के लेखौं ?’ यस्तो भइदिए, तिमी हाँस्ने थियौ । हाँसेरै टारिदिने थियौ । म सम्झिरहेछु तिम्रो हाँसो । तिमीले जोकोहीलाई निस्वार्थ गरेका सहयोगले धेरै मानिस अनुगृहित छन् । म अनि मेरो क्षेत्र पनि धन्य छ । पत्रकारितामा तिमीले सबैको मन जित्यौं ।

यसरी सबैको मन जितिरहेका तिमी अचानक भयानक दूर्घटनामा पर्नुपर्‍यो, माघे संक्रान्तिका दिन । यति एयरलाइन्सको जहाजसँगै तिमी सेती गण्डकीमा अस्तायौं । हामीसँग हाँसेर बिदा भएका तिमी हामीलाई रुवाएर गयौ । अहिले आँसुलाई शब्दमा अनुवाद गरिदियौ ।

Advertisement

यसपालि श्रीमतीलाई पोखरा आउँदै छु पनि नभनी उडेका रहेछन्, त्रिभुवन । उनी घर आइपुगेनन् । सधैंका लागि सबैलाई छोडेर गए ।

तिमी दुर्घटनामा परेको दिन मेरा श्रीमान योगेन्द्र कुँवर बिदामा हुनुहुन्थ्यो । काठमाडौंबाट सरूवा भएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको एटिसी प्रमुख भएर आउनुभएको धेरै भएको थिएन । बिहानै उहाँले नराम्रो सपना देखेँ भन्नुभएको थियो । मैले आमालाई नभन्नू भनेँ । बिदाका दिन उहाँको गाउँ पर्वत जाने हाम्रो योजना थियो ।

Advertisement

हामी परिवारसहित पर्वत जान तयार हुँदै थियौं । श्रीमान् गाडी लिएर निस्कनुभयो । श्रीमान् एयरपोर्ट पुगेको ५ मिनेटपछि यतीको जहाज दुर्घटना भयो । उहाँले एयरपोर्टमै यात्रुको लिस्ट हेर्नुभएछ । जहाँ पोखरामा स्थापित पत्रकार त्रिभुवन पौडेलको नाम पनि थियो ।

त्रिभुवनको नाम देखेर पनि उहाँले मलाई केही भन्नुभएन । जहाज दुर्घटनाको खबर पाउनेबित्तिकै म घटनास्थल पुगेकी थिएँ । त्यहाँ मेरा श्रीमान् पनि पुग्नुभएको रहेछ । उद्धारमा खटिएका सुरक्षाकर्मीलाई उहाँले भनेको सुनेँ, ‘पत्रकार त्रिभुवन पनि रहेछ, चाँडै रेस्क्यु गर्नुपर्‍यो त्रिभुवनलाई …!’

आफैं अति व्यस्त उहाँलाई मैले केही सोधिनँ । त्यही बेला नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीको फोन आयो । उहाँले त्रिभुवन त्यो विमानमा भएनभएको निधो गर्न भनेपछि नजिकै रहेका त्रिभुवनका दाइ उत्तमलाई सोधेँ । उत्तमले भाइको टिकट २ बजेको भएको सुनाए ।

तत्कालै उद्धारमा खटिएका कास्कीका एसपी अजय केसीसँग पनि सोधेँ, त्यसपछि मलाई आशा हराएजस्तै भयो । मन भारी भयो । हातगोडा गल्न थाले । दिउँसो २ बजेको टिकट बिहान सारेर त्रिभुवन काठमाडौंबाट पोखरा उडेका रहेछन् । विमानमा त्रिभुवन भएको पुष्टि भयो । त्यसपछि हामी न बोल्न सक्यौं, न लेख्न । तैपनि जिम्मेवारी पूरा गर्नु नै थियो ।

