‘पसिनाको आभा’ मा फुलेका फूलहरु

सरस्वती श्रेष्ठ ‘सरु’ २०७९ माघ १६ गते १६:५०

सरस्वती श्रेष्ठ ‘सरु’ ।
मुक्तक अत्यन्त लोकप्रिय विधा हो । यसलाई कविताको लघुतम रुपमा पनि लिइन्छ । आजको व्यस्त समयमा लामा लामा रचना सिर्जना गर्न, लामा लामा रचना पढ्न पनि समयाभाव हुने भएकाले स्रष्टाहरु लघुतम रचना सिर्जना गर्न लोभिएकोजस्तो भान हुन्छ ।

साठी सत्तरीको दशकमा प्रायः? मुक्तक, लघुकथाका कृति बजारमा बढी प्रकाशित भएको महसुस हुन्छ । नेपालका चर्चित अग्रज मुक्तकारहरु भीमदर्शन रोका, कृष्णप्रसाद पराजुली, हरिभक्त कटुवाल, रत्नशमशेर थापा, चेतन कार्की, सरुभक्त हरुले लोकप्रिय बनाएको मुक्तक समकालीन साहित्यमा पनि उत्तिकै लोकप्रिय भएकोमा कसैको दुई मत छैन ।

नेपाली साहित्य लेखनमा क्रियाशील युवा हुन्–हेटौँडाका डिबी बर्तौला । उनले गजल, मुक्तक, हाइकु, कविता, गीत, निबन्ध, समीक्षा आदि विधामा कलम चलाउँदै आएका छन् । अहिले उनको दोस्रो मुक्तक सङ्ग्रह ‘पसिनाको आभा’ बजारमा आएको छ । यसको प्रकाशन २०७८ मा भएको हो । संग्रहको प्रकाशक बिएन पुस्तक संसार काठमाडौं हो । यस मुक्तक संग्रहलाई देशको चित्र, उज्यालो भविष्य, प्रेमको क्यानभास, र जीवन बोध गरी चार खण्डमा विभाजन गरिएको छ ।

Advertisement

४ खण्डमध्ये पहिलो खण्ड ‘देशको चित्र’ भित्र ५० मुक्तक छन् । यस खण्डभित्रका समग्र मुक्तकले देशको माया, समाजको यथार्थ चित्रणलाई उजागर गरेका छन् । सामाजिक विसंगतिप्रति प्रहार गरेका छन् । मुक्तककारलाई देशको माया छ । युवाको विदेश पलायनप्रति गहिरो चिन्ता छ ।

देशको चित्र सिंगार्न अब त समय खेर फालेर हुँदैन
देश विकासका नाराहरु चिया गफमा हाँकेर हुँदैन
पसिनाको आभा मुस्कुराएको भेटिन्छ पक्कै पनि
कर्तव्यबोध हुनुपर्छ अनावश्यक कुण्ठा साँचेर हुँदैन ।

Advertisement

जीवन अँध्यारोमात्र छैन; उज्यालो पनि छ । अनुभूतिले गर्दा अँध्यारो पनि सुन्दर हुन्छ । उज्यालोमात्र पनि सबथोक होइन ।

परिश्रमी हातलाई पसिनाको महिमा अपरम्पार हुन्छ । गरिबलाई कामको महिमा उस्तै हुन्छ । यस्तै यस्तै जीवन भोगाइका दुःख, पीर, खुसी, हाँसो उनेर सुन्दर माला बनेको छ मुक्तक ‘देशको चित्र’भित्र । कतै क्रान्तिको बिउ छर्दै, कतै न्यायको विगुल फुक्दै सबै नेपाली एकताबद्ध हुन आह्वान गरिएको छ ।

जब आफ्नो घरबाट टाढा भइन्छ, तब घरको यादले सताउँछ । जब देश र माटोको सुगन्धबाट निकै टाढा पुगिन्छ, तब देश र माटोको मायाले आक्रान्त बनाउँछ । डिबीजीको ‘देशको चित्र’ भित्र समेटिएका प्रत्येक मुक्तकले यस्तै भाव समेटेका छन् ।

