नर्सलाई कम तलब दिने संस्था नवीकरण हुँदैनन्ः गिरी

समाधान संवाददाता २०७९ माघ १६ गते १०:३४

काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले स्टाफ नर्सलाई कम पारिश्रमिक दिने स्वास्थ्य संस्थाको नवीकरण नगर्ने चेतावनी दिएका छन् ।

Advertisement

आइतबार नेपाल नर्सिङ संघको ६१ औं वार्षिकोत्सव कार्यक्रममा उनले नर्सको तलब निकै कम भएको सुन्नमा आएको भन्दै बिरामीको सेवामा चौबिसै घण्टा खटिने नर्सको सेवासुविधा वृद्धि गर्नका लागि भूमिका खेल्ने बताए ।

उनले श्रम शोषण गर्ने स्वास्थ्य संस्थालाई अनुगमन गरी कारबाही गर्नेसमेत चेतावनी दिए । मन्त्री गिरीले नर्स मैत्री नीति बनाउनका लागि सक्रिय भूमिका खेल्ने बताए ।

‘नर्सका समस्या पहिचान गरेर राज्यले न्यायोचित ढंगले सम्बोधन नगर्दा उनीहरुमा नैराश्यता उत्पन्न हुन्छ र समाजमा अन्य समस्या देखिन्छ’, उनले भने, ‘नर्सले एउटा लेभल पास गर्नुहुन्छ ।

मैले सुने आठ हजार दश हजारमा पनि निजी क्षेत्रमा काम गर्नुपर्ने अवस्था छ । यो निकै चिन्ताको विषय हो । यसरी न्यूनतम तलब भत्ता पनि नदिई श्रमको शोषण गर्ने कुरा कुनै पनि हालतमा ठीक हुँदैन ।’

Advertisement

उनले बिरामीको उपचारमा नर्सको भूमिका महत्वपूर्ण हुने भएकाले नर्सलाई राम्रो सेवा दिइनुपर्ने भनाइ राखे । ‘बिरामीको उपचारमा सक्रिय रहने नर्सले मुस्कानसहितको सेवा दिनुपर्छ, बिरामीलाई मुस्कानसहित भूमिका दियो भने आधा रोग आफैँ ठीक हुन्छ पनि भनिन्छ’, गिरीले भने, ‘तपाईंहरुको अनुहारमा हाँसो आवश्यक छ । तपाईंहरु हाँस्दा बिरामीले पनि राहत महसुस हुन्छ ।’

उहाँले संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय तहको समन्वयमा विद्यालयमा समेत नर्स राख्नेगरी योजना अघि बढिरहेको भन्दै यसले नर्सका लागि पनि रोजगारीका थप ढोका खुल्ने सुनाए ।

‘मैले मन्त्री भएपछि पहिलो निर्णय न्यूनतम स्वास्थ्य सेवा मापदण्ड कार्यान्वयन गर्ने विषयमा हस्ताक्षर गरेको छु । नर्स र बिरामीको कुरा त्यसैमा पर्छ’, उनले भने । नेपालका दक्ष नर्सले राम्रो सेवा, सुविधा पाएर विदेशमा रोजगारी गर्नु सकारात्मक कुरा भएको उल्लेख गरे ।

कार्यक्रममा नेपाल नर्सिङ संघका अध्यक्ष मनकुमारी राईले नेपालमा नर्सको योग्यता, दक्षता अनुसार पारिश्रमिक नभएको बताइन् । उनले नेपालमा न्यून पारिश्रमिक भएकाले नर्स विदेश जान थालेकोसमेत दाबी गरिन् । नेपालमा अहिले सरकारी तथा निजी स्वास्थ्य संस्थामा करिब १० हजार नर्स कार्यरत छन् ।

तपाईको प्रतिक्रिया