त्रिभुवनको शव सनाखत गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा गएकी थिएँ । अस्पतालमा एम्बुलेन्स शव लिएर आउँछ, त्रिभुवनकै होला कि भनेर हामी कुरेको कुर्‍यै हुन्थ्यौं । ५३ औं नम्बरमा उसको शव आयो । उसले लगाएको ज्याकेट जस्ताको तस्तै थियो । पाइन्ट पनि उस्तै । टाउकोको पछाडिको भाग आगोको रापले पोलेको जस्तो देखिन्थ्यो तर कपडा केही भएको थिएन ।

उसको वालेटमा अर्थमन्त्रीको आइटी विज्ञ भएर काम गर्दाको परिचय पत्र, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य, प्रदेश अध्यक्ष र कास्की शाखाको समेत आइडी कार्ड थिए । ल्याबमा कार्यरत शंकर भण्डारी र मैले उसको शब सनाखत गरेका थियौं । उसको देब्रे हातमा ट्याटु थियो ।

त्रिभुवन दुर्घटनामा परेको पुष्टि हुनेबित्तिकै महासंघका अध्यक्ष विपुल पोखरेल, महासचिव रोशन पुरी लगायतलाई फोन गरेर पोखरा बोलाएँ । सँगसँगै पत्रकारहरू गोविन्द आचार्य, विष्णु सापकोटा ‘जुगल’ लगायत आउनुभयो ।
यस्तो बेला परिवारलाई सान्त्वनाको खाँचो पर्छ । हामी त्रिभुवनको घरमा पुग्यौं । घरमा आमा, त्रिभुवनकी श्रीमती प्रतिभा लगायत आफन्त र शुभचिन्तक थिए ।

हामी आफैं रोइरहेका थियौं, उहाँहरूलाई सान्त्वाना कसरी दिने ? परिवारको आँसुमा हाम्रो आँसु मिसियो । परिवारले जे क्षति भोग्नुपरेको थियो, हाम्रा लागि पनि उत्तिकै ठूलो क्षति थियो । त्रिभुवनले जस्तोसुकै परिस्थिति पनि सजिलै सामना गर्थे । सबैलाई मिलाएर लैजान्थे । उनको विशेषता सबैलाई समेट्नु हो ।

परिवार र हाम्रा आँसु एकाकार भए । पीडा पनि उस्तै । हामीले त्रिभुवनकी श्रीमती प्रतिभालाई सान्त्वना दिन खौज्थ्यौं । गला अवरुद्ध हुन्थ्यो । हामीले आफ्नो परिचय राखेपछि प्रतिभाले आँसु र पीडाको सागरमा डुबेर पनि केही शब्द उच्चारण गरिन् । जसले मलाई यो लेख्न वाध्य बनायो ।

मैले जीवनमा पहिलो पटक विमलालाई गाली गरेको छु भनेर त्रिभुवनले प्रतिभालाई भनेका रहेछन् । जुन मैले बिर्सिइसकेको थिएँ । भेट्न जाँदा प्रतिभाले यो कुरा सुनाइन् । अघिल्लो कार्यकालमा म पत्रकार महासंघ कास्की उपाध्यक्ष थिएँ । नयाँ सदस्यता वितरणका लागि आएका आवेदनमाथि निर्णय गर्न बैठक बसेका थियौं ।

सदस्यता लिन आवश्यक प्रक्रिया नपुगेका फाइल पास गर्न नहुने पक्षमा थिएँ म । त्रिभुवन माओवादी निकट प्रेस सेन्टरमा आवद्ध थिए । माघ १ को दुर्घटनाअघि पनि उनी सेन्टरको उपाध्यक्षको हैसियतमा पदाधिकारी बैठक सकेर काठमाडौंबाट फर्केका थिए ।

त्यति बेला त्रिभुवनले सेन्टरमा आवद्ध पत्रकारलाई सदस्यता दिन जोड गरिरहेका थिए । उनीहरूका शौक्षिक योग्यतादेखि महासंघले सदस्यता लिन तोकेका मापदण्ड पुगेका थिएनन् । मैले मापदण्ड नपुगेकालाई सदस्यता दिन नहुने अडान अन्तिमसम्म राखेँ ।

