गन्तव्यमा नेपाल समावेश गर्न चीनलाई आग्रह

समाधान संवाददाता २०७९ माघ २२ गते १३:१८

पोखरा ।
चीनले यही माघ ६ गते आफ्ना नागरिकका लागि सार्वजनिक गरेको गन्तव्य राष्ट्रको सूचीमा नेपाललाई पनि समावेश गर्न आग्रह गर्दै होटल संघ पोखरा नेपालले काठमाडौं स्थित चिनिया राजदूतावासलाई आग्रह पत्र बुझाएको छ ।

Advertisement

संघका अध्यक्ष लक्ष्मण सुवेदीले नेपालका लागि चिनिया राजदूत छन सोङलाई लेखेको पत्रमा कोभिड १९ केही मत्थर हुँदै गर्दा चीनले गन्तव्य मुलुकको सूची सार्वजनिक गर्नुलाई सकारात्मक रुपमा लिइएको उल्लेख गरिएको छ ।

सन् २०२३ मा चिनिया पर्यटकलाई स्वागत गर्न नेपाली पर्यटन व्यवसायी तयार र आसावादी भएकै बखत चीनका तर्फबाट सार्वजनिक भएको २० गन्तव्य मुलुकको सूचीमा नेपाल नपर्दा संघ निरास भएको जनाइएको छ ।

कोभिडसँगै भ्रमण स्थगनको करिब ३ र्षको अन्तरालपछि चीनले सार्वजनिक गरेको सूची अनुसारको व्यवस्था आगामी सोमबारबाट लागू हुँदै छ ।

दूतावासलाई लेखिएको पत्रमा सार्वजनिक गरिएको देशहरुको सूचीलाई पुनःविचार गरी नेपाललाई पनि त्यसमा समावेश गर्न आग्रह गरिएको छ ।

Advertisement

उक्त सूचीमा नेपाललाई समेट्न सकिए कोभिड १९ बाट थला परेको नेपाली पर्यटनलाई पुनरुत्थान गर्न र २ देशबीचको सदिऔं पुरानो सम्बन्ध थप प्रगाढ बन्न मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ ।

घुम्नका लागि नेपाल प्राकृतिक रुपमा सुन्दर र सांस्कृतिक तथा ऐतिहासिक रुपमा धनी रहेको स्मरण गराउँदै यहाँको हावापानी पनि चिनिया पर्यटकका लागि उपयुक्त रहेको पत्रमा बताइएको छ ।

चिनियाँ पर्यटक विगतमा नेपाल आउँदा पोखराको प्याग्लाइडिङ निकै मन पराउने गरेको र पदयात्रा र हिमाल आरोहण जस्ता गतिविधिमा पनि उनीहरु सरिक हुने गरेको उल्लेख पनि गरिएको छ ।

पोखरामा चिनिया पर्यटकका लागि आवश्यक पर्ने सबै प्रकारका पर्यटकीय सुविधा उपलब्ध रहेको र चाइना सिएएमसी इन्जिनियरिङ कम्पनीले चीनकै एक्जिम बैंकको सहुलियतपूर्ण ऋण सहायतामा निर्माण गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसमेत यही माघ १ गते उद्घाटन गरिएको विषय पनि स्मरण गराइएको छ ।

तपाईको प्रतिक्रिया