उर्मिला राष्ट्रियसभा उपाध्यक्ष

समाधान संवाददाता २०७९ माघ २३ गते १०:२४

काठमाडौं ।
राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा(माओवादी केन्द्र)की सांसद उर्मिला अर्याल निर्वाचित हुने पक्का भएको छ । सत्ता गठबन्धनकी उम्मेदवार अर्यालविरुद्ध प्रमुख प्रतिपक्ष कांग्रेसले उम्मेदवारी नै दिएन ।

आइतबार उम्मेदवारी दर्ता गराएकी अर्यालको प्रस्तावकमा राष्ट्रियसभामा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता नारायणकाजी श्रेष्ठ छन् भने समर्थकमा नेकपा (एमाले)का सांसद देवेन्द्र दाहाल र सांसद खिमलाल देवकोटा छन् ।

राष्ट्रियसभाको उपाध्यक्षका लागि आइतबार अपराह्न ४ बजेसम्मका लागि उम्मेदवारी दर्ता गर्ने समयसीमा थियो । कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा आज बसेको पदाधिकारी बैठकले राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवारी नदिने निर्णय गरेको थियो ।

Advertisement

माओवादी केन्द्रको स्थायी समिति सदस्यसमेत रहेकी अर्याल पूर्वस्थानीय विकास मन्त्री समेत हुन् । समाजशास्त्रमा स्तातकोत्तर गरेकी अर्याल विद्यावारीधीको शोधार्थी हुन् ।

अखिल नेपाल महिला संघको केन्द्रीय अध्यक्षको समेत जिम्मेवारी सम्हालेकी अर्यालले महिला विकास अधिकृतको रुपमा पनि सेवा गरेकी थिइन् । अर्यालले तटस्थ र निष्पक्ष भएर संविधान, कानुनले दिए अनुसारको भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएकी छन् ।

Advertisement

तत्कालीन उपाध्यक्ष शशिकला दाहालको कार्याकाल सकिएपछि विगत १ वर्षदेखि उपाध्यक्ष पद खालीे थियो । राष्ट्रियसभामा एमालेका १६, माओवादी केन्द्रको १५, नेपाली कांग्रेसका १०, नेकपा (एकीकृत समाजवादी)का ८, जनता समाजवादी पार्टीका ३, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका एक–एक सांसद छन् । एक जना स्वतन्त्र र तीन जना मनोनित सांसद छन् । रिक्त १ सदस्यका लागि यही माघ २५ गते निर्वाचन हुन लागेको छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सोमबार १२ बजे उपाध्यक्ष चयनका लागि मिति निर्धारण गरेका थिए ।

तपाईको प्रतिक्रिया