त्यही बेला त्रिभुवनले मलाई ‘तिमी बढ्ता हुने’ रिसाएर भने । कहिल्यै नरिसाउने त्रिभुवनको अनुहारमा त्यो दिन मैले रिस देखेकी थिएँ । त्रिभुवन रिसाएपछि मैले आँखामा हेर्न सकिन । ऊ यति निष्ठुर होला भनेर कहिल्यै कल्पना पनि गरेकी थिइनँ । त्यसको केही दिनपछि उसलाई गल्ती गरेछु जस्तो लागेछ क्यार । मलाई भेटेर सरी भन्यो । मेरो हात समातेर टाउकोमा राख्दै माफी माग्यो । म पनि अब मन दुखाएर बस्नुको अर्थ थिएन । विमति शान्त पारेँ ।

नजिकका मान्छे रिसाउँदा धेरै नै मन दुख्दो रहेछ । फेरि आफ्नो गल्ती औंल्याएपछि छिट्टै खुसी भइँदो रहेछ । यसरी टुंगिएको एउटा झगडा उनले श्रीमतीलाई भनेका रहेछन् । जिन्दगीमा दुखसुख आदानप्रदान गर्ने खालका थिए उनी ।

त्रिुभवनको पुख्र्यौली घर पर्वत हो, हाल परिवारसहित पोखरा बस्छन् । दशकअघि पर्वतमा उनका बुवाको लडेर निधन भएको थियो । बुबाकाृ नाममा पूजा गर्ने, एकाहा लगाउने परिवारको चाहना थियो । यही पुस १८ गते एकाहा लगाउने योजना भए पनि परिवारभित्र सुत्केरी भएपछि आउँदो बैशाखलाई सारिएको थिए । पुसमा एकाहा लगाउन नपाएपछि पुस अन्तिममा त्रिभुवन गाउँ गए । बुबाका नाममा धूप बालेर फर्किए ।

त्रिभुवन कहिल्यै पनि साइत हेरेर कुनै काम गर्थेनन् । जीवनमै पहिलो पटक उनी साइत हेरेर पुस २८ गते काठमाडौं गएका थिए । प्रतिभाका अनुसार सुतिरहेका छोरा नउठाई छोराको गालामा म्वाई खाएर गएका थिए । उनी परिवारसहित काठमाडौं सर्ने योजनामा थिए । माघको ६/७ गतेतिर श्रीमती र छोरालाई पनि आउन भनेका थिए ।

माघ १ गते प्रतिभा टिभी हेरिरहेकी रहिछन् । ‘जहाज दुर्घटनाको खबर आएपछि त्रिभुवनलाई फोन गरेँ, फोन लाग्दै लागेन,’ प्रतिभाले भनिन् । बिहानै ‘गुड मर्निङ’ म्यासेज गरेका त्रिभुवन त्यही जहाजमा थियो कि प्रतिभाको मनमा चिसो पस्यो । जहिल्यै जहाँ जाँदा पनि भनेर जाने त्रिभुवन माघ १ मा पोखरा फर्कने योजना नै थिएन । उल्टै ६/७ गते छोरा लिएर बोलाएका थिए प्रतिभालाई ।

कहिलेकाँही त्रिभुवन सरप्राइज दिएर आउथे । फोन गर्दैगर्दै आउँदा कहिले त घरसम्मै बोल्दै आउथे । यसपालि श्रीमतीलाई पोखरा आउँदै छु पनि नभनी उडेका रहेछन्, त्रिभुवन । उनी घर आइपुगेनन् । सधैंका लागि सबैलाई छोडेर गए । छोराले ‘बाबा’ भनेको सुन्ने ठूलो रहर थियो । छोराले ‘बाबा खै’ भन्यो भने के भन्ने सोचेर प्रतिभाका आँसु रोकिएका छैनन् ।

