पोखरा विमान दुर्घटनाको परकम्प: हवाई यात्रु आधा घटे

सञ्जय रानाभाट २०७९ माघ १९ गते १०:२५

सञ्जय रानाभाट, पोखरा ।
‘पोखराबाट काठमाडौं जाने काम परेपछि मैले बुद्ध एयरको टिकट काटेँ । टिकट बिहान ९ बजेर ४० मिनेटको थियो । तर, फ्लाइटको अघिल्लो दिन मलाई एयरलायन्सबाट फोन आयो—तपाईंको टिकट १० बजेर २५ मिनेटमा सिफ्ट भएको छ,’ पोखराबाट काठमाडौं प्लेनमा पुगेर पुनः पोखरा फर्केका प्रमेश ज्ञवालीले भने, ‘दुइटा फ्लाइटका यात्रुलाई एउटै समयमा उडाउँदा पनि यात्रु आधामात्र थिए, ‘मैले पोखरा फर्कन बुद्ध एयरकै टिकट काटेको थिएँ ।

फर्केर आउँदा पनि ११ः५ को फ्लाइट, १२ः५ को फ्लाइट र १२ः१० बजेको समयमा बोर्डिङ पास लिएकाहरूलाई एउटैमा हालेर पोखरा ल्याउँदा पनि जहाजमा आधामात्र यात्रु थिए ।’ बुद्ध एयरको विमान मात्र हैन, अहिले पोखरा आउने र फर्कने जहाजहरू प्राय खालीखाली छन् ।

पोखरा महानगरपालिका वडा नम्बर १४ स्थित अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको १ महिना पूरा भइसकेको छ । यो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भएको छैन । आन्तरिक उडान भने भइरहेको छ । तर, आजभोलि आन्तरिक उडानमा चाप छैन ।

Advertisement

विमानस्थल सञ्चालनमा आएको १३/१४ दिनसम्म यात्रु खचाखच रहे पनि आजभोलि यात्रु संख्या नपुग्दा फ्लाइट संख्या खुम्चिएको छ । यात्रु संख्या नपुग्दा ३ वटासम्म फ्लाइटलाई मर्ज गरेर एउटै फ्लाइट बनाएर उडान गरिएको छ ।

माघ १ गते पोखराबाट ४८ वटासम्म आन्तरिक उडान भएको थियो । पोखराबाट १८ गतेसम्म आइपुग्दा उडान संख्या आधामा खुम्चिएको छ । यात्रु घटेपछि वायुसेवा कम्पनीहरूले भाडासमेत घटाएका छन् ।

Advertisement

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान अझै अनिश्चित

पार्किङमा यात्रु कुर्ने ट्याक्सीको संख्यादेखि आवतजावत गर्ने संख्यामा कमी आएको छ । यस्तो परिदृश्य आउनुमा माघ १ मा यती एयरलाइन्सको एटिआर जहाज दुर्घटना हो । विमानस्थलको तथ्यांकले पनि पोखरामा जहाजबाट यात्रा गर्नेको संख्या घटेको देखाएको छ । दुर्घटनाअघि पोखराबाट प्रतिदिन ४८ वटासम्म उडान (दोहोरो) हुने गरेको विमानस्थल सञ्चालन प्रमुख एवं प्रमुख विक्रम गौतमले बताए ।

‘यो पर्यटक आउने सिजन पनि होइन । तर, विमान दुर्घटनाले पनि यात्रुहरू घटेको सत्य हो । मानिसमा मनोवैज्ञानिक असर परेर होला पनि यात्रुको संख्या पहिलेको तुलनामा कम छ,’ प्रमुख गौतमले भने ।पोखराबाट कुनै दिन ४ हजार यात्रुसम्म आवतजावत गरेको विमानस्थलको रेकर्ड छ । बुद्ध एयरको मात्र १७ वटा फ्लाइट हुन्थ्यो । ‘सोमबार विमानमार्फत पोखरा भित्रने र बाहिरिने यात्रुको संख्या १३ सय थियो । यो संख्या निरन्तर वृद्धि होला,’ प्रमुख गौतमले भने ।

माघ १ गते अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको दिन २६ सय यात्रुले यो विमानस्थल हुँदै यात्रा गरेका थिए । विमान दुर्घटनापछि १५ सयभन्दा माथि यात्रुको संख्या पुग्न सकेको छैन । ‘अहिले त क्रमिक सुधार भइरहेको छ । अझै केही दिनअघि ९ सय ८० यात्रु पुगेको रेकर्ड छ,’ गौतमले भने ।

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको १५ दिनमै सेती खोंचमा यती एयरको विमान दुर्घटना पर्‍यो । ४ चालक दलसहित ६८ यात्रु गरी ७२ जना सवार यती एयरलायन्सको विमान दुर्घनापछि पोखरामा मात्र हैन, देशभरि नै हवाई यात्रु घटेको नागरिक उड्डयन प्राधिकरणको तथ्यांकमा देखिन्छ । दुर्घटनापछि पर्यटक बस, जिप यात्रुको चाप बढेको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाट्टा) गण्डकीका अध्यक्ष हरिराम अधिकारीले बताए । उनका अनुसार काठमाडौं—पोखरा आवतजावत गर्ने यात्रुको संख्या वृद्धि भएको हो ।

अन्तर्राष्ट्रिय उडान पनि अनिश्चित
नागरिक उड्डयन प्राधिकरण (क्यान) ले पोखराबाट फेब्रुअरी २३ मा अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा गरेको थियो । तर, उडान हुने दिन नजिकिँदा पनि यसका लागि क्यानमा हालसम्म कुनै पनि एयरलाइन्सले अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने अनुमति लिएका छैनन् ।

दुर्घटनापछि पोखराबाट जोमसोम, भरतपुर, भैरहवा, नेपालगन्जको उडानसमेत हुन नसकेको विमानस्थल प्रमुख विक्रम गौतम बताए । ‘मनाङ र बागलुङ एयरपोर्ट किन चलेनन् भन्दा बिजनेस दिन नसकेर नै हो । सबैले एयरलाइन्सले आफ्नो बिजनेस सर्भाइभ होस् भन्ने लक्ष्य राखेको हुन्छ । तर यात्रु नै नहुँदा त कति दिन चलाउने भन्ने हो,’ गौतमले भने ।

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने सेवा सुविधासँगै इन्फ्रास्ट्रक्चर बनिसकेको भए पनि अहिलेसम्म कुनै एयरलाइन्सले अनुमति पाएका छैनन् । ‘यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भर्न सम्पूर्ण तयारी भइसकेको छ । तर, यसको प्रमोसन भएन,’ गौतमले भने । विश्वसामु लिए जाँदा बिजनेससँगै फ्यासिलिटी दिनुपर्ने उनको भनाइ छ ।

‘अन्तर्राष्ट्रिय उडान गर्न ‘एआइपी’ गरिसकेको छौं उहाँहरुले बुझदै हुनुहुन्छ होला १ कस्ता पार्किङ छ । कति रनवे छन्, कतिवटा ट्याक्सी वे छन् । टर्मिनल फ्यासलिटी कति छ । त्यो विश्वले हेर्छ अनि उडान गर्ने नगर्ने उहाँहरुको हातमा छ,’ गौतमले भने, ‘एयरलाइन्सले इन्टेस्ट राखे पनि प्यासेन्जरको लोड हेरिन्छ । प्यासेन्जर कार्गो र मेल त्यो लोड कति छ भनेर मूल्यांकन हुन्छ र फाइदा हुने अवस्था रह्यो भने मात्र उडान हुन्छ ।’

यसअघि पोखराबाट जजिरा, फ्लाई दुबही, कतार र बुद्ध एयरले अन्तर्राष्ट्रिय उडान गर्ने जनाए पनि टुंगोमा पुगेका छैनन् । पोखरा विमानस्थलबाट बुद्ध एयरले भारतका तीन गन्तव्य पोखरा–बनारस–पोखरा, पोखरा–दिल्ली–पोखरा र पोखरा–देहरादुन–पोखरा उडान गर्ने योजना बनाएको छ । तर, भारतका यी विमानस्थलबाट अनुमति पाइसकेको छैन । छिमेकी देश भारतबाट समेत अनुमति प्राप्त नहुँदा उडान अनिश्चित भएको हो ।
……..
आन्तरिक उडान राम्रोसँग चले सजिलै भायबल हुन्छः रामेश्वर खनाल, पूर्व सचिव
एउटा व्यक्ति जीवनकालमा कहीँ घुम्न जान खोज्छ भने त्यो पोखरा नै हो । अझ पोखरा विमानस्थलको कनेक्टिभिटी धनगढी, महेन्द्रनगर, चन्द्रगढीसम्म विकास भयो भने राम्रो । नेपाली पर्यटककै कारणले पनि पोखरा विमानस्थल सजिलै ‘भायबल’ हुन्छ ।

अहिले पनि पोखराको विमानस्थल ‘ब्रेक इभन’ भन्दा माथि रहेको डाटाहरु छन् । यदि यो सत्य हो र विमानस्थल चल्यो भने, ‘रफ्ली’ एक वर्षको १ अर्ब जतिको नेट इन्कम यो विमानस्थलले गर्छ ।

त्यो भन्नुको तात्पर्य विमानस्थल बनाउँदा लागेको २२/२३ अर्बको लागत ८/९ वर्षमा रिकभर हुन्छ । नेट पर्फिट भन्ने बित्तिकै डिप्रिसेसन त चार्ज गरिसकेको हुन्छ । यस कारण विमानस्थल बनाउन ओभर इन्भेस्टमेन्ट भएको वा हाम्रो सामथ्र्य भन्दा बढी भएको कसैले भन्छ भने तथ्यहरूले यसलाई पुष्टि गर्दैन ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया