बिक्न छाडे रैथाने स्याउका बिरुवा

रैथाने जातको स्याउ बिरुवाले उत्पादन दिन समय लाग्ने भए पनि उत्पादन क्षमता राम्रो र दीर्घकालीन हुने

सुन्दरकुमार थकाली २०७९ माघ १९ गते १०:३२

जोमसोम ।
स्याउ उत्पादनमा प्रसिद्ध मुस्ताङमा पछिल्लो समय स्थानीय जातका स्याउका विरुवा बिक्री हुन छाडेका छन् । मुस्ताङका स्थानीय किसानमा उच्च घनत्व प्रविधिमा आधारित स्याउ खेतीतर्फ बढ्दो आर्कषण देखिएपछि रैथाने स्याउका विरुवा बिक्री हुन छाडेका हुन् ।

५ वर्षअघि मुस्ताङको मार्फा स्थित शीतोष्ण बागवानी विकास केन्द्रले लक्ष्य अनुसारका रैथाने स्याउका विरुवा बिक्री गर्ने गथ्र्यो । तर, पछिल्लो समय केन्द्रमा लक्ष्यको आधा पनि रैथाने स्याउका विरुवा माग हुँदैनन् ।

शीतोष्ण बागवानी विकास केन्द्र मार्फाले बिक्री वितरण गर्ने शीतोष्ण फलफूलका विरुवाको वासलात बर्सेनि राष्ट्रिय फलफूल विकास केन्द्र काठमाडौंले बनाउने र बिक्रीको समयमा केन्द्रमा पठाउने गर्छ ।

Advertisement

पछिल्ला २, ३ वर्षयता माग कम भएका कारण लक्ष्य अनुसारका स्याउका विरुवा बिक्री हुन कठिनाई भएको केन्द्रका केन्द्र प्रमुख पद्मनाथ आत्रेयले बताए । चालु वर्ष केन्द्रले १५ हजार रैथाने स्याउका विरुवा उत्पादन गरे पनि राष्ट्रिय फलफूल विकास केन्द्रबाट करिब ३ हजार र जिल्लामा आशिंक मात्र विरुवाको माग भएको केन्द्र प्रमुख आत्रेयको भनाइ छ ।

शीतोष्ण बागवानी विकास केन्द्रको कुल ९ दशमलव ८ हेक्टर जमिनमा शीतोष्ण फलफूल र तिनका गुणस्तरीय विरुवा, तरकारी वीउ र ताजा तरकारी उत्पादन हुँदै आएको छ । केन्द्रले स्याउ, नासपाती, अंगुर, आरु, आरुबखडा, खुर्पानी, कागजी बदाम र ओखरका विरुवा उत्पादन र बिक्री, वितरण गर्छ ।

Advertisement

केन्द्रमा ४२ प्रजातिका स्याउ भए पनि व्यवसायिक रुपमा रैथाने जातका रेड डेलिसियस, रोयल डेलिसियस, रिचारेड डेलिसियस, फुजी र गोल्डेन डेलिसियस जातका स्याउका विरुवा उत्पादन र बिक्री वितरण गर्ने गरिएको छ । स्याउ फल्ने मनाङ, सोलुखुम्बु, हुम्ला, डोल्पा, कालिकोट, जुम्ला, मुगु लगायतका जिल्लामा कृषकले उच्च घनत्व प्रविधिमा आधारित स्याउ बिरुवा लगाउन थालेपछि परम्परागत रैथाने जातका स्याउका विरुवाको माग घटेको हो ।

मुस्ताङको हावापानीमा आयात गरिएका उच्च घनत्वका स्याउका जातमा आवश्यक अध्ययन अनुसन्धान नहुँदै जथाभावी आयात गरी बिक्री वितरण गर्नाले भविष्यमा यसले ठूलो समस्या ल्याउन सक्ने केन्द्र प्रमुख आत्रेयले उल्लेख गरे । नेपाल कृषि अनुसन्धान परिषद, कृषि विभाग र कृषि विश्वविद्यालयले समयमै ढिला नगरी यससम्बन्धी अध्ययन, अनुसन्धान गर्नुपर्ने उनको भनाइ छ ।