प्रतिभालाई बूढी आँसु कहिल्यै नझार है भनेका रहेछन् । टाउको दुखेर मुड अफ हुँदा पनि के भयो भनेर कराउने रहेछन् । अरूलाई दुःखी भएको देख्न नसक्ने मान्छे थिए उनी । जहिल्यै पनि, जो कसैसँग बस्दा पनि फलानो मान्छेसँग छु भनेर श्रीमतीलाई भन्ने गरेका रहेछन् । हामीलाई प्रतिभाले पहिलो पटक देखेकी थिइन् । त्यही पनि शोकको घडीमा । नाम भन्नेबित्तिकै उनले चिनिन् । त्रिभुवनले हामीसँग रहँदा, गफ गर्दा र टेलिफोन गर्दा पनि प्रतिभालाई भन्ने गरेका रहेछन् ।

पत्रकार महासंघ कास्की शाखाका पूर्व सचिव र उपाध्यक्ष त्रिभुवन महासंघको प्रदेश समितिको संस्थापक अध्यक्ष हुन् । गत महाधिवेशनबाट केन्द्रीय सदस्य चुनिएका त्रिभुवन पोखराबाट नेतृत्व तहमा पुग्न सक्ने क्षमता राख्थे । उनको असामयिक देहवसानले सिंगो पोखरालाई शोकमा डुबायो ।

हामीले उनको पार्थिव शरीर महासंघको प्राङ्गणमा ल्याएर श्रद्धाञ्जली अर्पण गर्‍यौं । त्यहाँ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीदेखि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यसम्म उपस्थित थिए । सयौं सर्वसाधारण सेती नदी किनारको शान्तिघाटसम्म पुगेका थिए । यसले पनि उसको लोकप्रियता झल्काउँथ्यो ।

उनकी श्रीमतीले पनि हामीलाई भनेकी थिइन्, ‘सबैको हाइ हाइ भएको रहेछ र पो भगवानले पनि चाडै लगेछ ।’ हामीले नेपाल पत्रकार महासंघको तर्फबाट त्रिभुवनको योगदानलाई चिरस्थायी बनाउने सोचेका छौं । महासंघ कार्यसमिति र विभिन्न क्षेत्रका व्यक्तित्वसँग सल्लाह गरेर यसबारे निर्णय गर्नेछौं । हामीले सोच्नुभन्दा अघि नै प्रतिभाले भनेकी थिइन्, ‘त्रिभुवन पौडेलको नाममा म सबै गर्छु ।

कुनै कुरा बिर्सिएँ भने सम्झाइदिनू । सबै कुरा मलाई नभनेको हुन सक्छ । साथीहरूलाई भनेका उनका इच्छा सबै मलाई लेखेर दिनू ।’पोखरेली पत्रकारिताले त्रिभुवनलाई बिर्सिन सक्दैन । पत्रकार महासंघको भवन बनाउनेदेखि तालिम सञ्चालन र अन्य कार्यक्रम गर्न ऊ अघि सथ्र्यो । समाचार लेखनमा पनि उ अत्यन्त मेहनत गथ्र्यो । मैले प्रतिभालाई भनें, ‘पोखराले त्रिभुवनलाई कहिल्यै बिर्सिन सक्दैन, उसलाईस्मरण गरिरहन हामी कुनै रचनात्मक योजना बनाउँछौं ।’

प्रतिभाले पनि त्रिभुवनलाई दबाब पर्ने कुनै कुरा गरेकी रहिनछिन् । पत्रकार भएपछि जोसँग पनि जस्तोसँग पनि बोल्नुपर्ने, जहाँ पनि पुग्नुपर्ने । पोखरा हटलाइन दैनिकका सम्पादक एवं प्रकाशक रहेका त्रिभुवनको मोबाइलसमेत नहेरेकी रहिछन् प्रतिभाले ।

काठमाडौं जानुभन्दा २ दिनपहिले प्रतिभाले नराम्रो सपना देखेकी रहिछन् । सेतो कपडा लगाएको किरिया बसेका मानिसजस्तो । सपनाका कुरा प्रतिभाले दिदीलाई भनिन् । त्यति बेला दिदीले भनेकी रहेछन्, ‘हजुरआमा बित्नुभयो, सपना त्यतै गयो छोड्देऊ ।’

त्रिभुवनका ३३ महिनाका छोरा बिरामी छन् । छोराको उपचार गर्न पनि उनीहरू काठमाडौं बस्न चाहेका थिए । प्रतिभा र छोरा काठमाडौं जाने र उतैबाट पोखराकै अर्का पत्रकार ऋषिकान्त पौडेलको विवाहमा सरिक हुने योजना थियो । तर यी योजना पूरा हुन पाएनन् ।

प्रचण्ड प्रधानमन्त्री बनेपछि त्रिभुवन पनि उनकै सचिवालयमा काम गर्ने वा अन्य कुनै सरकारी ओहोदामा जाने भनेर साथीभाइसँग छलफलमा थिए । यसअघि कृष्णबहादुर महरा अर्थमन्त्री हुँदा उनको सचिवालयमा काम गरिसकेका थिए । प्रचण्डसँग निकट सम्बन्ध भएका कारण त्रिभुवन पनि उनको सचिवालयमा रहने विश्वास हामीलाई थियो । हाम्रो त्यो विश्वास पनि त्रिभुवनसँगै हावामा बिलायो ।

त्रिभुवनलाई मैले पहिलो पटक देखेको २०५७/०५८ तिर हुनुपर्छ । त्यति बेला हामीले युवा फोरम भन्ने संस्था चलाएका थियौं । मसचिव थिएँ । संस्थाले सार्वजनिक विषयमा बहसका कार्यक्रम चलाउँथ्यौं । त्यो कार्यक्रममा फुच्चे त्रिभुवन आउँथ्यो; रिपोर्टिङ गरेर फर्कन्थ्यो ।

पोखराको रेडियो अन्नपूर्णमा मैले सन् २००३ ताका कार्यक्रम चलाउन थालेकी थिएँ । त्रिभुवन पनि रेडियोमा काम गर्न आइपुगे । त्रिभुवन मेहनत गरेर रेडियोका लागि समाचार र रिपोर्ट बनाउँथे । त्यति बेला त्रिभुवन माओवादीसँग निकट छ भनेर हामीले थाहा पाएका थिएनौं । प्रचण्ड जब भूमिगत जीवन त्यागेर कास्कीकै सिक्लेसबाट काठमाडौं गए, त्यति बेला त्रिभुवनको निकै सहयोग थियो ।

प्रचण्ड पोखरा आउँदा पनि उनले अरू कार्यकर्ताले भन्दा बढी सहयोग गरेको देखियो । त्यसपछि ऊ माओवादी भएको हामीले थाहा पायौं । पत्रकार महासंघ कास्कीका अध्यक्ष नारायण कार्की हुँदा त्रिभुवन सचिव थियो । त्यसपछि रामकृष्ण ज्ञवाली अध्यक्ष चुनिदा पनि ऊ सचिवमै दोहोरियो । यी दुबै कार्यकालमा सचिव भएर महासंघको भवन बनाउन दिलोज्यान लगाएर ऊ खटियो । त्यति बेला म कार्यसमिति सदस्य थिएँ ।

त्यसपछि पत्रकार दीपेन्द्र श्रेष्ठ अध्यक्ष हुँदा म र त्रिभुवन दुबै उपाध्यक्ष थियौं । उपाध्यक्ष हुँदा पनि हामीले काम बाँडफाँड गर्‍यौं, उसले कहिल्यै आफू ठूलो हुँ भन्ने ठानेन । तालिम संयोजक भएर उसकै अगुवाइमा पोखरामा धेरै पत्रकारिता तालिम चलाएका थियौं ।

म उपाध्यक्ष भएका बेला पोखराबाट पत्रकारको टोली उपल्लो मुस्ताङको लोमान्थाङ भ्रमण जाने तयारी भयो । त्यसको संयोजन गर्ने जिम्मा मलाइ परेको थियो । त्यति बेला त्रिभुवन महासंघ कास्कीकोे उपाध्यक्षबाट राजीनामा दिएर प्रदेश अध्यक्ष हुन पुगेको थियो ।

हाम्रो टोली जोमसोम बास बस्यो । बेलुका खाना खाने बेला महासंघका पूर्व अध्यक्ष रवीन्द्र बास्तोला गुरुले मलाई अब अध्यक्ष हुनुपर्छ भनेर पहिलो प्रस्ताव राख्नुभयो । चुनाव आउने बेला भएकै थिएन । अचानक यस्तो प्रस्तावले म पनि छक्क परें ।

त्यही बेला महासंघकै पूर्व अध्यक्ष रामकृष्ण दाइले पनि पहिलो पटक महिलाको पालो आउँछ क्या हो भन्नुभएको थियो । त्रिभुवनले तिमी भाग्यमानी रैछौ कि क्या हो, यस्तो पवित्र ठाउँ मुस्ताङमा तिमी अध्यक्ष हुने कुरा भयो भनेका थिए ।

हामी कागवेनी पुगेका बेला त्रिभुवनले बुबाको सम्झनामा श्राद्ध गरेको दृश्य देखेपछि मैले ‘तिमी पनि यति धेरै धर्मकर्म मान्छौ र’ भनेर जिस्काएको थिएँ । उसले जवाफमा भन्यो, ‘बुबा सपनामा आइरहनुहुन्छ, त्यही भएर गरेको ।’

देवरको साथी भएका कारण पनि हाम्रो पारिवारिक सम्बन्ध थियो । हामी छिटो विहे गर्न त्रिभुवनलाई दवाब पनि दिन्थ्यौं । उनकी आमाले निकै दुःख गरेर हुर्काएकी हुन् त्रिभुवनलाई । आमा पोखरामा ससानो होटल चलाउनुहुन्थ्यो । ठूलो भएपछि त्रिभुवनले निकै प्रगति गरेको थियो । पोखरामा घर, गाडी जोडिसकेको थियो ।

पत्रकार महासंघको चुनाव आउने बेला काठमार्डौंमा मलाई तिमी अध्यक्ष हुन्छ्यौ, ढुक्क होऊ भनेर सम्झाएका थिए । त्यही बेला मैले पोखरा फर्किन बुद्ध एयरको टिकट काटें । त्रिभुवन र ऋषिकान्त पनि पोखरा फर्किने भनेपछि उनीहरूको पनि टिकट काटेँ । मौसम नखुलेपछि जहाज उडेन । जहाजको टिकट रद्द गरेर हामी गाडी लिएर पोखरा फर्किएका थियौं । बाटोमा धेरै गफ भए । हामीले प्रगति गर्दा धेरैलाई डाहा लागेको छ भनेका थिए त्रिभुवनले ।

साँझ पोखरा आइपुगियो । त्रिुभवनलाई उसको गाडी भएको ठाउँमा छाड्यौं । पोखरा आउनेबित्तिकै उसलाई अर्को के काम आइलाग्यो, मिलाउन दौडिहाल्यो । केही समय पहिले मेरा श्रीमान् लुक्ला एयरपोर्ट प्रमुख हुनुहुन्थ्यो । त्रिभुवन जहिल्यै लुक्ला घुम्न जाने कुरा गथ्र्यो । जान नपाउँदै उहाँ सरुवा हुनुभयो । त्रिभुवनको लुक्ला जाने योजना पनि अधुरै रह्यो ।

