घोडाघोडीमा लटोकोसेरो उत्सव तयारी

पाोखरा ।
किसानको साथी लाटोकोसेरो तथा हुचील संरक्षणको सन्देश दिन माघी होमस्टे, घोडाघोडी बर्ड सेन्चुरी कैलालीमा माघको २० र २१ गते २ दिने संरक्षण उत्सवको तयारी गरिएको छ ।
मुसाको संख्या नियन्त्रण गरेर किसानलाई सहयोग गर्ने लाटोकोसेरो तथा हुचीलको अवैध व्यापार, बासस्थान लोप हुनु लगायतका कारण संकटमा पर्दै गएपछि नागरिक स्तरबाटै संरक्षणमा लाग्न प्रेरित गर्न महोत्सवको आयोजना गरिएको हो ।
कैलालीमा १० औं संस्करणको रुपमा नेपाल लाटोकोसेरो तथा हुचील उत्सव २०७९ हुन लागेको हो । लाटोकोसेरोले मुसामात्र होइन; कीरा फट्याङग्रा, सर्प, भ्यागुता खाएर संख्या नियन्त्रण गर्दछ ।
एक परिवार लाटोकोसेरो (भाले,पोथी र बच्चा) ले एक सिजनमा ३ हजारसम्म मुसा खाने प्रकृतिका साथीहरु नामक संस्थाका निर्देशक राजु आचार्य बताउँछन् । पर्यावरणलाई सन्तुलित राख्नमात्र होइन; यिनको उपस्थितिले प्रकृति स्वस्थ छ भन्ने संकत पनि गर्ने आचार्यले बताए ।
डिआर चौधरीको संयोजकत्वमा ७ सदस्यीय नेपाल लाटोकोसेरो तथा हुचील उत्सव आयोजक मूल समिति गठन
पछिल्लो समयमा बिभिन्न प्रजातिका चराको अवलोकन गर्नमात्रै पनि विदेशी पर्यटक आउने भएकाले चरामा आधारित पर्यापर्यटन विकासमार्फत मानवीय जिविकोपार्जनमा समेत सहयोग पुग्ने देखिन्छछ ।
लाटोकोसेरोको आवाजले साँझ परेको तथा बिहान भएको संकेतसमेत गर्दछ । धार्मिक हिसाबले पनि लाटोकोसेरोको महात्व छ । लाटोकोसेरोलाई देवी लक्ष्मीको वाहन मानिन्छ ।
नेपालमा यिनीहरुको वासस्थान तराइदेखि हिमालसम्म फैलिएको छ । लाटोकोसेरोको संख्याका बारेमा नेपालमा अध्ययन नभए पनि हालसम्म २३ प्रकारका लाटोकोसेरोको प्रजातीको अभिलेख गरिसकिएको छ । जसमध्ये ९ प्रजाती नेपालमा दुर्लभ मानिन्छन् । विश्वमा करिब २ सय २५ प्रजातीका लाटोकोेसेरा. पाइन्छन् ।
महोत्सव सफल रुपमा सम्पन्न गर्न प्रकृतिका साथीहरुको आयोजना र चरा संरक्षण नेटवर्क, कैलाली जुटेका छन् । डिआर चौधरीको संयोजकत्वमा ७ सदस्यीय नेपाल लाटोकोसेरो तथा हुचील उत्सव आयोजक मूल समिति गठन गरिएको छ ।
यसअघि लाटोकोसेरो संरक्षण उत्सव धादिङ, चितवन, नवलपरासी, गोरखा, कास्की, कपिलवस्तु, दोलखा, खोटाङ र स्याडजा जिल्लामा गरिसकिएको छ । यस किसिमको उत्सव नेपालबाहेक संसारभर अमेरिका, इटाली र भारतमा पनि मनाइन्छ ।
उत्सवअघि नै स्थानीय विद्यालयमा लाटोकोसेरो चेतना शिविरहरु भइरहेका छन् । उत्सवको समयमा चरा तथा प्रकृतिको अवलोकन, लाटोकोसेरासम्बन्धी म्युजियम प्रदर्शनी, स्थानीय लोपोन्मुख खेल तथा सांस्कृतिक गीत तथा नाँच प्रर्दश गरिनेछ । साँइ किचकिच, छुर, टिटी, कोइली दिदी, भुरुङ, सारंगी हाटा जस्ता स्थानीय लोपोन्मुख खेल प्रदर्शनीसमेत गरिनेछ ।
उत्सवमा स्वागत गीत, स्थानीय विद्यालयहरुको नाँच, स्थानीय सांस्कृतिक कार्यक्रम मुंन्ग्रहुवा, सखिया, झुम्रा, लाठी, हुर्दुङ्गुवा, देउडा खेल, कौडा नाँच तथा मनिरामको संरक्षण गीत आदिको प्रस्तुति हुनेछ । वन विज्ञान अध्ययन संस्थान पोखराका विद्यार्थीले लाटोकोसेरो संरक्षणसम्बन्धी नाचसमेत प्रदर्शन गर्नेछन् ।
चित्रकलामा मदरल्यान्डकी अक्षेता प्रथम
नेपाल लाटोकोसेरो तथा हुचील उत्सव २०७९ को पूर्वसन्ध्यामा भएको चित्रकला प्रतियोगितामा मदरल्यान्ड माविकी छात्रा अक्षेता दाहाल प्रथम भएकी छन् ।
नेपाल भरिका विद्यार्थीका लागि खुला गरिएको प्रतियोगितामा क्रियटिभ एकेडेमी कृतिपुर कामाडौंकी आस्था सिंह दोस्रो र त्रियुग मावि धापासीका पियुष लामगाढ तृतीय बने ।
उनीहरुले क्रमश १५ हजार १० हजार र ५ हजार नगद र प्रमाणपत्र पाउने छन् । यस्तै गरी उत्सवमा निबन्ध तथा कविता प्रतियोगिताको पनि आयोजना गरिनेछ । उत्सवमा लाटोकोसेरोको जानकारी भएको सूचना, चित्रहरु, तथा फोटो प्रदर्शनी पनि गरिनेछ ।
राष्ट्रिय प्रकृति संरक्षण पुरस्कार
उत्सवमा ४ अनुसन्धानकर्मी र संरक्षणकर्मीलाई संरक्षणको क्षेत्रमा गरेको योगदानको कदर गर्दै ‘प्रकृति संरक्षण पुरस्कार’ प्रदान गरिने आयोजकले बताएका छन् । उनीहरुलाई जनही २५ हजारसहित ताम्रपत्र तथा दोसल्लाबाट सम्मान गरिनेछ ।
यस वर्ष बारेकोटे गाउँपालिका, जाजरकोटका संरक्षणकर्मी गोविन्दबहादुर सिंह, काठमाडौँ, गोकर्णेश्वर ४ का अनुसन्धानकर्मी हेमबहादुर कटुवाल, कान्तिपुर दैनिकसँग आबद्ध चितवनका पत्रकार रमेशकुमार पौडेल र भारतीय वैज्ञानिक डा. सतीश अ. पांडेले संरक्षण पुरस्कार पाउने छन् ।
तपाईको प्रतिक्रिया