सम्पादकीयः किसानमा निराशा किन ?

समाधान संवाददाता २०७९ माघ १९ गते १२:००

कृषिप्रधान देश नेपालका किसान नै निराश छन् । निराश किसान र उत्पादनको अगोगतिका कारण देश परानिर्भर बन्दै गएको छ । नेपालमा किसानले मल अभाव झेल्ने कुरासामान्य भइसकेको छ । प्रत्येक वर्ष मलको अभाव झेल्दै आएका किसानलाई तीनै तहका सरकारले आगामी वर्षदेखि मल अभाव हुन दिंदैनौं, समयमा मलको व्यवस्था गर्नेछौं भनेर आश्वस्त पार्दै आएका छन् ।

तर आगामी वर्ष फेरि उही नियति दोहोरिने गरेको छ । कृषि कर्म गर्नेहरू यसै पनि नेपालमा कम हुँदै छन् । दैनिक सयौं युवा विदेश उडिरहेका छन् । देशको कृषि कार्य बूढापाका, महिलाको भरमा टिकेको छ । नेपालमा अहिले धेरै ठाउँमा व्यावसायिक कृषि खेती हुन सकेको छैन । व्यावसायिक कृषि खेती हुन नसक्नुका धेरै कारण छन् । विदेशबाट फर्केका केहीले मात्र व्यावसायिक कृषि खेती गरिरहेका छन् । विदेशिनेमध्ये एक प्रतिशत पनि स्वदेश फर्किदैन् ।

अध्ययन भिसादेखि ज्याला मजदूरीमा जाने मानिस विदेशमा नै दुःख–सुख गरी बसेका छन् । यसको कारण नखोजी देशले निकास पाउँदैन । नेपालमा रोजगारको समुचित व्यवस्था नभएको, रोजगार पाइहाले पनि उचित पारिश्रमिक नपाउने र विदेशमा यहाँको तुलनामा श्रम गरेबापत बढी पारिश्रमिक पाउनाले युवाशक्ति विदेश पलायनमा रुचि देखाउँछ । युवाशक्तिको अभावमा नेपालको कृषि कर्म पछाडि परेको कुरालाई नकार्न सकिन्न ।

Advertisement

कृषि कर्मबाट कमाउनेको संख्या औंला गन्न सकिनेछ । कृषकलाई लगानी अनुसारको मुनाफा नहुने, कृषि कर्म गर्दा अचाक्ली दुःख–पीडा सहनुपर्ने जस्ता कार्यले कतिपय किसान पेशाबाट पलायन भइरहेका छन् । खेतीपातीका लागि आवश्यक मजदूर पाउन मृुश्किल हुँदै गएको छ । आपसी साझेदारीमा कृषि कर्म गरिंदैछ । किसानले सही ढंगबाट उत्पादन गर्ने वातावरण बनाउनेतर्फ संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारको कामयावी योजना देखिँदैन ।

आइपर्ने समस्याबाट भाग्ने, अनि ठूला भाषणबाजी गर्नेबाहेक जनप्रतिनिधिको काम देखिएको छैन । कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कम्पनीले सहकारीमार्फत किसानसम्म पुर्‍याउने मल सही ढंगबाट परिचालन भएको छ, छैन भन्ने मात्रको चासो राखिदिने हो भने किसानसम्म सहज ढंगले मल पुग्छ ।

Advertisement

कम्पनीमा आएको मल सहकारीले कसरी पाउँछन् र सहकारीहरूले पाएका मल किसानहरूलाई कसरी वितरण गरिरहेका छन् भन्नेसम्मको खोजखबर नगर्दा अहिले आएको मल किसानसम्म सहजरूपमा पुग्न सकेको छैन । यो कुरामा जनप्रतिनिधिले चासो देखाउने हो भने मलको समस्यामा केही हदसम्म समाधान हुन सक्ने आशा गर्न सकिन्छ । कृषिमा टाठाबाठाले सुविधा, अनुदान पाउने तर काम गर्ने वास्तविक किसानले केही नपाउने अवस्था छँदै छ । उत्पादनमा आधारित सहुलियत र सरकारी प्रोत्साहनबिना केहीमा युवा आकर्षण हुने अवस्था देखिँदैन ।

तपाईको प्रतिक्रिया