नेपाल पत्रकार महासंघको पुस ८ र ९ गते सुर्खेतमा भएको केन्द्रीय साधारणसभामा जाने बेला पनि हामीले सल्लाह गरेका थियौं । साधारणसभाअघि केन्द्रीय समिति बैठक भएकाले हामी भन्दा २ दिनअघि उ सुर्खेत गयो । हामी जाँदाजाँदै बाटोबाट मैले फोन गरेर पोखराको टोलीलाई बस्ने व्यवस्था मिलाउन भनेको थिएँ । उनले आफू छिट्टै फर्कने भएकाले कसैलाई कोठा नपुगे आफ्नो कोठामा राख्न भनेका थिए ।

महासंघको चुनावअघि मैले काटेको टिकट मौसमका कारण रद्द भएपछि उक्त टिकटको प्रसंग त्रिभुवन बेला बखत निकाल्थ्यो । त्यो टिकट देऊ न भन्थ्यो । सुर्खेत जान पनि टिकट काट्देउ न भन्थ्यो । कहिलेकाँही जिस्काएर तिम्रा श्रीमान् एयरपोर्टको हाकिम हुनुहुन्छ, एउटा टिकट मिलाइदिन भन्देऊ न भन्थ्यो । तर मैले कहिल्यै उसलाई टिकट मिलाउन पाइनँ ।

ऊ सधैं यती एयरलाइन्स चढ्ने भन्थ्यो, म बुद्ध । उसले यती एयरलाइन्समा टिकट सार्न सजिलो हुन्छ भनेको थियो । पोखराका अग्रज पत्रकारलाई हामीले प्रेस स्वतन्त्रता सेनानी उपाधिले सम्मान गर्ने निर्णय गरेका थियौं । पोखराका अग्रज पत्रकार नारायण कार्की, पुण्य पौडेल र कोमलनाथ बराललाई उपाधिसहित सम्मान गर्‍यौं । यसमा कसैको दुईमत रहेन ।

पोखरामा १ लाख राशिको दयाशंकर पालिखे पत्रकारिता पुरस्कार छ । यस वर्ष उक्त पुरस्कार बबिता बस्नेतलाई प्रदान गर्न मैले प्रस्ताव गरेको थिएँ । त्रिभुवनले तुरुन्तै सहमति जनायो । त्यसपछि अरू पनि सहमत भए । महासंघको नेतृत्वमा हुँदा उसले कास्कीको टोली वैदेशिक भ्रमणमा जानुपर्छ है भनेको थियो । युरोप जाने उसको योजना थियो । त्यो पनि अधुरै भयो ।

पोखराका अर्का पत्रकार ऋषिकान्त पौडेलले खोलेको क्याफेमा नेपाल अमेरिका जर्नालिस्ट एसोसिएसन नेजाका अध्यक्ष विकास न्यौपाने आएका थिए । उसलाई क्याफेमा मैले खादा लगाएर स्वागत गरें । त्रिभुवनले तिमीसँग अर्को पनि खादा होला, लेऊ त म पनि लगाइदिन्छु भन्यो । मैले दिएँ ।

त्रिभुवनसँगको मेरो अन्तिम भेट गण्डकीका तत्कालीन अर्थमन्त्री रामजी बराल ‘जीवन’ले पुुस २४ मा अयोजना गरेको पत्रकार भेटघाटमा भएको थियो । त्रिभुवनसँगै हामीले अर्का सञ्चारकर्मी अनील शाहीलाई पनि गुमाएका छौं । पोखरामा रेडियो एपोस्टलका प्रबन्ध निर्देशक रहेका अनिल पनि सोही जहाजमा काठमाडौंबाट पोखरा फर्कदै थिए ।

सामाजिक क्षेत्रमा क्रियाशील अनिल पोखराको सञ्चार क्षेत्रमा उदाउँदै थिए । त्रिभुवन, अनिल एवं जहाज दुर्घटनामा जीवन गुमाएका पोखरेली र सबैप्रति भावपूर्ण श्रद्धाञ्जली ! शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना ! प्रिय त्रिभुवन तिमीलाई पोखरा र पत्रकारिताले बिर्सन सक्दैन, बिर्सनु हुँदैन ।
भण्डारी नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष हुन्

तपाईको प्रतिक्रिया