प्रदेश सरकारलाई पूर्णअधिकार सम्पन्न बनाउन आवश्यक: मुख्यमन्त्री अधिकारी

समाधान संवाददाता २०७९ माघ १९ गते १६:११

लेखनाथ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सरकारलाई पूर्ण अधिकार सम्पन्न बनाउनु पर्नेमा जोड दिएका छन् ।

लेखनाथ उद्योग वाणिज्य संघले गण्डकी प्रदेशका नव नियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरुको सम्मानमा राखेको बधाई तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री अधिकारीले व्यवस्था फेरीए पनि केन्द्रीकृत प्रवृति भने नफेरीएकाले यसलाई सुधार गर्नुपर्ने आवश्यकता औंल्याएका हुन् ।

स्थानीय तहमा पूर्णअधिकार सम्पन्न रहेको तर प्रदेशलाई दिएका अधिकार केन्द्रीकृत भएकाले यसलाई सुधारगरि अधिकार सम्पन्न प्रदेश सरकार बनाउनेतर्फ आफ्नो प्रयास रहने विचार राख्दै मुख्यमन्त्री अधिकारीले प्रदेश सरकारको अनुभव आफ्नो लागि पहिलो भएपनि विकासका क्षेत्रमा कहिल्यै गल्ती नगर्ने र भष्टचारसँग नाता पनि नगास्ने ठोकुवा गरेका थिए ।

संघका अध्यक्ष छत्रधर आत्रेयले ताल तलैया,औद्याेगिक क्षेत्र र तालचोक देखि बेगनासतालसम्मको बाटो विस्तार एवम पृथ्वीराज मार्गको कोत्रेदेखि विजयपुरसम्मकाे बाटो विस्तारका क्रममा खानेपानीको पाईपमा पर्ने क्षतीका बारेमा सरकारले ध्यान दिनुपर्ने सुझाव राखेका थिए ।

जनस्तरबाट सुझाव समेत संकलन गरिएको कार्यक्रममा नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य बाबुराम गिरी, संघका वरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठ र महासचिव उपेन्द्रराज सुवेदी (राजु)ले उद्योग एवंम उद्योमशिलता, पर्यटन विकास र व्यवसायीक क्षेत्रमा परेका समस्याका बारेमा प्रदेश सरकारले एकिकृत विकासका योजना ल्याउनु पर्ने र त्यसमा व्यवसायीहरु सरकारको सहयात्री भएर विकासमा जोडिन जोड दिएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया