सामुदायिक सेवा केन्द्रमा भीम

पोखरा ।
सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको १६ औं वार्षिक साधारण सभा तथा ९ औं अधिवेशन भएको छ । अधिवेशनले अध्यक्ष भीम पराजुलीको नेतृत्वमा २० सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।
कार्यसमितिको वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र बजगाईं, प्रथम उपाध्यक्ष मनपति भण्डारी, द्वितीय उपाध्यक्ष विष्णुमाया सुवेदी, महासचिव घनश्याम तिम्सिना, सचिव दानबहादुर बस्नेत, कोषाध्यक्ष प्रेम पहारी र सहकोषध्यक्ष गुप्तबहादुर कार्की रहेको निर्वाचन समितिका संयोजक नारायण शर्माले जानकारी दिए ।
कार्यसमितिको सदस्यमा नरेन्द्रप्रसाद आचार्य, आशवीर नेपाली, विदुरमणि ढुंगाना, रामभूषण पराजुली, देवेन्द्रकिशोर बास्तोला, दोर्चे तामाङ, धनबहादुर विक, सिर्जना सापकोटा, शम्भुराम पाण्डे, विश्वप्रकाश अधिकारी, लक्ष्मी केसी सिंह र ईन्द्रप्रसाद दाहाल छन् ।
गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङले अधिवेशन उद्घाटन गर्दै नेपाल प्रहरीको एकल प्रयासबाट समाजमा विद्यमान अपराध अनुसन्धान तथा शान्ति सुरक्षा कायम गर्न सम्भव नभएको बताए । स्थानीय समुदायसँगको सहकार्यबाट अपराध अनुसन्धान तथा शान्ति सुरक्षा कायम गर्न सकिने उनले उल्लेख गरे ।
‘समाजमा रहेका विकृति, विसंगतिका कारण पत्ता लगाउन प्रवुद्ध समूहको दायित्व हुन्छ,’ उनले भने, ‘नेपाल प्रहरीले स्थानीय समुदायसँगको निकटताबाट शान्ति, सुरक्षा कायम र अपराध अनुसन्धानबाट सम्भव छ ।’ उनले अपराध निर्मूल भएको शान्तिपूर्ण समाजबाट विकास निर्माण सम्भव भएको उल्लेख गरे ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले सामुदायिक सेवा केन्द्रहरुको स्वयंसेवी भावनाले गरेको कामले स्थानीय प्रशासनको लागि कार्य सम्पादन गर्न सहज भएको बताए । उनले सामुदायिक सेवा केन्द्रसँगको सहकार्यमा प्रहरी प्रशासनले गरेको काम छिटोभन्दा छिटो जनतासमक्ष पुग्ने टिप्पणी गरे ।
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रवक्ता तथा पोखरा २५ का अध्यक्ष मोतीराज तिम्सिना, पोखरा १८ का अध्यक्ष बोधराज कार्की, सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीका संस्थापक अध्यक्ष मंगलबहादुर नेपाली, सामुदायिक सेवा केन्द्र माटेपानीका अध्यक्ष मिरादेवी आचार्य लगायतले सामुदायिक सेवा केन्द्रले गरेका कामका बारेमा बोलेका थिए ।
साधारण सभाले महासचिव मनपति भण्डारीले प्रस्तुत गरेको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष दानबहादुर बस्नेतले पेश गरेको आर्थिक प्रतिवेदन सुधारसहित पारित गरेको छ । कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरु वीनिता बास्तोला, सबोध वस्ती, ज्येष्ठ सदस्य दुर्गा पहारी, लागुऔषध समाज सुधार आमा समूह नेपालका अध्यक्ष विष्णुकुमारी गुरुङ लगायतलाई सम्मान गरिएको छ ।
तपाईको प्रतिक्रिया