शीतोष्ण वागवानी केन्द्रमा गत आवदेखि तन्तु प्रजनन् प्रयोगशाला स्थापना गरी सञ्चालनमा आइसकेको छ । माउन्ड लेयरिङ गरेर पनि रुटस्टक उत्पादन गर्ने परीक्षण भइरहेको छ । उच्च घनत्वको हाइचिलिङ भेराइटीका स्याउका विरुवालाई प्रजाति पहिचान गरेर व्यवस्थापन गर्नुपर्ने उनले जनाए । ‘परम्परागत रुपमा लगाइएका स्याउका जात र प्रविधि नराम्रा होइनन्,’ उनले भने, ‘यसलाई उचित व्यवस्थापन गर्दै उच्च घनत्वमा स्याउ खेतीसम्बन्धी अनुसन्धानबाट प्राप्त नतिजालाई अवलम्बन गर्दै अगाडि बढ्नुपर्ने हुन्छ ।’

रैथाने बिरुवा केन्द्रले प्रतिगोटा ७० रुपैयाँमा बिक्री गर्ने गरेको छ । केन्द्र प्रमुख आत्रेयले रैथाने जातको स्याउ बिरुवाले उत्पादन दिन समय लाग्ने भए पनि उत्पादन क्षमता राम्रो र दीर्घकालीन हुने उल्लेख गरे । मुस्ताङको टुकुचे स्थित शेर्पा नर्सरीले पनि रैथाने स्याउका बिरुवा उत्पादन गरेकोमा त्यहाँ पनि रैथान स्याउका बिरुवा बिक्री हुन छोडेको प्रोपाइटर राजन शेर्पाले बताए ।

मनाङमा मनाङ एग्रो फार्मले पहिलो पटक उच्चघनत्व प्रविधिमा आधारित स्याउ खेती सुरु गरेको थियो । ३ वर्षअघि यो खेती मुस्ताङमा परीक्षणको रुपमा सुरुवात भएको थियो । लगाएको दोस्रो वर्षमै फल दिने भएकाले मुस्ताङका किसानले रैथान स्याउ छोडेर उच्च घनत्वको स्याउका विरुवा लगाउन थालेका हुन् । पछिल्लो समय मुस्ताङका किसानले खेर गएको जग्गामा सामूहिक र व्यक्तिगत रुपमा उच्च घनत्वका विरुवा लगाएका छन् ।

कृषि ज्ञान केन्द्र मुस्ताङले बर्सेनि स्याउका विरुवा अनुदानमा उपलब्ध गराउँदै आएको छ । यद्यपि विरुवामा अनुदान हुने भए पनि यहाँका अधिकांश किसानले उच्च घनत्वको स्याउ विरुवा माग गर्ने गरेको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिए । केन्द्रले ७५ प्रतिशतसम्म अनुदान दिएर विरुवा उपलब्ध गराउन गरेको छ ।

मुस्ताङमा पछिल्लो ३ वर्षयता संघ, प्रदेश र स्थानीय तहले करिब ७० हजारभन्दा बढी उच्च घनत्वको विरुवा अनुदानमा वितरण गरिसकेको केन्द्र प्रमुख बस्ताकोटीले उल्लेख गरे । १ उच्च घनत्वको स्याउ बेर्नाले औसत २० केजीदेखि २५ केजीसम्म उत्पादन दिन्छ । उच्च घनत्वको बेर्ना लगाइएको २५ वर्षसम्म बर्सेनि उत्पादन दिन्छ । १ हेक्टरमा लगाइएको विरुवामा बर्सेनि ४० टनसम्म स्याउ फल्छ । १ हेक्टरमा ३ हजार विरुवा रोप्न सकिन्छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया