‘के लत बस्यो’ ले पायाे ३१ लाख बढी भ्यूज

पोखरा ।
एकाएक चर्चा कमाएको गजल ‘के लत बस्यो’ले सार्वजनिक भएको १७ दिनमै युट्युबमा ३१ लाख बढी भ्यूज पाएको छ ।
गायक तिलकसिंह पेलाको स्वर रहेको उक्त गजलको म्युजिक भिडियोलाई शनिबारसम्ममा ३१ लाख १४ हजार पटक हेरिएको हो ।
१ लाख १५ हजारले ‘लाइक’ र झण्डै १४ हजारले गजलमाथि टिप्पणी गरेका छन् । गत पुस २८ मा गायक पेलाको आफ्नै युट्युब च्यानलबाट गजल सार्वजनिक गरिएको थियो ।
राग मालकौंसमा आधारित सो गजलबाट गायक पेलाले छोटै अवधिमा स्रोता/दर्शकको मन जित्न सफल भएका छन् ।
गायक पेलाकै संगीत रहेको गजल डा प्रदीकुमार मैनालीले लेखेका हुन् । गजलमा संगीत संयोजन रिदम कँडेलले गरेका हुन् ।
शास्त्रीय संगीतका साधक पेलालाई लोकप्रियता दिलाएको उक्त गजलले युट्युबमा भ्यूजसँगै प्रशंसा पनि उत्तिकै बटुलिरहेको छ ।
संगीतकर्मी, राजनीतिज्ञ, खेलाडीदेखि सार्वजनिक जीवनको उच्च ओहोदामा रहेका व्यक्तिले पनि सो गजललाई मन पराएर फेसबुक, टिकटिकजस्ता माध्यमबाट साझा गरिरहेका छन् ।
खँदिला शब्द, रागमा आधारित संगीत र पाको गायकीले गजलमा प्राण भरेको छ । पेलाको गजलले गम्भीर भाव र शैलीका संगीत सिर्जनालाई रुचाउने स्रोता/दर्शक पनि उत्तिकै छन् भन्ने प्रमाणित गरिदिएको छ ।
डिजिटल प्रविधिले गीत/गजल सुन्नेभन्दा हेर्नतिर दर्शकलाई डो¥याइरहेका बेला यो गजलले भने मुग्ध भएर सुन्न धेरेलाई बाध्य पारिरहेको छ । न कुनै कथानक, न कोही पात्र । गीतको म्युजिक भिडियो पनि सामान्य छ ।
गायक पेलाले स्टुडियोमा गाइरहेको, डा मैनालीले गजल लेखिरहेको र वाद्यवादकले वाद्ययन्त्र बजाइरहेको दृश्य मात्र त्यसमा समेटिएको छ ।
लालित्यपूर्ण स्वर, लयमा माधुर्यता र मर्मस्पर्शी शब्दले गजललाई जीवन्त बनाएको छ । मौलिक र सिर्जनात्मक प्रस्तुति गजलको अर्को विशेषता हो ।
गायक पेलाको मात्र नभएर गजलकार डा मैनाली र संगीत संयोजक कँडेलको अब्बल प्रतिभा यो गजलबाट मुखरित भएको छ । बैतडीमा जन्मिएका पेला आफैंमा संगीतका गुरुसमेत हुन् ।
पेलाले विसं २०५३ मा ‘आँसु’, २०५४ मा ‘आँसु–२’, र सोही एल्बमको तस्रो भागका रूपमा केही वर्षअघि ‘निर्जन किनार’ बजारमा ल्याइसकेका छन् ।
तपाईको प्रतिक्रिया