सम्पादकीय: पर्यटन पुनःउत्थानका कार्यक्रम ल्याऊ

समाधान संवाददाता २०७९ माघ १६ गते १२:०१

कोभिड महामारीले थलिएको पर्यटन यसो के जुर्मुराउँदै थियो, यती एयरलाइन्सको जहाज माघ १ गते पोखरामा दुर्घटना भएपछि झन् पर्यटन क्षेत्र मुर्झाएको छ । भारतीय मिडियाहरुले हुँदोनहुँदो गरी सक्दो नकारात्मक प्रचार नेपालका बारेमा गरे । नेपाल असुरक्षित छ भन्ने सन्देश उनीहरुले यति साह्रो दिए कि भारतीय पर्यटकको आगमन ठप्प प्राय भइदिएको छ ।

Advertisement

कोभिडका बेला ऋणको ब्याज तिर्न नसकेका व्यवसायीको अब त केही हुन्छ कि भन्ने आशा अंकुरण हुन नपाउँदै ओइलाउनुपर्दा त्यसको समग्र असर राष्ट्रिय अर्थतन्त्रमा परेको छ । पश्चिमा देशहरुमा यसै पनि नेपाली उड्डयन क्षेत्र असुरक्षित छ भन्ने सन्देश पुगेकै थियो, त्यसै यती एयरलाइन्स दुर्घटनाले मलजल गर्‍यो ।

हुने हार दैव नटार भनेजस्तो गरी भएको भवितव्य भइसक्यो । अबको दायित्व भनेको त्यसको नकारात्मक असरको क्षति न्यूनीकरण गर्ने हो । त्यो दायित्व सरकारको हो । राष्ट्रिय अर्थतन्त्र जर्जर भएको बेला पर्यटन उद्योग मुर्झाउँदा सरकारले राखेको राजस्व संकलन, रोजगारी सिर्जना र समृद्धिको लक्ष्य भेट्न मुस्किल छ । त्यसमाथि देशको प्रमुख क्षेत्र पर्यटनमा असर पर्दा सरकारले कुनै उपाय नगर्ने हो भने स्वाभाविक रुपमा व्यवसायीहरुलाई मात्रै होइन राष्ट्रलाई नै ठूलो नोक्सानी हुन्छ ।

पर्यटन उद्योगमा पुनजागरण ल्याउन, यसलाई पुनःस्थापित गर्न र पुनःउत्थानका लागि सरकारले नै गतिलो योजना र कार्यक्रम ल्याउन जरुरी छ । त्यो पनि अन्तर्राष्ट्रिय बजार केन्द्रित कार्यक्रम हुनुपर्छ । नेपाली हवाई यातायात असुरक्षित छैन भनेरमात्रै पुग्दैन, त्यसका लागि राज्यले साँच्चीकै ठोस प्रतिबद्धतासहितका काम गरेर अन्तर्राष्ट्रिय जगतबाट विश्वास आर्जन गर्न जरुरी छ ।

जहिल्यै जहाज दुर्घटनाका प्रतिवेदन धमिराको आहार बनाउने र कुनै सुधार नगर्ने प्रवृत्ति अन्त्य गरी नेपाली पर्यटन गन्तव्यहरुको व्यापक प्रचार अन्तर्राष्ट्रिय बजारमा गरिनुपर्छ । खास गरी छिमेकी भारतमा फैलिएका तमाम भ्रमहरु चिर्न हामी पछि पर्‍यौं भने पर्यटन फेरि उठ्न निकै समय लाग्न सक्छ । त्यति बेलासम्म अरु थुप्रै भवितव्यहरु नेपालले व्यहोर्नुपर्‍यो भने निकै दुर्भाग्य हुन्छ । पर्यटन भनेको रामरमाइलो होइन, यो देशलाई समृद्धिको दिशामा लैजान सक्ने क्षेत्र हो भन्ने हेक्का सरकारले राखोस् ।

Advertisement

तपाईको प्रतिक्रिया