सशक्तीकरणका लागि सचेतनाः उपप्रमुख गुरुङ

समाधान संवाददाता २०७९ माघ १७ गते १२:४३

पोखरा ।
पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले महानगरपालिकाको समग्र विकास हुनुपर्नेमा जोड दिएकी छन् ।

पोखरा १५ ले सोमबार आयोजना गरेको महिलाको सशक्तीकरण एवं क्षमता अभिवृद्धि कार्यक्रममा उनले महानगरभित्र भौतिक पूर्वाधारसँगै मानवीय र सामाजिक विकास हुनुपर्नेमा जोड दिएकी हुन् ।

‘सडक, पुल, भवन निर्माणमात्रै होइन; महिला, ज्येष्ठ नागरिक, बालबालिका लगायत सामाजिक क्षेत्रको विकास पनि अनिवार्य छ ।’

Advertisement

उपप्रमुख गुरुङले महिला राजनीतिक, सामाजिक, व्यावसायिक लगायत सबै क्षेत्रमा स्थापित हुनुपर्ने उल्लेख गरिन् ।

नेपालमा भएका अधिकार प्राप्तिका आन्दोलनमा महिलाको भूमिका महत्वपूर्ण रहेको बताउँदै उनले तीनै आन्दोलनबाट संविधानमा महिलाका धेरै अधिकार लेखिएको सुनाइन् ।

Advertisement

‘संविधानमा धेरै अधिकार लेखिएका छन्,’ उनले भनिन्, ‘संविधानमा के के अधिकार लेखिएका छन् भन्ने विषयमा जानकारी पाउनुपर्छ । आफना अधिकारका विषयमा जानकारी भएपछि मात्रै राजनीतिक र सामाजिक रुपमा स्थापित हुन सहज हुन्छ ।’

महिलालाई सामाजिक, राजनीतिक, व्यावसायिक, शैक्षिक रुपमा स्थापित गराउने कुरा भाषण र नाराले मात्रै नहुने उल्लेख गर्दै उनले कार्ययोजना, प्रशिक्षण र क्षमता अभिवृद्धि हुनुपर्ने जनाइन् ।

उपप्रमुख गुरुङले महिला सबल र सक्षम हुन आर्थिक रुपमा बलियो हुनुपर्ने र त्यसका लागि आर्यआर्जनसँग जोडिनुपर्ने तर्क गरिन् ।

महिलालाई आर्थिक रुपमा सबल र सक्षम बताउन महानगरले उपप्रमुसँग महिला कार्यक्रम सञ्चालन गरिरहेको छ ।

आर्थिक अभावमा केही गर्छु भन्ने महिलाका लागि सस्तो ब्याजमा कर्जा उपलब्ध गराउने कार्यक्रम सञ्चालन भएको उनको भनाइ छ ।

उनले महिला हिंसा न्यूनीकरण गर्न महिला पुरुष समसचेतना कार्यक्रम र महिला सहायता कक्ष सञ्चालन गरिरहेको जनाइन् ।

पोखरा १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले पूर्वाधार विकाससँगै मानवीय विकास हुनुपर्नेमा जोड दिए ।

३ दिनसम्म सञ्चालन हुने तालिमको उद्घाटन शत्र महानगर कार्यपालिका सदस्य मन्दिरा गौतमको अध्यक्षतामा भएको थियो । तालिममा सुष्मा पौडेल र हसिना बस्नेतले सजीकरण गर्ने छन् ।

तपाईको प्रतिक्रिया