मुख्यमन्त्री कप भलिबल फागुन १ देखि

समाधान संवाददाता २०७९ माघ २० गते १६:५७

पोखरा ।
गण्डकी प्रदेश स्थापना दिवस २०७९ मा पोखरामा गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद परिषदको आयोजना तथा गण्डकी प्रदेश भलिबल संघको प्राविधिक सहयोगमा फागुन १ देखि ३ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने भएको छ ।

Advertisement

प्रदेश खेलकुद परिषदको शुक्रबार भएको कार्यकारी समितिको बैठकले उक्त प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको परिषदका सदस्य सचिव घनश्याम पौडेलले जानकारी दिए ।

‘नेपालको राष्ट्रिय खेल भलिबल भएका कारणले पनि हामीले प्रदेश स्थापना दिवसमा गण्डकी प्रदेशस्तरीय मुख्य मन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेका छौं । यो प्रतियोगिताले खेलाडी उत्पादनसँगै प्रदेशका उत्कृष्ट खेलाडीको छनौट गर्न सहयोग पुग्नेछ,’ उनले भने ।

प्रतियोगिताको तयारीका लागि बैठकले परिषदका सदस्य खगेन्द्र क्षेत्रीको संयोजकत्वमा ५ सदस्यीय आयोजक समिति गठन गरेको छ । समितिमा प्रदेश खेलकुदका सदस्य विष्णुमाया गुरुङ, कार्यालय प्रमुख तोपलाल भुसाल, गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष नवीन गुरुङ र महासचिव तहलसिंह थापामगर छन् ।

संयोजक क्षेत्रीले गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट महिला तथा पुरुष खेलाडीको सहभागिता गराउने जानकारी दिंदै प्रतियोगितामा प्रथम, द्वितीय, तृतिय हुने महिला तथा पुरुष टिमलाई क्रमश नगद १ लाख ५० हजार, १ लाख र ५० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने जानकारी दिए ।

Advertisement

प्रतियोगितामा उत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीले जनही नगद २० हजार तथा विद्यागत रुपमा महिला तथा पुरुष खेलाडीले ५ जनाले जनही नगद १० हजारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

तपाईको प्रतिक्रिया