बेनी कोरला सडकमा ६ अर्ब खर्च

सुन्दरकुमार थकाली २०७९ माघ २० गते ११:०८

जोमसोम ।
उत्तर दक्षिण जोड्ने व्यापारिक मार्ग विस्तारित आयोजना अन्तर्गत राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडकमा ६ अर्ब १ करोड ३० लाख बजेट खर्च भईसकेको छ । आयोजनाको सुरुवातदेखि हालसम्मको ५ वर्षको अवधिमा ३४ वटा ठेक्कामा उक्त बजेट खर्च भएको आयोजनाले बताएको छ ।

सडक तथा पुल पुलेसा गरी ३४ वटा ठेक्काको कुल लागत करिब ११ अर्ब १० करोड ७३ लाख रहेकोमा करिब ७ अर्ब ६८ करोड १७ लाखमा ठेक्का सम्झौता भएको आयोजना प्रमुख जगत प्रजापतीले बताए । ठेक्का सम्झौता भएको बजेटमा अब करिब १ अर्ब ६७ करोड खर्च हुन बाँकी छ ।

राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजना आर्थिक वर्ष २०७३÷०७४ देखि सुरु गरिएको थियो । आयोजनाको चालु आवमा विनियोजित पुँजीगत विकास खर्च १ अर्ब २८ करोड ७६ लाखमध्ये १७ करोड करोड १८ लाख अर्थात १३ प्रतिशत बजेट आधा वर्षमा खर्च भएको छ । सडक अन्तर्गत २ सय २ किमी सडक स्तरोन्नति, अस्फाल्ट कालोपत्र र पुलपुलेसा गरी ३४ वटामा ठेक्का सम्झौता गरिएको थियो ।

Advertisement

जसमध्ये गत आर्थिक वर्षसम्ममा सडक तथा पुल पुलेसा र कालोपत्रेमा ५ अर्ब ३८ करोड ८० लाख खर्च भइसकेको छ भने पुलतर्फ ५८ करोड ८० लाख बजेट वित्तीय खर्च भइसकेको छ । सडक तथा पुल पुलेसातर्फ ८ वटा पुल र केवल पुलतर्फ ८ वटा योजना छन् ।

सडक तथा पुल पुलेसातर्फ भार्सा खोला, लोमान्थाङ खोला, किम्लिङ खोला र नाम्डोक खोला, काइको खोला, लार्जुङ खोला छन् भने पुलतर्फ मार्फा, छुसाङ, घमी, पाण्डाखोला, राहुघाट, लेते, कागबेनी र चराङ खोला छन् ।

Advertisement

जसमध्ये ५ वटा पुल निर्माणको काम सकिएको आयोजना प्रमुख जगत प्रजापतीले जानकारी दिए । म्याग्दीको घट्टे खोला, राहुघाट खोला र मुस्ताङको लेते खोला, पाण्डा खोला र स्याङ खोला पुल निर्माणको काम सकिइसकेको छ ।

उत्तर दक्षिण जोड्ने कोरला सडक अन्तर्गत जोमसोम–कोरला १ सय १५ किमी ग्राभेल सडक ७ खण्ड र बेनी–जोमसोम ७४ किमी कालोपत्रे सडक ४ खण्डमा सडक स्तरोन्नति भइरहेको छ ।

यसका अलवा पछिल्लो समय मालढुंगा–बेनी १३ किमी कालोपत्र सडक, बेनी–गलेश्वर ३ किमी कालोपत्र सडक र जोमसोम–कागबेनी १३ किमी कालोपत्रे सडक निर्माणको ठेक्का थपिएको हो ।

आयोजना अन्तर्गत बेनी–जोमसोम ७४ किमी कालोपत्र सडकको ४ खण्डका लागि कुल लागत करिब ३ अर्ब ५० करोड रहेकोमा २ अर्ब ९० करोडमा ठेक्का सम्झौता भएको थियो ।

यस्तै, जोमसोम–कोरला १ सय १५ किमी ग्राभेल सडकको ७ खण्डका लागि ४ अर्ब लागत स्टमेट गरिएकोमा २ अर्ब ६० करोडमा ठेक्का सम्झौता भएको थियो ।

पछि थप गरिएको मालढुंगा बेनी १३ किमी सडकका लागि ९९ करोड ५० लाख लागत स्टमेट भएकोमा ५२ लाख ४० करोडमा ठेक्का सम्झौता भई कामअघि बढाइएको थियो ।

बेनी–गलेश्वर ३ किमी सडकको लागत १६ करोड ६० लाख रहेकोमा १२ करोड ७५ लाखमा ठेक्का सम्झौता भएको हो । यस्तै, जोमसोम–कोरला १३ किमी कालोपत्र सडकका लागि ५८ करोड लागत स्टमेट भएकोमा २८ करोड १४ लाखमा ठेक्का सम्झौता भएको आयोजना प्रमुख प्रजापतीले उल्लेख गरे ।

निर्माणाधीन बेनी–जोमसोम ७४ किमी सडकको हालसम्मको वित्तीय प्रगती ७० प्रतिशत र जोमसोम–कोरला साविक ठेक्काको वित्तीय प्रगती ९८ प्रतिशत छ ।

चराङ–छोसेर २५ किमी सडक अन्तिम चरणमा छ भने बाँकी ६ खण्ड आयोजनालाई हस्तान्तरण भइसकेका छन् । बेनी–जोमसोम ७४ किमी सडकमध्ये अहिलेसम्म २६ किमी सडक कालोपत्र भइसकेको छ ।

आयोजना अन्तर्गत जोमसोम–कागबेनी कालोपत्रे सडकको काम निर्माण कम्पनीको ढिलासुस्तीले १८ महिनामा ७ प्रतिशतमात्र भौतिक प्रगति छ भने मालढुङ बेनी सडकको आशिंक भौतिक प्रगति भएको छ । बेनी–गलेश्वर ३ किमी सडकको भौतिक प्रगती शून्य छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया