कांग्रेस नेता श्रेष्ठको अन्त्येष्टि

पोखरा ।
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं नेपाल किसान संघका केन्द्रीय सदस्य अमृत श्रेष्ठको बुधबार पोखराको सेतीनदीस्थित गाईघाटमा अन्त्येष्टि गरिएको छ । उनको मंलबार निधन भएको थियो । बिरामी भएपछि सोमबार बेलुका मणिपाल शिक्षण अस्पतालमा लगिएको श्रेष्ठको मंगलबार साँझ निधन भएको हो ।
पोखरा महानगरपालिका १ सिम्पानीका ४७ वर्षीय श्रेष्ठलाई सोमबार नालामुख नजिकै एक रेस्टुरेन्टमा खानेकुरा खान थालेलगत्तै टाउको दुखेपछि अस्पताल पुर्याइएको थियो ।
‘खाजा खान रेस्टुरेन्टमा पसेको एकछिनमै टाउको दुख्यो भन्नुभयो । यसपछि सामान्य बान्ता गरेर बाथरुममा जानुभयो । यसपछि नफर्केपछि गएर हेर्दा बाथरुममै बेहोस हुनुभएको रहेछ हामीहरुले तत्काल अस्पताल पुर्यायौं,’ उनका एक आफन्तले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै भने ।
उनको उपचारमा संलग्न डाक्टरद्वय बालगोपाल कर्माचार्य र अनमोल पौडेलले मष्तिस्कमा अत्यधिक रक्तस्राव भएर टाउकोमा रगत जमेकाले ब्रेनले काम गर्न नसक्दा त्यस्तो अवस्था आएको बताए । स्वर्गीय श्रेष्ठका बुवा, आमा, श्रीमती, एक छोरी र एक छोरा छन् ।
नेपाली कांग्रेस कास्कीको प्रांगणमा श्रेष्ठको पार्थीव शरीरमा बुधबार दिउँसो श्रद्धाञ्जली अर्पण गरिएको थियो । नेपाली कांग्रेस, कास्कीका सभापति किशोरदत्त बराल, नेपाल किसान संघका केन्द्रीय सभापति गणेशचन्द्र तिमिल्सिना र नेपाल किसान संघ कास्कीका सभापति भेषराज पराजुलीले पार्टीको चारतारे झण्डा र नेपाल किसान संघको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।
२०४६ सालमा नेपाल विद्यार्थी संघको सदस्यता ग्रहण गरी पृथ्वीनारायण क्याम्पस इकाई समितिको सदस्य बनेका श्रेष्ठले नेविसंघ जिल्ला कार्यसमितिको सदस्य रही विद्यार्थी हक, हितका लागि संघर्ष गरेका थिए ।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा सदैव अग्रपंक्तिमा रहने श्रेष्ठ सिद्धान्तप्रति निष्ठावान कर्मशील, अत्यन्त सरल र प्रष्टवादी रहेको कास्की कांग्रेस सभापति किशोरदत्त बरालले जनाएका छन् ।
श्रेष्ठको सम्मानमा माघ १९ गते बिहीबार १ दिन जिल्ला पार्टी कार्यालय बन्द गरिने, पार्टीको झण्डा ३ दिन झुकाइने र १३ दिनसम्म पार्टी कार्यालयमा शोकपुस्तिका राखिने कास्की कांग्रेसले जनाएको छ ।
तपाईको प्रतिक्रिया