सम्पादकीयः रविको नागरिकता कसुर र बसेको नजिर

समाधान संवाददाता २०७९ माघ १५ गते ११:५९

रवि लामिछानेले मात्रै होइन विदेशमा बसेका थुप्रै नेपालीले त्यताको नागरिकता लिइसकेर पनि नेपालको त्यागेका हुँदैनन् । नेपाल भित्रँदा पर्यटक भिसामा भित्रिए पनि एयरपोर्टमै पुरानो नेपाली नागरिकता देखाएर स्वदेशीको हैसियतमा आन्तरिक उडानका जहाजको टिकट काट्छन् ।

Advertisement

विदेशीलाई जहाज भाडा डलरमा लाग्छ, स्वदेशीलाई सस्तो छ । विदेश गएकाहरुले त्यतिमात्रै गर्दैनन्, जतिजति रविले गरे झन्डै त्यतित्यति नै जस्तो गर्छन् । नेपालमा जग्गजमिन जोड्छन् र अरु थुप्रै काम पहिलाकै नेपाली नागरिकताका आधारमा फत्ते गर्छन् । रविले त राजनीतिमै प्रवेश गरेर पार्टीमात्रै खोलेनन्, उपप्रधानमन्त्री र गृहमन्त्रीसम्मै हुन भ्याइदिए ।

हो, रवि लामिछानेले नागरिकताको पुनःप्राप्ति नगरेर नेपालको कानुनलाई चुनौती दिने असफल प्रयास गरे । त्यसैले त उनले चुनाव जित्दाजित्दै, मन्त्रीसम्म हुँदा हुँदै ती सबै गुमाउनुपर्‍यो । सर्वाेच्च अदालतको एउटा फैसलाले उनका सबै प्राप्तिहरु गुमे । उनले नेपालको नागरिकता पुनप्राप्ति नगरेको विषयमा परेको मुद्दामा सर्वाेच्चले जुन फैसला १३ माघमा गर्‍यो, त्यो नेपालको सन्दर्भमा ऐतिहासिक नजिर बनेको छ ।

अब नेपालका नागरिक जसले विदेशी नागरिकता लिएका थिए र छन् तिनीहरुको नेपाली नागरिकता स्वतः रद्द भएको नजिर कायम भएको छ । र, उनीहरुले पुरानो नेपाली नागरिकताको आधारमा नेपालमा नागरिकको हैसियत र अधिकार पाउँदैनन् । त्यसका लागि उनीहरुले पुन नागरिकता प्राप्ति गर्नुपर्छ ।

नेपालमा कानुन छैन, वा कानुनको कार्यान्वयन हुँदैन भनेर यो देशलाई कम आक्नेहरुलाई सर्वाेच्च अदालतको फैसलाले गतिलो पाठ सिकाएको छ । चाहे यो देशको गृहमन्त्री नै भएको व्यक्ति किन नहोस्, त्यसले पनि कानुन मान्नुपर्छ र कानुन लाग्छ भन्दे गतिलो सन्देश फैसलाले दिएको छ । कानुनीराज स्थापनाका लागि सर्वाेच्चको फैसला कोसेढुंगा सावित भएको छ ।

Advertisement

अब यही नजिरका आधारमा जोजसले नागरिकता पुनप्राप्तिको प्रक्रिया अगाडि बढाउनुपर्ने हो, बढाउन सक्छन् र कानुनको पालना गर्न सक्छन् । रवि लामिछानेले पनि त्यसो नगरी सुखै छैन । सुशासनको नाराको जगमा बनेको रवि नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी साँच्चीकै आफ्ना उद्देश्यमा प्रतिबद्ध छ भने अब सरकारमा उसको पार्टीबाट गृहमन्त्री नै पठाउनु नैतिक रुपमा सही हुँदैन ।

रवि नै जाँदा स्वार्थ बाझिएको थियो । अब नबाझियोस् । उनको राहदानी प्रकरण पनि छानबिन हुनुपर्छ । उनले छानबिनमा सहयोग गरी सुशासनका लागि आफैले पहलकदमी लिएर उदाहरण प्रस्तुत गर्न सक्नुपर्छ ।

तपाईको प्रतिक्रिया