विक्षिप्त कांग्रेस र लजाएको लोकतन्त्र

बिबी श्रेष्ठ २०७९ माघ १९ गते १२:३४

बिबी श्रेष्ठ ।
नेपाली कांग्रेसको महाधिवेशनबाट नै ढोक्सा थापेर बसेका रामचन्द्र पौडेल अहिलेको सन्र्दभमा सबैभन्दा विक्षिप्त व्यक्ति हुन् । महाधिवेशनअघिसम्म सभापति शेरबहादुर देउवाका चर्को आलोचक पौडेल देउवाको राष्ट्रपति बनाउने आश्वासनले देउवाको छाँयासमेत बने ।

आफनो निर्वाचनमा क्षेत्रमा तत्कालीन नेकपा एमालेका उम्मेदवार कृष्णकुमार श्रेष्ठ किसान सँग संसदीय निर्वाचनमा हार वेहोरेर विक्षिप्त बनेका पौडेल गठबन्धन गरेर जसरी पनि जित्ने र सके प्रधानमन्त्री नभए राष्ट्रपति बन्ने सपनामा पुस १० को घटनापछि तुषारापात भयो ।

महाधिवेशनमा देउवालाई समर्थन गरेरमात्र पद प्राप्ति गर्न सकिन्छ भन्ने मनसाय पालेर गठबन्धनको नारा अलापेका पौडेल गठवन्धनका संयोजकसमेत बने । त्यसको एउटै उद्देश्य भनेकोसासंद जित्ने र प्रधानमन्त्री बन्ने, त्यो पनि नपाए राष्ट्रपति बन्ने थियो । त्यही धोकोलाई पूरा गर्न महाधिवेशनमा प्रतिष्पर्धीसमेत नबनेर देउवाका सारथि बने ।

Advertisement

जसको परिणाम देउवा सभापति पनि बने । सधै परिवर्तन र शुसासनको नारा ओराल्ने पौडेल पदका लागि देउवाका सबैभन्दा नजिकका विश्वास पात्र बने । यदि महाधिवेशनमा पौडेलले शेखर कोइरालाको समर्थन गरेका भए शेखर नै सभापति बन्ने थिए । तर पदका लागि पौडेलले नेपाली कांग्रेसको मात्र होइन, आम जनताको पक्षमा, परिवर्तनका पक्षमा बाधक बनेका छन् । सत्य यही हो ।

विश्वासको मत दिने, प्रतिपक्ष पनि हो भन्ने अभिव्यक्तिले कांग्रेसलाई जनस्तरबाट नै गिराएको छ

Advertisement

संसदीय निर्वाचनमा समेत पौडेलले देउवालाई समर्थन गरी परिवर्तनका वाधक बने । अनुकूलताका लागी परिवर्तनका नारा ओकल्ने पौडेल पदलोलुपताका लागि गरिएको देउवासँग गरिएको साँठगाँठमा आम जनता अनभिज्ञ छैनन् । उनी गठबन्धनको संयोजक वनेर माओवादी केन्द्रलाई घाटा लागेता पनि नेपाली कांग्रेसलाई भने फाइदा पुगेको छ ।

एकचोटी जितेर मर्ने चाहना व्यक्त गरेका पौडेलले यस पटक तनहुँ क्षेत्र नं १ बाट सांसद बने । आफनै सरकार रहेको र गठवन्धनबाट बनेको सरकार फेरि पनि आफनै बन्नेमा आशावादी बनेको नेपाली कांग्रेस र पौडेल भने पुस १० को घटनाक्रमले तिरिमिरी बनेका छन् । फेरि पनि ठूलो दलको नेताका हैसियतले आफैं प्रधानमन्त्री बन्ने र गठबन्धन कुनै पनि हालतमा नटुट्ने विश्वासमा रहेको नेपाली कांग्रेस एकाएक एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेपछि रनाहामा छ ।

पुस १० पछिको घटनाक्रमले राष्ट्रिय राजनीतिमा तरंग ल्याईदियो । गठबन्धनको सरकार बन्ने र पुनः सत्ता र शक्ति दोहन गर्न पाइने आशामा बसेकाहरु वाम गठबन्धनको सरकार बनेपछि आहत बने । स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकारदेखि विभिन्न राजनीतिक नियुक्ति र संवैधानिक परिषदमा रहेका नेपाली कांग्रेसका कार्यकर्ता एकाएक पदबाट मुक्त हुनपरेपछि आक्रोशित बने । त्यसैको परिणाम देउवाको राजीनामादेखि विशेष अधिवेशनको हल्लाले बजार ततायो ।

देउवाको छाँया बनेका पौडेल पनि पार्टीको सरकारमा पहुँच गुमेपछि देउवाप्रति आक्रोशित बने । सार्वजनिक मञ्चमा नै देउवाको आलोचना भयो । राजनीतिक खेलमा माहिर देउवा पनि केन्द्रिय समितिमा आफनो व्यापक विरोध हुने देखेर प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेर विरोधलाई मत्थर बनाउन सफल बने ।

एकातिर आफनो विरोधको स्वर मत्थर हुने र अर्कोतर्फ प्रचण्डलाई ललिपप देखाएर पुनः सत्तासिन बनाउने अभिप्रायले चालिएको नेपाली कांग्रेसको कदमले अन्ततः लोकतन्त्र र संसदमा विपक्षी दलको नेताको हैसियतमाथि नै प्रश्न उठ्यो ।
प्रचण्डलाई विश्वासको मत दिएर फकाउने र एमालेलाई एक्लाउने अभिप्राय स्वरुप प्रदेशसभादेखि एमालेले उठाएका उम्मेदवार उठेको ठाँउमा आफनो उम्मेदवार उठाएर एमालेसँग बदला लिने मोडमा छ कांग्रेस ।

जसले गर्दा प्रचण्ड पुन फर्कनेछ भन्ने आशा देउवा र विशेष गरी पौडेललाई छ । माओवादीका उम्मेदवारलाई सर्वसम्मत बनाउने अभियान यसैको प्रारुप हो । हालै भएको प्रतिनिधिसभाको सभामुखको निर्वाचनमा कांग्रेसले आफनो उम्मेदवार उठाएर प्रचण्डको समर्थनको आशा गर्नु पनि प्रचण्ड अझै फर्कन सक्छन् भन्ने आशाको चित्र हो ।

कांग्रेसले प्रचण्डलाई संसदमा मत दिएर एमालेको विकल्पमा हामी छौपं भन्ने सन्देश दिएको छ भने यसले ओलीलाई कमजोर बनाउन सकिन्छ भन्ने आकलन छ । सभामुखमा कांग्रेसको तुरुपले काम नगरेपछि अबको खेल राष्ट्रपतिमा हुनेछ भन्ने काग्रेसको बुझाइ हो । प्रचण्डले ओली छाडेर कांग्रेसलाई राष्ट्रपतिमा समर्थन गर्छन् भन्ने खेलमा देशी तथा विदेशी राष्ट्र खेलेको खेल रंगमञ्चमा छयालब्याल देखिन्छ ।

संसदमा प्रमुख प्रतिपक्षको हैसियतसमेत लिन नसकेको कांग्रेसले कस्तो लोकतन्त्र र बलियो प्रतिपक्षको वकालत गरेको छ भन्ने कुरा अहिलेको भूमिकाले प्रष्ट पारेको छ । सातै प्रदेशमा मन्त्री र मुख्यमन्त्रीसमेत निर्वाचित भइसकेको अवस्थामा पदका लागि कतिसम्म गिर्न सक्छ भन्ने कुरा रमेश लेखकले दिएको अभिव्यक्तिले पुष्टि गर्दछ ।

प्रमुख प्रतिपक्ष दलको हैसियतले राजनैतिक दलको बैठकमा भाग लिने, प्रचण्डको सरकारलाई विश्वासको मत दिने, सरकारलाई समर्थन गर्ने, अनि राष्ट्रपतिलाई बुझाएको समर्थनपत्रमा नेपाली कांग्रेसले हस्ताक्षर गरेको छैन भन्ने विरोधाभासपूर्ण अभिव्यक्तिले लोकतन्त्र नै लजाएको छ ।

राजनीतिमा नैतिकता र इमान्दारिता पनि हुनुपर्दछ । जुन जीवन्त लोकतन्त्रको गहना हो । पदका लागि जे र जस्तो पनि गर्न अभ्यस्त हुन्छ भन्ने कांग्रेसले पुष्टि गरेको छ । विश्वासको मत दिने, प्रतिपक्ष पनि हो भन्ने अभिव्यक्तिले कांग्रेसलाई जनस्तरबाट नै गिराएको छ । समयमा नै गर्नुपर्ने काममा ध्यान नदिँदा काग्रेस अन्तिम अस्त्र प्रयोग गर्देछ ।

प्रचण्डलाई मनाएर राष्ट्रपति पद कांग्रेसको पोल्टामा पार्न सकिन्छ कि भन्ने मनोदशामा छ । जसरी पनि सरकारलाई अस्थिर बनाएर एमालेलाई प्रचण्डसँग टाढा बनाएर सरकारमा पुनः पुग्न सकिन्छ भन्ने मृगतृष्णाको अविरल यात्रामा कांग्रेसको दृष्टि छ । प्रतिपक्ष भन्ने तर संवैधानिक पदमा हक माग्ने कांग्रेसको प्रवृत्तिले कांग्रेस थप कमजोर बनेको छ ।

सरकार बन्नुभन्दा अघि बनेको माओवादी, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायतका पार्टीको उच्चस्तरीय सम्झौताबाट पछाडि हटेर कांग्रेसलाई राष्ट्रपति दिन प्रचण्डलाई नैतिकताले दिदैन । सरकार बनेको केही दिनमा नै दिइने धोकाले प्रचण्डलाई केही राहत दिएता पनि दीर्घकालमा राजनैतिक रुपमा प्रचण्ड र माओवादीलाई कदापि फाइदा दिदैन । जुन कुरा प्रचण्डले राम्रोसँग बुझेका छन् ।

राष्ट्रपतिमा कांग्रेसले लगाएको आँखाले लोकतन्त्र र प्रजातन्त्रलाई नै धुमिल बनाउनेछ भन्ने कुरा कांग्रेसले बुझ्न सकेन भने आम जनता र अन्तर्राष्ट्रिय जगतमा नै कांग्रेसको साख गिर्नेमा कुनै शंका छैन । प्रचण्डलाई फकाएर, धम्काएर, घुर्क्याएर राष्ट्रपति पद हात पार्न कांग्रेसले केही समय अझै नांगो नाँच नाच्ने नै छ ।

तपाईको प्रतिक्रिया