
जोमसोम ।
माघ महिना आधा बितिसक्दासमेत मुस्ताङमा हिमपात भएको छैन । हिउँ नपरे पनि अत्यधिक चिसोका कारण यहाँका तालतलैया, नदी, कुलो र घरका धाराहरु बरफ बनेर जम्न थालेका छन् । चिसोका कारण स्थानीयको दिनचर्यासमेत कष्टकर बनेको छ ।
मुस्ताङको घरपझोङ गाउँपालिका ५ कैसाङ खर्कमा अवस्थित छमा ताल माघ महिनादेखि चिसोले जम्न थालेको हो । समुन्द्री सतहदेखि करिब ३८ सय मिटरको उचाईमा अवस्थित छमा ताल चिसोले पूरै बरफ बनेको छ । मुस्ताङको ढुम्बातालमा पनि चिसोले आशिंक रुपमा जम्ने गरेको छ ।
छमा ताल नेपाली सेनाको पर्वतीय तालिम केन्द्र नजिकको स्थानमा पर्छ । सो स्थान २०३१ सालअघि तिब्बतीय खम्पाहरुको सैन्य हेडक्वाटर थियो । खम्पापछि त्यहाँ नेपाली सेनाको सैनिक उच्चशिखर शिक्षालयको तालिम केन्द्र छ ।
गत शनिवार बिदाको समय मिलाएर जोमसोमबाट केही सुरक्षा अधिकारी कैसाङ खर्क प्रस्थान गरे । त्यही सुरक्षाकर्मी प्रचण्डमान डंगोलले जमेको छमा तालमाथि बसेर तस्बिर खिचेर सामाजिक संञ्जालमा अपलोड गरे ।
झन्डै सय मिटरमा फैलिएको तालमाथि बसेर डंगोलले केही समय ध्यान योगाभ्यास गराए । ‘चिसोले तालको पूरै क्षेत्र बरफ बनेर जमेको छ, एक छेउबाट अर्को छेउमा तालमाथि आउजाउ गर्न सकिन्छ,’ डंगोलले भने, ‘यसरी तालै जमेको देखेको थिइनँ ।’
जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको तापमानमा फेरबदल आइरहेको महसुस गर्न सकिन्छ । यसको प्रत्यक्ष उदाहरण हो, पछिल्लो समय हिउँद याममा हुने असमान प्रकारको हिमपात र वातावरणीय प्रभाव ।
तापक्रममा वृद्धि हुँदै जाँदा पछिल्ला वर्षमा कुनै बेला भारी हिमपात हुने, कुनै बेला आशिंक हिमपात हुने र कुनै बेला बेमौसममा हिमपात हुने गरेको छ । जलवायु परिवर्तनकै कारण अनुकूल समयमा हिमपात नहुँदा यहाँको कृषि, पर्यटन र पर्यावरणमा प्रतिकूल असर भएको छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया