मुस्ताङको छैरो स्थित कालिगण्डकी तटीय भागको जमिन भाँसियो ,तटबन्ध लगाउन स्थानीयको माग

समाधान संवाददाता २०७९ माघ १९ गते २२:०३

जोमसोम–मुस्ताङको घरपझोङ गाउँपालिका–१ छैरोको तल्लो वस्ती स्थित कालिगण्डकी नदीको तटीय जमिनमा बिहिबार सुख्खा पहिरो गएको छ । तटीय क्षेत्रमा वर्षौपहिले पहिरोले जमिन चिरा परेको र अहिले सुख्खा पहिरो गएको छैरो गाउँका मुखिया दुरेन गौचनले जानकारी दिए ।
सुख्खा पहिरोका कारण पटक पटक जमिन भाँसिदा मुख्य राजमार्ग सडक र छैरो वस्ती समेत जोखिममा रहेको गाउँ मुखिया गौचनको भनाई छ ।‘ सुख्खा पहिरो गएको स्थान पहिलानै चिरा परेको भाग हो,’मुखिया गौचनले भने,‘अहिले आएर जमिन नदी तल लत्रिन पुग्यो ।’ मुखिया गौचनले छैरो वस्ती र मुख्य सडक संरक्षण गर्न आवश्यक तटबन्धको व्यवस्था गरिदिन सरोकारवाला निकाय समक्ष माग गरेका छन् ।
वर्षौपहिले तटीय क्षेत्रको चिरा परेको भागमा सुख्खा पहिरो गएपछि वस्ती जोखिममा पर्नसक्ने भन्दै छैरो गाउँका स्थानीय चिन्तित देखिएका छन् । उनीहरुले यसरीनै बर्सेनि जमिन भाँसिदै गएमा वस्ती समेत संकटमा पर्ने बताएका छन् । जमिन भाँसिएको स्थानबाट छैरो वस्तीको दुरी करिव ३०÷४० मिटर फरकमा पर्छ ।
छैरोमा जमिन भाँसिएको खबरपछि मुस्ताङका प्रजिअ अनुज केसीसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटना स्थलमा पुगेको थियो । उनीहरुले पहिरो ग्रष्तक्षेत्रको अवलोकन गरे । अहिले सुख्खा पहिरो रोकिएको छ । प्रजिअ केशीले पहिरोग्रष्त क्षेत्रमा नदी नियन्त्रण तथा सुख्खा पहिरो नियन्त्रण गर्न आवश्यक पहल गर्ने बताए ।

तपाईको प्रतिक्रिया