नयाँ योजना बनाउन कठिन छः जुग्जाली

राष्ट्रिय समाचार समिति (रासस) २०७९ माघ १६ गते १२:४१

म्याग्दी ।
गण्डकी प्रदेश सरकारका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीले पूर्ववर्ती सरकारले सिर्जना गरेको वित्तीय दायित्वका कारण तत्काल नयाँ योजना र कार्यक्रम बनाउन अप्ठ्यारो परेको बताएका छन् ।

Advertisement

मन्त्री नियुक्त भएपछि गृह जिल्ला म्याग्दी आएका उनले शनिबार विभिन्न ठाउँमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै सर्जना भइसकेको दायित्व पूरा नगरेसम्म प्रद्रेश सरकारलाई नयाँ कार्यक्रम र योजना बनाउन अप्ठ्यारो परेको जनाए ।

‘३० अर्ब हाराहारीमा पूँजीगत भएको गण्डकीमा यसअघिका सरकारले ठेक्का लगाएका र शसरु गरेका आयोजनामा सिर्जना भएको१३ अर्ब ५० करोडको वित्तीय दायित्वले अप्ठ्यारो पारेको छ,’ उनले भने, ‘सुरु गरेका कार्यक्रम र ठेक्का लागिसकेका योजनालाई पूर्णता दिन प्रदेश सरकारले जोड दिएको छ । सिर्जना भएको वित्तीय दायित्व पूरा भएपछि नयाँ कार्यक्रम र योजना ल्याउने छलफलमा छौं ।’

मन्त्री जुग्जालीले गण्डकी प्रदेशको समृद्धिको प्रमुख आधार घोषणा भएको पर्यटनसँग सम्बन्धित मन्त्रालयमा कुल बजेटको ४ प्रतिशत मात्र बजेट भएकाले लगानी बढाउन पहल गर्ने उल्लेख गरे ।

वन र वातावरणको संरक्षणसँगै उपयोगमार्फत रोजगारी सिर्जना र नागरिकले लाभ लिने किसिमको नीतिगत व्यवस्थामा जोड दिने प्रतिवद्धता जनाए ।

Advertisement

प्रदेशको औचित्य पुष्टि गराउन प्रभावकारी काम र व्यवभार घटाउन मन्त्रालयको संख्या १२ बाट घटाएर ७ बनाइएको मन्त्री जुग्जालीले बताए ।

म्याग्दी प्रदेशसभा क्षेत्र (ख)बाट निर्वाचित मन्त्री जुग्जालीलाई नेकपा (माओवादी केन्द्र)को जिल्ला कमिटी, तातोपानी कुण्ड व्यवस्थापन समिति, म्याग्दी उद्योग वाणिज्य संघ, म्याग्दी उद्योग वाणिज्य, मंगला र मालिका गाउँपालिकाले स्वागत तथा बधाई ज्ञापन गरेका थिए ।

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया