काम नगर्ने ठेकदार, गाली खाने सांसद !

बागलुङका जंगलमा फैलिएको डढेलो निभाउन अनुरोध

समाधान संवाददाता २०७९ माघ २० गते १०:३५

पोखरा ।
पृथ्वी राजमार्ग अन्तर्गत पर्ने पोखरा—मुग्लिनको सडकखण्डको काम स्तोन्नति भइरहेको छ । मुग्लिन पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँ खण्डमा ४ लेन बनाउने योजना अन्तर्गत योजना अगाडि बढिरहेको हो । सडक खण्ड अन्तर्गत पर्ने रुख कटानका काम पन भइरहेका छन् । तर बिजुलीका पोल बिचबिचमै परेका छन् ।

गण्डकी प्रदेश सभामा बिहीबार बोल्दै तनहुँका सांसद अशोक श्रेष्ठले त्यसबारे ध्यानाकर्षण गराए । उनी सभाको शून्य समयमा बोल्दै थिए । उनलेबिजुलीका पोलले समस्या पारेको भन्दै उक्त पोलहरु चाँडो व्यवस्थापन गर्न ध्यानाकर्षण गराए ।

बागलुङकी सांसद कुसुम बुढा पुनले मध्यपहाडी लोकमार्ग निर्माण अलपत्र परेको सुनाइन् । उनले ठेकेदारले पटक–पटक म्याद थप गरेपनि काममा ढिलासुस्ती गरेको बताइन् ।

Advertisement

‘बर्खामा हिलो, हिउँदमा धुलो भएर हिँडिनसक्नु छ, प्रशासनले ठेकेदारलाई ताकेता गर्दा पनि काम भएन, गालीचाहिँ हामीलाई आउँछ,’ उनले भनिन् । उक्त सडक खण्ड छिटो भन्दा छिटो निर्माण सम्पन्न गर्न सांसद बुढाले सरकारलाई ध्यानकर्षण गराइन् ।

उनले बागलुङको धौलागिरी अस्पतालमा ६ जनाको दरबन्दी भएपनि १ जना पनि डाक्टर नभएको पनि सुनाइन् । सांसद द्रोणकुमार कुँवरले बागलुङको तमानखोला गाउँपालिकामा खुङखानीमा विगत २ महिनादेखि लागेको डढेलो अझै ननिभेको भन्दै विपद् व्यवस्थापनको ध्यानकर्षण गराए ।

Advertisement

‘भीषण आगलागी भई वन ध्वस्त भएको हुँदा विपद् व्यवस्थापन गरी आगो नियन्त्रण गर्न सबैको ध्यानाकर्षण जाओस्,’ उनले भने । स्थानीयको प्रयासले मात्रै डढेलो निभ्न नसकेको बरु ढोरपाटन सिकार आरक्षतिरसम्मै फैलिएको जानकारी सांसद कुँवरले दिए ।

मुस्ताङका सांसद विकल शेरचनले उच्च घनत्वको स्याउका बेला बेलामा वितरण गर्न माग गरे । ‘माघ, फागुनमा सार्नुपर्ने बिरुवा जेठअसारमा किसानलाई दिइन्छ र बिरुवाको मृत्युदर उच्च हुन्छ,’ उनले भने, ‘स्याउ खेती राम्रो बनाउन किसानलाई बेलामा बिरुवा उपलब्ध गराउनुपर्छ ।’

म्याग्दीकी सांसद विमला गौचनले मुस्ताङ मुक्तिनाथ जाने सडकको काभ्रेभीर खण्डमा निकै कठिनाइपूर्ण अवस्था रहेको सुनाइन् । पर्यटक र स्थानीयको आउजाउका लागि उक्त सडक छिटो निर्माण सम्पन्न गर्नुपर्ने उनको भनाइ थियो । स्याङ्जाकी सांसद सरस्वती अर्याल तिवारीले सिद्धार्थ राजमार्गका घुम्तीहरु काट्न माग गरिन् ।

‘स्याङ्जा—पोखरा सुरुङ मार्ग छिटो निर्माण सुरु गरियोस्,’ उनले भनिन् । स्याङ्जाकै अर्का सांसद सुधीरकुमार पौडेलले सिरुबारीमा सामूहिक चोरी भएको विषय उठान गरे । त्यहाँका गुम्बा, वित्तीय संस्था, वडा कार्यालयहरु लगायतमा चोरी भएको हुँदा पर्यटकीय गाउँको सुरक्षामा ध्यान दिन उनले माग गरे ।

शून्य समयमा सांसदहरु चम्पादेवी खड्का, जीतप्रकाश आले मगर, फणीन्द्र देवकोटाले पनि समसामयिक विभिन्न विषयमा प्रदेशसभा एवम् सरकारको ध्यानाकर्षण गराएका थिए ।

बैठकको विशेष समयमा सांसद सरस्वती गुरुङ, जीतबहादुर शेरचन, महेश भट्टराई, भक्तबहादुर कुँवर, नन्दप्रसाद न्यौपाने, सुशीला सिम्खडा, विन्दु अधिकारी पहाडी, भोजराज अर्याल, गणेशमान गुरुङ, दमयन्ती रुचाल र दिलमाया पौवीले बोलेका थिए । संसदको अर्को बैठक माघ २० गते दिनको १ बजे बस्नेछ ।

तपाईको प्रतिक्रिया