दूधको मूल्य बढाउन कस्केली किसानको माग

समाधान संवाददाता २०७९ माघ १७ गते १६:२९

पोखरा ।
कास्कीका दुग्ध उत्पादक किसानहरुले दूधको मूल्य बढाउन माग गरेका छन् । दाना, घाँस, औषधी उपचार, गोठ व्यवस्थापन जस्ता कारणले गाईभैंसी पाल्न महंगो हुँदै गएकाले उनीहरुले दूधको मूल्य बढाउन माग गरेका हुन् ।

Advertisement

सप्तगण्डकी दुग्ध उत्पादक सहकारी संघ र कास्की जिल्ला सहकारीद्वारा सञ्चालित दुग्ध प्रशोधन केन्द्रमा आबद्ध सहकारीका प्रतिनिधिहरुले मंगलबार बैठक नै बसेर दूधको मूल्य बढाउन केन्द्र सरकारसँग माग गरेका हुन् ।

३५ वटा सहकारी आबद्ध सप्तगण्डकी दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष एवं सहकारी अभियन्ता पुण्य पौडेलले किसानहरु सारै नै मारमा परेकाले सरकार गुहार्नु परेको बताउँछन् ।

उनले भने, ‘बजारले जथाभावी दूधको मूल्य तोक्ने होइन, यसको अधिकार केन्द्र सरकारलाई छ, किसान असाध्यै अप्ठेरोमा परेकाले हामीले यो निर्णय गरेका हौं ।’

सहकारीमा दूध बेच्ने किसानले अहिले लिटरको ५६ रुपैयाँ मात्रै पाउँछन् । जबकि मोटामोटी हिसाव गर्दा उत्पादन लागत नै ७० पुग्छ । त्यसैले किसानले ७० रुपैयाँ पाउने गरी मूल्य वृद्धिका लागि अनुरोध गरिएको पौडेलको भनाइ छ ।

Advertisement

अहिले किसानबाट ५६ रुपैयाँमा किनेको दूध सहकारीले प्रशोधन गरेर ८३ रुपैयाँमा बेच्ने गरेको छ । किसानको माग अनुसार मूल्य वृद्धि हुने हो भने अब उपभोक्ताले प्रशोधित दूधका लागि प्रतिलिटर १ सय रुपैयाँ हाराहारीमा तिर्नुपर्छ । यसो गर्दा किसानलाई ७५ र उद्योगलाई २५ प्रतिशत जति पर्न आउँछ ।

कास्की जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष छवि लामिछाने दुग्ध उत्पादक किसानलाई टिकाउने हो भने सरकारले उत्पादनका आधारमा अनुदानको व्यवस्था गर्नुपर्ने बताउँछन् ।

अहिले ८३ रुपैयाँको दूधलाई सय रुपैयाँमा बेच्ने गरी मूल्य बढाउँदा उपभोक्ता पनि मारमा पर्ने भएकाले किसानलाई लिटरको कम्तीमा ४ रुपैयाँका दरले अनुदान दिन सकेमा प्रभावकारी हुने उनको सुझाव छ ।

काठमाडौंका निजी डेरी उद्योगहरुले पुस १६ गतेबाट दूधको मूल्य बढाएका थिए । काठमाडौंमा दूधको मूल्य प्रति लिटर ८६ रहेकामा बढाएर सय रुपैयाँ पुर्‍याइएको भए पनि सरकार र उपभोक्ताको दबाबपछि पुरानै मूल्य अर्थात् ८६ रुपैयाँ प्रति लिटर नै कायम भएको छ ।

बढेको मूल्य २ दिनपछि फिर्ता भएको थियो । पोखराका निजी डेरी उद्योगले पनि त्यसै अनुसार मूल्य बढाएर पछि फिर्ता भएका थिए । राष्ट्रिय दुग्ध विकास नीति २०७८ ले प्रत्येक २ वर्षमा मात्रै दूधको मूल्य तोक्न पाउने व्यवस्था गरेको छ ।

त्यही नीतिलाई अवलम्बन गर्दै २०७८ माघ १७ गते राष्ट्रिय दुग्ध विकास बोर्डको सिफारिसमा नेपाल सरकारले दूधको मूल्य तोकेको थियो । त्यसअघि दूधको मूल्य प्रति लिटर ६० रुपैयाँ थियो ।

तपाईको प्रतिक्रिया