कुष्ठरोग उन्मूलन सम्भव छ

प्रकाशराज वाग्ले २०७९ माघ २० गते १२:१३

प्रकाशराज वाग्ले ।
कुष्ठरोग अन्त्यका लाग आजैबाट पहल गरौं भन्ने नाराका साथ ७० औं विश्व कुष्ठरोग दिवस माघ १५ गते मनाइएको छ । कुष्ठरोग म्याकोब्याक्टेरियम लेप्रे नामको सूक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको सरुवा रोग हो । यो रोगका किटाणुले खास गरी छाला र स्नायुमा असर गर्दछन् । यो रोग प्राचीन कालदेखि नै हाम्रो समाजमा परिचित छ ।

सन् १८७३ मा नर्वेका वैज्ञानिक डा जिए हेन्सनले यस रोगको किटाणु पत्ता लगाएका थिए । त्यसैले यो रोगलाई हेन्सन डिजिज पनि भनिन्छ । सरुवा भएता पनि यो कम कम सर्ने खालको रोग हो । उपचार नगरेको कुष्ठरोगका बिरामीसँग लामो समय, हप्तामा २० घण्टाभन्दा बढी समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यतः श्वासप्रश्वासको माध्यामबाट यो रोग सर्न सक्छ ।

कुष्ठरोग वंषाणुगत रोग होइन । मानिसको शरीरमा कुष्ठरोगका किटाणुले प्रवेश गरेपछि प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिमा साधारणतया २ देखि ५ वर्षमा रोगको चिन्ह र लक्षण देखा पर्न सक्छ । यो रोग कुष्ठरोग लागेर उपचार नगरेकाहरुबाट अर्को व्यक्तिमा सर्ने गर्दछ । उपचार सुरु गरेका बिरामीबाट सर्दैन ।

Advertisement

कुष्ठरोगप्रतिको नकारात्मक सोच र सही जानकारी अभावले कुनै पनि समयमा यसको प्रकोप भयावह बन्ने सम्भावना टरिसकेको छैन

समाजमा कुष्ठरोगप्रतिको पुरानो धारणामा अझै पूर्णरुपमा परिवर्तन आईसकेको छैन । अझै पनि कुष्ठरोगलाई महारोग, उपचार हुन नसक्ने र अत्यन्त छिटो सर्ने प्रकृतिको संक्रामक रोगको रुपमा लिने गरिन्छ । यसै कारण कुष्ठरोगी वा औषधिपश्चात रोगबाट मुक्त भइसकेका व्यक्तिप्रति पनि ठूलो सामाजिक लान्छना र भेदभाव व्याप्त छ ।

Advertisement

अझै पनि कतिपय व्यक्ति रोगको शंका लागि सकेपछि नजिकैको स्वास्थ्य संस्थाबाट औषधोपचार खोज्नुभन्दा छर छिमेक र समुदायका व्यक्तिले थाहा नपाउन भनी अन्यत्रैबाट उपचार गर्ने प्रयास गर्छन् । जसले गर्दा रोग लुकाउने, उपचार ढिला हुने, अन्य व्यक्तिलाई सर्ने र अंगभंगसमेत हुने जोखिम ज्यादा हुन्छ ।

सबैभन्दा पहिले कुष्ठरोग अत्यन्त कम सर्ने र अन्य रोग जस्तै सजिलै उपचार हुन सक्ने रोग हो भन्ने कुरा सबैले बुझ्नु र सोही अनुसार उपचारको खोजी गर्नु आवश्यक छ । कुष्ठरोग कम सर्ने प्रकृतिको रोग हो । अधिकांश मानिसमा उनीहरुको रोगविरुद्ध लड्न सक्ने क्षमताका कारण यो रोग सर्दैन भने उपचार नगरेका कुष्ठरोगका बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउनेलाई श्वास प्रश्वासको माध्यमबाट यो रोग सर्न सक्छ ।

यो रोग कीरा, लामखुट्टे, झिंगा, उडुस आदिबाट सर्ने रोग होइन । उपचारका दृष्टिकोणले कुष्ठरोगलाई २ प्रकारमा विभाजन गरिएको छ ।

  • कम किटाणु भएको
  • धेरै किटाणु भएको

कुष्ठरोगको उपचार बहुऔषधी उपचार विधिबाट गरिन्छ । बहु–औषधी उपचार विधि भनेको एकभन्दा बढी प्रकारका औषधीबाट उपचार गर्नु हो । यस पद्धतिमा ३ वटा औषधी संयुक्त रुपमा खुवाइन्छ । यस औषधीको सेवनले किटाणुलाई नष्ट गरी रोग निको पार्छ । सुरुको अवस्थामा नै उपचार गरेमा अपांगता/असमर्थता हुँदैन ।

कुष्ठरोगको कम किटाणु भएका बिरामीले ६ पत्ता अर्थात ६ महिनासम्म औषधी खानु पर्छ र कुष्ठरोगका धेरै किटाणु भएका बिरामीले १२ पत्ता अर्थात १२ महिनासम्म औषधी खानु पर्छ । विशेषज्ञ डाक्टरको सल्लाह अनुसार थप गरी २ वर्षसम्म पनि औषधी खानुपर्ने हुन सक्छ । कुष्ठरोग लागेका बिरामीलाई कुनै विशेष क्लिनिक वा अस्पतालमा उपचार गर्नु पर्छ भन्ने हुँदैन ।

आफ्नै घरमा बसेर कुष्ठरोगको बहु–औषधी उपचार विधिबाट उपचार गर्न सकिन्छ । बहु–औषधी उपचार विधि सुरुगर्ने बित्तिकै ९९ प्रतिशतभन्दा बढी किटाणु निष्क्रिय हुन्छन् । त्यस कारण कुष्ठरोग लागेर उपचार सुरु गरेको बिरामीसँग एउटै घर/कोठामा बस्न सकिन्छ ।

विश्व स्वास्थ्य संगठनको सन् २०१९ को तथ्यांक अनुसार विश्वमा २ लाख २ हजार २ सय ५६ नयाँ कुष्ठरोगी पत्ता लागेका थिए । सन् २०२० मा विश्वका १ सय ३९ देशबाट उपलब्ध तथ्यांक अनुसार १ लाख २७ हजार ५ सय ५८ नयाँ कुष्ठरोगका बिरामी पत्ता लागेका थिए । विश्वमै सबैभन्दा धेरै कुष्ठरोगी भारतमा छन् ।

नेपालमा सन् २०१० मा कुष्ठरोग निवारण भएको घोषणा गरिएको थियो । प्रति १० हजार जनसंख्यामा १ जना भन्दा कम रोगी भएको अवस्थालाई रोग निवारण भएको मानिन्छ । नेपालमा निवारण भएको घोषणा गरेको अवस्थामा प्रति १० हजार जनसंख्यामा ०.८९ कुष्ठरोगी थिए र २०७३/०७४ मा बढेर ०.९२ पुगेको थियो । हाल सो संख्या प्रति १० हजारमा ०.८१ छ ।

निवारण घोषणा गर्दाको अवस्थामा तराईका १२ जिल्लामा निवारणको लक्ष्य पूरा भएको थिएन भने हाल निवारण लक्ष्य पूरा नभएका जिल्लाको संख्या १६ पुगेको छ । स्वास्थ्य सेवा विभाग, कुष्ठरोग निवारण तथा अपांगता व्यवस्थापन शाखाका अनुसार २०७८।८९ मा नेपालमा २ हजार २ सय ८५ नयाँ विरामी पत्ता लागेको थिए । जसमध्ये ९८९ (४३ प्रतिशत) महिला थिए ।

सबैभन्दा धेरै प्रकोप प्रदेश नं २ मा देखिन्छ जहाँ कुल संख्याको ४० प्रतिशत (९ सय १०) बिरामी छन् । दोस्रोमा लुम्बिनी प्रदेश छ; जहाँ २५ प्रतिशत (५ सय १८) बिरामी छन् भने तेस्रोमा प्रदेश १ छ; जहाँ १५ प्रतिशत (३ सय ४५) बिरामी छन् । सबैभन्दा कम कर्णाली प्रदेशमा ३ प्रतिशत (६८) बिरामी छन् ।

निवारण घोषणा भइसके पछिका धेरै वर्षसम्म प्रतिवर्ष ३ हजार हाराहारीमा नयाँ रोगी थपिने गरेका थिए । जुन २०७६।०७७ मा १ हजार ८ सय ५३ जनामा झरेको थियो । कोभिड १९ को महामारीले स्वास्थ्य क्षेत्रमा पारेको असरका कारण हालैका वर्षमा नयाँ बिरामी पत्ता लगाउने क्रममा आएको कठिनाइका कारण पनि नयाँ बिरामीको संख्या काम भएको हुन सक्ने अनुमान गरिएको छ ।

तथ्यांक हेर्दा नेपालमा कुष्ठरोग निवारण भयो भनेर ढुक्कसँग बस्ने अवस्था छैन । निवारण घोषणा भएको यतिका वर्ष भईसक्दा पनि १६ जिल्लामा निवारणको अवस्था नहुनु र प्रतिवर्ष उल्लेख्य संख्यामा नयाँ बिरामी थपिनुका साथै स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिरै रहेको जनसंख्या पनि उल्लेख्य छ । कुष्ठरोगप्रतिको नकारात्मक सोच र सही जानकारी अभावले रोग लुकाउने र समयमै उपचारको खोजी नगर्ने प्रवृत्तिले गर्दा कुनै समयमा यसको प्रकोप भयावह रुपमा देखा पर्न सक्ने सम्भावना टरिसकेको छैन ।

निवारण घोषणापछिको अवस्थामा विश्व स्वास्थ्य संगठन लगायत कतिपय दातृ संस्थाले कुष्ठरोगको उपचार र पुनस्र्थापनक लागि सहयोग गर्न कम वा बन्द गरिसकेका छन्। कालान्तरमा यसको प्रत्यक्ष प्रभाव सेवाग्राहीमा पर्ने प्रष्टै छ । तसर्थ कुष्ठरोगको रोकथाम, उपचार र व्यवस्थापनाका लागि प्रभावकारी उपाय अवलम्बन गर्न अत्यन्त आवश्यक भइसकेको छ ।

नेपाल कुष्ठरोग निवारण संघ सन् १९६९ (२०२६) सालमा कुष्ठरोगको उपचार र पुनस्र्थापना गर्ने उद्देश्यले स्थापना भएको सामाजिक संस्था हो । स्थापना कालदेखि नै यो संस्थाले नेपालमा कुष्ठरोग निवारणमा महत्वपूर्ण योगदान गर्दै आएको छ । रोगको उपचार मात्र नभई यो रोगका बारेमा समाजमा रहेको नकारात्मक सोच हटाउन, कुष्ठ प्रभावित व्यक्ति र परिवारको शिक्षा तथा जीविकोपार्जनमा समेत संस्थाले काम गर्दै आएको छ ।

नेपाल कुष्ठरोग निवारण संघ पोखारा शाखाले पोखरा महानगरालिका वडा नं १५ टुटुंगामा बेसहारा, काम गर्न नसक्ने र अंगभंग भएका कुष्ठ प्रभावितका लागि पोखरा आरोग्य आश्रम सञ्चालन गरेको छ । हाल सो आश्रमममा १२ जना कुष्ठ प्रभावित रहेका छन ।

संस्थाको भौतिक क्षमता सोभन्दा धेरै व्यक्ति रहन सक्ने भएता पनि दातृ संस्थाका साथै नेपाल सरकारले उपलब्ध गराउँदै आएको आर्थिक सहयोगमा उल्लेख्य मात्रामा कटौती भएका कारण आश्रम पूर्ण क्षमतामा सञ्चालन गर्न कठिनाइ भएको छ । जसका कारण सेवाग्राही मर्कामा परेका छन् ।

कुष्ठरोग मुक्त नेपाल बनाउने बाटो
जनचेतना जगाउने र रोग सर्न नदिनेः कुष्ठरोगका बारेमा समाजमा अझै पनि अन्धविश्वास व्याप्त छ । मानिसहरु स्वास्थ्य संस्थाबाट औषधी उपचार खोज्नेभन्दा पनि धामी झाक्रीकहाँ धाउने गर्छन् । जस्ले गर्दा उपचार ढिलो हुन्छ । रोगका बारेमा सही जानकारी गराउने, रोग नलुकाउने र शंका लागेमा नजिककको स्वास्थ्य संस्थामा उपचारका लागि सम्पर्क गर्ने र नियमित औषधी सेवन गर्ने बानी विकास गर्नु आवश्यक छ ।

समुदायमा पनि व्यापक जनचेतना जगाई कुष्ठरोगीलाई सामान्य व्यक्तिसरह व्यवहार गर्ने, भेदभाव नगर्ने र परिवारमा आवश्यक माया, ममता र सहयोगको वातारण हुनु आवश्यक छ । रोगको समयमै पहिचान र उपचार तथा रोकथामः समाजका सबै सरोकारवाला, स्वास्थ्यकर्मी, शिक्षक, विद्यार्थी, धामीझाँक्री र परम्परागत उपचारमा संलग्न व्यक्तिहरु, सामुदायिक समूह सबैमा कुष्ठरोगका बारेमा सत्य तथ्य जानकारी र सकारात्मक सोच भएमा रोगको समयमै पहिचान गर्न सहज हुन्छ ।

समयमै रोगको पहिचान र उपचार भएमा कुष्ठरोगका कारण अंगभंग हुने आवस्था आउँदैन । रोगको निदान र निवारणमा सहयोग पुग्छ । विश्वमा ४५ देश कुष्ठरोग मुक्त भइसकेका छन् । ती देशमा नयाँ कुष्ठरोगी पाइदैनन् । १४ वटा देश कुष्ठरोगका नयाँ बिरामी शून्य बनाउने बाटोमा छन् । ती देशमा गत ५ वर्षमा कुनै पनि कुष्ठरोगका बालबालिका पत्ता लागेका छैनन् ।

२४ भन्दा धेरै देशले कुष्ठरोगको रोकथामका लागि एडिआर पिइपी कार्यक्रम सञ्चालन गरेका छन् । यसले बिरामीको नजिकको सम्पर्कमा रहेका व्यक्तिमा कुष्ठरोग सर्ने सम्भावना ९९ प्रतिशतसम्म घटाउँछ । माथिका तथ्यांकले कुष्ठरोगको प्रभावकारी उपचार उपलब्ध छ र यसलाई रोकथाम गरी उन्मूलनसमेत गर्न सकिन्छ भन्ने आशा जगाएको छ ।

तर यसका लागि बलियो राजनीतिक प्रतिवद्धता, आवश्यक स्रोत र साधनको उपलब्धता, आवश्यक अनुसन्धान, समयमै पहिचान र रोग सर्नबाट हस्तक्षेप आदि कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गरिनु पर्दछ । समावेशीकरणः कुष्ठरोग लागी अपांगता भएका वा नभएका व्यक्तिको समाजमा प्रभावकारी समावेशीकरणबाट उनीहरुलाई अघि बढ्ने मौका र प्रोत्साहनको खाँचो छ ।

धेरै कुष्ठ प्रभावित व्यक्ति जो रोगबाट मुक्त भई सामान्य जीवन व्यतीत गरिरहेका छन्, उनीहरु अझै समाजमा हुने भेदभावका कारण खुल्न सकेको अवस्था छैन । त्यसैले नीतिगत रुपमै कुष्ठ प्रभावित विरुद्धको भेदभाव अन्त्य गरी उनीहरुलाई प्रभावकारी रुपमा सामाजिक क्रियाकलापमा समावेश गराएमा कुष्ठरोगप्रतिको नकारात्मक सोचमा परिवर्तन आई यसको निदान, उपचार र निवारणमा सहयोग पुग्छ ।

नेपालको सन्दर्भमा कुष्ठरोग निवारण घोषणा भएको १० वर्षसम्म पनि १६ जिल्लामा अझै निवारण लक्ष्य प्राप्त नभएको र नयाँ बिरामीको संख्या उल्लेख्य रहेकाले यसको उपचार नियमित स्वास्थ सेवा अन्तर्गत समावेश गरिनुका अलावा सबै सामाजिक स्वास्थ्य तथा विकासका क्रियाकलापमा कुष्ठरोगको सवाललाई समावेश गरिनुका साथै प्रभावकारी अनुगमनको खाँचो छ ।

निवारण पछिको अवस्थामा बढ्दै गएको बिरामीको संख्या, औषधी उपचारद्वारा रोग मुक्त भएका तर रोग बल्झन सक्ने जोखिममा भएका व्यक्तिको उपचार र अंगभंग भई पुनस्र्थापनाको आवश्यकतामा रहेका व्यक्ति र अर्कोतर्फ घट्दै गएको स्रोत र जनशक्ति आदिलाई विचार गर्दा स्वास्थ्य, विकास र पुनस्र्थापनाका सबै क्षेत्रमा कुष्ठरोग र प्रभावित व्यक्तिको प्रभावकारी समावेशीकरणद्वारा मात्र समस्याको समाधान गर्न सकिन्छ । अन्यथा हाल १६ जिल्लामात्र अधिक प्रभावित भएता पनि समस्या वृद्धि हुँदै जाने यथार्थलाई नकार्न सकिन्न ।

वाग्ले नेपाल कुष्ठरोग निवारण संघ कास्की शाखा सदस्य हुन् ।

तपाईको प्रतिक्रिया