‘समुदायको हितका लागि सामुदायिक रेडियो’

पोखरा ।
सामुदायिक रेडियो प्रशारक संघ (अकोराब नेपाल) नेपाल गण्डकी प्रदेश समितिको पाँचौं वार्षिक साधारण सभा तथा प्रदेश भेला सोमबार भएको छ ।
सभाले सचिव रोशन तिवारीले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष शेखर थापाले पेश गरेको आर्थिक प्रतिवेदन सुधारसहित पारित गरेको प्रदेश अध्यक्ष गणेश श्रेष्ठले जानकारी दिए ।
भेलाले अकोराबको केन्द्रमा जस्तै गण्डकी प्रदेशमा समेत सामुदायिक रेडियो विपद् कोष स्थापना गर्ने निर्णय गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले साधारण सभाको उद्घाटन गर्दै प्रदेश सरकारले सुशासन प्रवद्र्धन र स्वच्छ प्रशासनका लागि काम गर्ने बताए ।
गण्डकी प्रदेशका १२ मन्त्रालयलाई झारेर ७ कायम गरेको जानकारी दिँदै उनले भन्नका लागि ७ मन्त्रालय भएता पनि काम गर्ने ६ मन्त्रालयमात्र रहेको उल्लेख गरे ।
उनले मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले समन्वय र सहकार्यमात्र गर्ने संकेत गरे । ‘सामुदायिक रेडियोले समुदायमा रहेका अन्ध विश्वास हटाउन तथा सचेतनामूलक गतिविधिमा योगदान पुर्याएका छन्,’ मुख्यमन्त्री अधिकारीले भने, ‘ती रेडियोले उत्पादन तथा प्रशारण गरेका कार्यक्रमले पुल पुलेसा निर्माण भन्दा पनि मानवीय विकासमा योगदान पुगेको छ ।’
पूर्व स्वास्थ्य मन्त्रीसमेत रहेका अधिकारीले संक्रामक तथा सरुवा रोगबाट आम मानिसलाई जोगाउने सञ्चार माध्यमको भूमिका रहने बताए । उनले साबुन पानीले हात धुन सिकाउँदासमेत धेरै मानिसको जीवन जोगिने चर्चा गरे ।
स्वास्थ्य मन्त्रालयको ५० प्रतिशत बजेटबाट गण्डकी प्रदेश चलाउनु परेको उदाहरण दिँदै उनले सामुदायिक रेडियो जस्तै गण्डकी प्रदेश समेत रुग्ण अवस्थामा रहेको उल्लेख गरे ।
मुख्यमन्त्री अधिकारीले साक्षरता र मानव विकास सूचकांकमा सुधार हुँदै गए प्राकृतिक तथा वित्त आयोगबाट पाउने अनुदान घट्दै जाने बताए ।
अकोराब नेपालका अध्यक्ष अर्जुन गिरीले गण्डकी प्रदेशले जारी गर्ने आम सञ्चार विधेयकलाई सञ्चारमैत्री तथा सर्वस्वीकार्य बनाउन सुझाव दिए ।
उनले ३ प्रदेश सरकारले निर्माण गरेको सञ्चार कानुन अन्योलग्रस्त भएको दाबी गरे । अध्यक्ष गिरीले लोकतन्त्रको बहाली, सामुदायिक सचेतना र विपत्तीमा सही सूचना प्रवाहमा रेडियोहरुको योगदान रहेको उल्लेख गरे ।
अकोराब नेपालका लेखा संयोजक डा भूमिराज चपागाईले देशभरीमा ३ सय ७२ सामुदायिक रेडियोमध्ये गण्डकीमा ४६ रेडियो सञ्चालित रहेको जनाए । उनले समुदायका सरोकारका विषय र सवाललाई उठाउनु रेडियोको मर्म र धर्म भएको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, ब्रोडकास्टिङ एसोसियसन अफ नेपाल (बान)का पूर्व उपाध्यक्ष रमेश पौडेल, सहरी योजना आयोग पोखराका उपाध्यक्ष डा रामचन्द्र लामिछाने, अकोराव नेपालका केन्द्रीय सदस्य रामनारायण सुवेदी, अकोराब नेपाल गण्डकी प्रदेश अध्यक्ष गणेश श्रेष्ठ, सचिव रोशन तिवारी, पत्रकार मीना गुरुङ लगायतले सामुदायिक रेडियोका सबालमा बोलेका थिए ।
तपाईको प्रतिक्रिया