गाउँहरु आधुनिक सहरले विस्थापित गरिरहेका बेला उहिलेका ढिकी जाँतो पनि विस्थापित हुँदै गएका छ । आधुनिक मेसिनले गर्दा पिसानी कुटानीका परम्परागत ढिकी जाँतो पनि हराएका छन् । तर मुक्तककारले यस्ता साधन जोगाउनु पर्ने, जन्मभूमिको माटो, आफूले टेकेको माटो अत्यन्त प्यारो लाग्ने भाव व्यक्त गरिएको एउटा मुक्तक यस्तो छ
पसिनाले भिजेको हाम्रो खेतबारीको माटो मनपर्छ
मलाई गाउँघरको अन्न पिस्ने सुन्दर जाँतो मनपर्छ
पक्कै पनि सफरमा प्रिय ठाउँ र बाटाहरु भेटिएलान्
तर मलाई त मेरै घर जाने त्यो सुन्दर बाटो मनपर्छ ।

देश छोडी विदेश जाने रहर बोकेर सपनासँगै उड्न तत्पर बेरोजगार युवाले देशमा रही आफ्नै खेतबारीमा, आफ्नै माटोमा पसिना बगाउनु उचित हुन्छ । बेरोजगारीको चिन्तामा डुब्नुभन्दा खेतबारी बाँझो नरहे हुन्थ्यो भन्ने आशय रहेको एउटा मुक्तक –
विदेशिनु हुन्न है स्वदेशले तिमीलाई आऊ भन्छ
तिम्रो पसिनाको आभाले हाम्रो माटो चम्कन्छ
संघर्षले सिर्जना मुस्कुराउँछ यो हाम्रो देशमा
अब जसले माटो चिन्छ उसैले बाँझो बारी खन्छ ।

पुस्तकको दोस्रो खण्डमा रहेको ‘उज्यालो भविष्य’ भित्र ३० मुक्तक छन् । यस खण्डमा प्राय मुक्तक आशावादी छन् । मानिसलाई जिउने क्रममा आशाका किरण बटुलेर अगाडि बढ्न प्रोत्साहित गराउने खालका छन् ।
आशा छ दुःखलाई दुःखमै राखेर तिमीले रेट्ने छौ
थाहा छ तिमीले जीवनका अभावलाई लखेट्ने छौ
अत्तालिएर हड्बडाउने स्वभाव तिमीमा देखेको छैन
पक्कै तिमीले जीवनमा उज्याला आभाहरु मेट्ने छौ

जीवनको गति कतै छङ्छङ छहरा भएर प्रवाह बढैझैँ, कतै सुस्त, शान्त भई प्रवहित भएको नदी जस्तै छ । जीवनका तिनै यथार्थको चित्रण यस खण्डमा पाइन्छ । कतै युवा जिन्दगीसँग हारेर बसेको बेला आशाका झिल्को बालिदिने र हार्नबाट जोगाउने भावका मुक्तकहरु पनि प्रशस्त छन् ।
दूरगामी छलाङ मार्न ससाना खुड्किला पार गर्नुपर्छ
उचाइमा पुगिन्छ पक्कै पनि प्रयास बारम्बार गर्नुपर्छ
गन्तव्यसम्म पुग्न अन्योल भई चूपचाप बस्नु हुन्न मित्र
आउँछन् थुप्रै समस्या तर तिनमाथि प्रहार गर्नुपर्छ ।

मुक्तककारभित्र क्रान्ति चेत छ । उनी चाहन्छन् अन्धकार हटाई उज्यालोको साम्राज्य फैलाउन । उनी देशमा परिवर्तन ल्याउन चाहन्छन् । एकताभित्र शक्ति हुन्छ भन्दै सबै नेपालीलाई एक हुन आह्वान गर्छन् । जीवनमा मानिसका धेरै इच्छा, आकांक्षा हुन्छन् । लोभ, मोह, डाह, रिस सबै मानवभित्रै हुन्छन् ।

