अग्रज लोक दोहोरी स्रष्टा सम्मानित

समाधान संवाददाता २०७९ माघ १७ गते ११:०१

पोखरा ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकीको दोस्रो प्रदेश अधिवेशन तथा चौथो वार्षिक साधारणसभाको अवसरमा सोमबार अग्रज कलाकार तथा पत्रकारलाई सम्मान गरिएको छ ।

समारोहमा प्रतिष्ठानका पूर्व अध्यक्ष बद्री पंगेनीलाई अग्रज स्रष्टा सम्मान २०७९ प्रदान गरिएको छ । कलाकार सरिता गायकले स्थापना गरेको नरबहादुर परियार स्मृति कलाकारिता पुरस्कार २०७ ९बाट लमजुङ निवासी अग्रज गायिका सूर्यकुमारी गुरुङलाई सम्मान गरियो ।

कार्यक्रममा सिम गुरुङले स्थापना गरेको तीर्थसागर सुवेदी स्मृति पत्रकारिता पुरस्कार २०७९ एबिसी टेलिभिजन गण्डकीका ब्युरो प्रमुख एम्बी आस्थामगरलाई प्रदान गरिएको प्रतिष्ठान गण्डकीका अध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिए ।

समारोहमा बद्री केसी स्मृति कलाकारिता पुरस्कार स्याङ्जा निवासी लोक दोहोरी गायक प्रकाश पराजुलीलाई प्रदान गरिएको छ ।

शेरबहादुर विष्णुदेवी गुरुङ शिक्षा पुरस्कारबाट गीतकार डा शिव सुवेदीलाई सम्मान गरिएको छ । कार्यक्रममा उत्कृष्ट जिल्ला शाखाको उपाधि कास्कीले पाएको छ ।

Advertisement

प्रतिष्ठान गण्डकी प्रदेशका जिल्लाका अध्यक्षमध्ये गोरखाका निवर्तमान अध्यक्ष मिना गुरुङलाई उत्कृष्ट जिल्ला अध्यक्षको पुरस्कार प्रदान गरिएको छ ।

आजीवन सदस्य भीम भट्टराई, सल्लाहकार ईन्द्रधारा बिष्टलाई समेत सम्मान गरिएको अध्यक्ष गुरुङले बताए ।प्रदेशका जिल्लाहरुमा गोरखा प्रथम, पर्वत द्वितीय, स्याङजा तृतीय र तनहुँले सान्त्वना पुरस्कार पाएको छ ।

प्रतिष्ठान गण्डकी प्रदेशका कार्यसमिति सदस्यहरुमा उत्कृष्ट वर्ष महिलातर्फ दिलु लामा मोक्तान र पुरुषतर्फ सहसचिव रामजी पौडेललाई सम्मान गरिएको छ ।

कार्यक्रममा प्रतिष्ठान नेपालका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश संयोजक जीवन दाहाल, केन्द्रीय सदस्य शंकरविरही गुरुङलाई समेत दोसल्ला र सम्मानपत्र प्रदान गरियो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीले कलाकारले निरन्तर रुपमा साधाना स्तरीय गीत संगीत उत्पादनमा ध्यान दिनुपर्ने बताए ।

उनले नेपाली मौलिक लोक गीतले नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाएको उल्लेख गर्दै उनले लोक संस्कृति संरक्षणका लागि राज्यका निकायले ध्यान दिनुपर्ने विचार राखे ।

कार्यक्रममा पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकाल, प्रतिष्ठान नेपालका पूर्व केन्द्रीय अध्यक्ष तथा कलाकार कल्याणकारी कोषका अध्यक्ष प्रजापति पराजुली, प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष तथा कलाकार कल्याणकारी कोषका उपाध्यक्ष पुरुषोत्तम न्यौपाने, प्रतिष्ठान नेपालका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश संयोजक जीवन दाहाल, केन्द्रीय सदस्य शंकरविरही गुरुङ, गण्डकी प्रदेशका संरक्षक यमबहादुर गुरुङ, अध्यक्ष सुरेन्द्र गुरुङ, वरिष्ठ उपाध्यक्ष पूर्ण परियार, सचिव राजन कार्की, प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिका अध्यक्ष अर्जुन थापा, प्रतिष्ठान नेपाल लमजुङका अध्यक्ष अनुज अधिकारी लगायतले लोक संस्कृतिको जगेर्ना गर्नुपर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया