१ सय सामुदायिक स्कुललाई सहयोग

पोखरा ।
शैक्षिक स्रोत तथा विकास केन्द्र नेपालले गण्डकी प्रदेशअन्तर्गत ६ जिल्लाका १ सय विद्यालयमा परीक्षणका रुपमा सिकाइ बाकस सञ्चालनमा ल्याएको छ । पुस्तक अभावमा विद्यार्थी पढ्नबाट बञ्चित नहुन भन्ने उद्देश्यले सिकाइ बाकस सञ्चालनमा ल्याइएको हो ।
समयमै पाठ्यपुस्तक पुर्याउन नसकिएको खण्डमा त्यसको विकल्पमा अनलाइन तथा अफलाइनबाट सिकाइ बाकसमार्फत विद्यार्थीलाई पठनपाठन गराइनेछ ।
कम्प्युटर र प्रोजेक्टरको सहायतामा तयार पारिएको यस्तो बाकसबाट अनलाइन नभएका अवस्थामा पनि विद्यार्थीलाई अध्यापन गराउन सकिने कार्यक्रमका प्रमुख अतिथि शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलले जानकारी दिए ।
रोटरी क्लबको प्राविधिक तथा आर्थिक सहयोगमा विकास गरिएका सिकाइ बाकस शनिबार कास्की, तनहुँलगायतका १४ सामुदायिक विद्यालयलाई प्रदान गरिएको छ । प्रतिविद्यालय १ बाकसका दरले वितरण गरिएको हो ।
एउटा सिकाइ बाकसको लागत १ लाख २५ हजार पर्ने र ५ वर्ष टिकाउ हुनेछ । कक्षा १ देखि १२ कक्षासम्मका पाठ्यसामग्री उक्त सिकाइ बाकसमा समावेश छन् ।
पौडेलले शिक्षाको विकासका लागि सरकारले विद्यालयलाई कम्प्युटर दिएको धेरै वर्ष भएको र अधिकांश विद्यालयले प्रयोग नगरेको बताए ।
‘शिक्षकलाई चारदिने तालिमसहित सिकाइ बाकस दिएका छौँ यसको भरपुर प्रयोग गर्नुहोस्,’ उनले भने । सिकाइ बाकस गण्डकी प्रदेशका ६ जिल्ला कास्की, लमजुङ, तनहुँ, गोरखा, बागलुङ, पर्वत जिल्लाका १ सय विद्यालयलाई वितरण गरिनेछ ।
शिक्षामा रुपान्तरण आवश्यक भएको बताउँदै उनले शिक्षाको अवसरबाट कुनै बालबालिका वञ्चित हुन नहुने बताए । शिक्षक र पाठ्यपुस्तकको अभावमा विद्यार्थी पढ्न नपाउने अवस्थासमेत यो बाकसले हटाउने उनको भनाइ छ ।
नेपालका १५ जिल्लालाई साक्षर जिल्लाका रुपमा घोषणा गर्न नसकेको र घोषणा गरिएको जिल्लाको अनुगमन पनि नभएको पौडेलको भनाइ छ ।
पाठ्यपुस्तक विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्याल पाठ्यपुस्तक अभावमा यो डिभाइसबाट पठनपाठन गर्न सकिने हुँदा विद्यार्थीलाई फाइदा पुग्ने बताउँछन् । कोभिडको समयमा यस्ता यन्त्र फलदायी हुने उनले सुनाए ।
शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख नारायण सुवेदीले पुस्तक अभाव भएको अवस्था र विद्यार्थीलाई नयाँ प्रविधिबाट पठनपाठन गराउन यस्तो मेसिन सहयोगी बन्ने बताए । रोटरियन किरणलाल श्रेष्ठ गुणस्तरीय शिक्षा आजको आवश्यकता भएकाले नयाँ प्रविधिसँग शिक्षक खेल्न सक्नुपर्नेमा जोड दिए ।
शिक्षकले विद्यार्थीलाई शिक्षाप्रति आकर्षण गर्न यस्ता बाकस फलदायी हुने उनको भनाइ छ । रोटरी क्लब अफ पोखराका अध्यक्ष डा राजेन्द्र गौतमको अध्यक्षतामा कार्यक्रम भएको हो ।
तपाईको प्रतिक्रिया