ती सबै तत्वलाई जगाई क्रियाशील गराउने पनि मानव नै हुन् । जब मानवभित्र लोभ–लालचको मात्रा हावी हुन्छ, तब उसले नकरात्मक क्रियाकलाप गर्न उद्यत् हुन्छ । जब मानवभित्र सत्य कुराको चेत हुन्छ तब ऊभित्र सकरात्मक चेत पलाउँछ । यही लोभ, मोह, डाह, रिसका कारण एकअर्काबिच मनमुटाव समेत हुने गर्दछ । यस सङ्ग्रहमा, लोभ नर्गन सुझाव दिने एउटा मुक्तक –
प्रत्येकलाई म चेतना हूँ भन्ने ज्ञान हुनुपर्छ
आफैंलाई नियाल्न सक्ने ध्यान हुनुपर्छ
लोभानी पापानी सोचाइ हृदयबाट हटोस्
यो नश्वर जीवन हो भन्ने त भान हुनुपर्छ ।

‘पसिनाको आभा’को अर्को खण्ड हो ‘प्रेमको क्यानभास’ । यस खण्डभित्र २४ ओटा मुक्तक छन् । मुक्तकको यो बगैँचामा प्रेमका फूल बडो सुन्दर देखिने गरी फुलेका छन् । सबै फूलबाट मगमग सुवास चलिरहेको छ । यस्ता प्रेमिल फूल कहिल्यै ओइलाउँदैनन् ।

जुन हेर्‍यो त्यही राम्रा । रङ पनि अति सुन्दर । मुक्तक पढ्दा एकपछि अर्को गर्दै शृङ्खलाबद्घ गरी लेखिएको खण्डकाव्य नै हो कि जस्तो लाग्ने । प्रेम साँच्चै नै अद्भूत छ । यसले हरेक मान्छेको मनभित्र मिठो काउकुति जगाइदिन्छ ।

‘प्रेमको क्यानभास’ भित्रका मुक्तकमा मुक्तककार खुलेका छन् । सुन्दर रङमा फुलेका छन् । प्रेमिल मुक्तकमा उनको कलम साँच्चै सुन्दर ढंगमा नृत्य गर्न सफल छ । जीवनमा आँसु, हाँसो, दुःख, सुखको अनुभूति भएजस्तै प्रेमको अनुभूति पनि कुनै न कुनै तरिकाबाट हुने गर्दछ । प्रेम जीवनलाई सुन्दर बनाउने तागत हो । प्रेमले नारकीय जीवनलाई पनि स्वर्ग समान बनाउँछ ।
मलाई तिम्रो उज्यालो अनुहारले तागत दिन्छ
तिम्रो खुसीले मलाई बाँच्ने मजाको लत दिन्छ
तिमी मबाट टाढिएर एक निमेष कतै नजानु ल
तिम्रो हर उपस्थितिले सदैव मलाई राहत दिन्छ ।

कृतिको चौथो तथा अन्तिम खण्ड हो ‘जीवन बोध’ । यसमा २२ मुक्तक समावेश छन् । यस खण्डमा समावेश भएका मुक्तकले जीवनलाई गहिरोसँग छामेको छ । जीवन अँध्यारोमात्र छैन; उज्यालो पनि छ ।

अनुभूतिले गर्दा अँध्यारो पनि सुन्दर हुन्छ । उज्यालोमात्र पनि सबथोक होइन । यस खण्डको मुक्तकहरुमा जीवनका भोगाइलाई चित्रण गरिएको पाइन्छ । हरेक मोड र घुम्तीमा भेट हुन सक्छ
छुटियौ भने यी आँखाहरु रुन सक्छ
रहने त केवल यादहरुमात्र रहेछन् नि
हरबार यो दिललाई यादले छुन सक्छ ।

सरल शब्दहरुको संयोजनमा सृजना गरिएका यी मुक्तकले जो कसैको मनमा प्रभाव पार्न सफल छन् । लाग्छ दुःख र अभावसँग खेल्न सिकेको मानिस कहिल्यै जीवनसँग हार खाँदैन । ऊ जहिल्यै आफ्नै स्वाभिमानमा रमाउँछ भन्ने भावको एउटा मुक्तक–
दुःख र अभावले थिचिएको मानिस जहिल्यै बलियो हुन्छ
लाग्छ जीवनको पाठशालामा ऊ नै सबैभन्दा पहिलो हुन्छ
अभावको पहाड उक्लेर धेरै पटक सुस्केरा हालेको मान्छे
साँच्चै हेर्नुस् है साथी कालान्तरमा त्यो नै दरिलो हुन्छ ।

