पासपोर्टमा प्रिइनरोलमेन्ट

काठमाडौं ।
राहदानी विभागले सेवा सहज बनाउने उद्देश्यले १ महिनाको अग्रिम अनलाइन आवेदन अर्थात प्रि–इनरोलमेन्टको व्यवस्था गरेको छ । विभागले सूचना प्रकाशित गरी सोमबारदेखि दैनिक १ हजार ५ सयका दरले १ महिनाको प्रि–इनरोलमेन्ट हुने जनाएको छ ।
हाल २ देखि ३ दिनको मात्रै प्रि–इनरोलमेन्टको व्यवस्था रहेकामा अब १ महिनाको गर्न लागिएको विभागका निर्देशक तथा प्रवक्ता दुरपदा सापकोटाले जानकारी दिइन् ।
दुई, तीन दिनको मात्रै अग्रिम आवेदन हुँदा सेवाग्राहीलाई झन्झट भएको गुनासो आएपछि विभागले १ महिनाको योजना ल्याएको हो ।
यो व्यवस्थाबाट सेवाग्राहीले अहिले भोगिरहेको सास्ती र झन्झट कम हुने विभागले जनाएको छ । सोमबार प्रि–इनरोलमेन्ट गर्दा फागुन १५ सम्ममा समय पाइनेछ ।
विभागसहित विदेशमा रहेका कूटनीतिक नियोग, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालयले पनि १ महिनाको प्रि–इनरोलमेन्ट गराउने छन् ।
काठमाडाैं नजिकका जिल्लामा १० देखि १२ दिनभित्र, तराईका जिल्लामा १२ देखि १५ दिनभित्र, पहाडका सुगम जिल्लामा १५ देखि २० दिन, हिमाली जिल्लामा २० देखि ३० दिन र विदेशमा रहेका नेपाली नियोगमा २० देखि ३५ दिनभित्र राहदानी वितरण गरिने विभागले जनाएको छ ।
तपाईको प्रतिक्रिया