पोखराका मुख्यचोकमा पार्किङ निषेध

समाधान संवाददाता २०७९ माघ १७ गते १०:३२

पोखरा ।

चल्तीका बजार र चोकहरुका सडकमा मोटरसाइकल र गाडीहरु पार्किङ गर्न पोखरा महानगरपालिकाले निषेधको निर्णय गरेको छ ।

महानगरपालिको उक्त निर्णयपछि अब मुख्य सहरी क्षेत्रको सडक (पृथ्वीचोक–सभागृहचोक–न्युरोड–बिपीचोक–चिप्लेढुंगा–महेन्द्रपुल–नयाँबजार–पृथ्वीचोक) का सडक किनारमा पार्किङ गर्न पाइने छैन ।

Advertisement

महानगरपालिकाको यातायात व्यवस्थापन समितिको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो । ‘सवारीको चाप वृद्धि भई आवागमनमा समेत प्रत्यक्ष असर परेको तथा सहरी सौन्दर्यीकरणमा पनि असर पर्न गएको हुँदा पार्किङ निषेध गर्ने निर्णय महागरपालिकाले गरेको हो । महानगरको यो निर्णय माघ २३ गते लागु हुने भनिएको छ ।

उल्लिखित स्थानको सडक क्षेत्रमा पूर्ण रूपमा पार्किङ निषेध गरिएको हुँदा तोकिएको क्षेत्रहरूमा मात्र पार्किङ व्यवस्थापन गर्न सम्पूर्ण सरोकारवालाहरूमा महानगरले सार्वजनिक सूचना जारी गरेको छ । ‘सूचनाको अवज्ञा गरी निषेधित क्षेत्रमा पार्किङ गरेमा नियमानुसार हुने व्यहोरा अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ ।

Advertisement

काठमाडौं महानगरपालिकाले पनि दरबारमार्ग लगायत मुख्य चोक तथा बजारमा पार्किङ निषेध गरिसकेको छ । पोखराले भने सडकमा पार्किङ शुल्क नलिने निर्णय कार्यान्वयनमा ल्याइसकेको छ ।

अन्डर ग्राउन्ड पार्किङ र मुख्य सडकका आसपासमा पार्किङ प्रयोजनका लागि सम्म्याइएका खाली जग्गाहरूमा पार्किङ गर्न सकिने पोखरा महानगरले जनाएको छ । ‘ती स्थानमा पार्किङ बापत महानगरपालिकाले तोकेको शुल्कभन्दा बढी शुल्क लिन पाइने छैन,’ महानगरले भनेको छ ।

तपाईको प्रतिक्रिया