मानिसको यो चोला कहिले लामो लाग्छ एक युग नै जस्तो, कहिले क्षणभंगुर लाग्छ । युवावस्थामा आइपुग्दा बालकै बन्न मन लाग्ने । तर मन लाग्दैमा हुन्छ र ? समय हो, समय झरिरहेछ छायाँ बनेर ।

जब समयले थाहै नपाइ वृद्ध बनाउँछ तब अनुहार चाउरिन्छ, सेता अनार दानाजस्ता दाँत झरेर जान्छ । जवानीमा गरिने सबै दौडधूप गर्न सक्ने अवस्था रहँदैन । होस हराउँदै जान्छ । मनमा खिन्नता उत्पन्न हुन्छ । जीवन के रहेछ र ? भन्ने लाग्छ ।
जब दाँत खस्यो चाउरियो गाला अनि होस हरायो
मस्त जवानीका ती दौडधूप सबै जोश हरायो
यतिखेर सकियो जीवन लाग्छ भ्रममात्र बाँचिएछ
जीवनको अन्तिम पलमा आइपुग्दा सबै रोष हरायो ।

पृथ्वी गोलो छ । पृथ्वीले सूर्यको परिक्रमा गर्दै गर्दा ओझेल परेका ठाउँमा रात हुन्छ, नपरेका ठाउँमा दिन हुन्छ । आज दुःख छ भनेर शिथिल नबनौँ । भोलि समयचक्र घुम्दै घुम्दै सुखको दुबोमा पाइला टेक्न पुगिएला । तर यसो भन्दैमा हात बाँधेर बस्न त भएन नि । दैनिक क्रियाकलाप त गर्नैपर्छ । कर्ममा डटिरहनुपर्छ । मानव मन न हो स्वभावैले दुःख पर्दा चिन्तित हुन जान्छ ।
चिनीबिनाको खल्लो चिया नहोस् जिन्दगी
फलाममा लागेको त्यो खिया नहोस् जिन्दगी
तुसारोजस्तो दुःख शिरमा खसेर आएता पनि
हाँस्न सकियोस् छियाछिया नहोस् जिन्दगी ।

समग्रमा उनका मुक्तकका भाव गहन छन् । सामाजिक जनजीवनका भोगाइलाई लिएर नै रचिएका यी मुक्तक पढिरहँदा आनन्द आउँछ । सबै मुक्तक चतुष्पदीय संरचनाभित्रै पर्दछन् । हरेक वस्तुका, हरेक मान्छेका राम्रा–नराम्रा पक्ष हुन्छन् । गुण–अवगुण हुन्छन् । यस सङ्ग्रहमा पनि केही त्यस्ता पक्ष्रु छन्, नभइदिएका भए भन्ने लाग्छ ।

पहिलो खण्डमा रहेका ५० ओटा मुक्तक गहन भाव भए पनि केही मुक्तक फितला लाग्छन् । मुक्तकको पहिलो र दोस्रो पङ्क्ति अत्यन्त सबल छन् तेस्रो पंक्ति स्वतन्त्र हुन्छ । तर चौथो पंक्ति त्यति ओजिलो बन्न नसकेका केही मुक्तक छन् । कतै जबरजस्ती अनुप्रास मिलाएका जस्ता लाग्छन् ।

आगामी दिनहरुमा यसप्रति विचार पुर्‍याए मुक्तक अत्यन्त सुन्दर बन्नेछन् । मुक्तकमा विचार पक्ष पनि सबल हुनुपर्छ । थोरै मुद्राराक्षसी पनि भेटिए । कतै कतै नमिल्दो गरि हिन्दी/उर्दू शब्द पनि परेका छन् । मलाई लाग्छ नेपाली साहित्यमा सकेसम्म नेपाली भाषाको मात्रै प्रयोग गरौँ ।

यसले भाषाको पनि विकास गराउँछ । भाषाप्रति सचेतना पनि जगाउँछ । अन्तमा नेपाली मुक्तकको फूलबारीमा ‘पसिनाको आभा’ एउटा सुन्दर फूल भएर फुल्न सकेको छ । यसको सुवास अनन्तसम्म, चीरकालसम्म फैलिरहन सकोस् । असीम शुभकामना

तपाईको प्रतिक्रिया