बिटी कपमा हाम्रो एफसीको विजयी सुरुआत

समाधान संवाददाता २०७९ माघ २३ गते १०:४१

पोखरा ।
पोखरामा बुद्धटोल युवा क्लबद्वारा आयोजित १६ औं बिटी कप छैटौं वीरेन स्मृति सेभेन ए साइड खुला फुटबल प्रतियोगिता सुरु भएको छ । पोखरा महानगरपालिका १ पुरानो टुडिँखेल मैदानमा आगामी फागुन २ गतेसम्म सञ्चालन हुने प्रतियोगिता आइतबारदेखि सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन खेलबाट हाम्रो एफसीले विजयी सुरुवात गरेको छ । डाडाँगाउँ एफसीलाई टाइबेकरमार्फत ४–३ गोल अन्तरले पराजित गर्दै हाम्रो एफसी दोस्रो चरणमा प्रवेश गरेको खेल संयोजक विनोद गुरुङले जानकारी दिए । खेल १–१ गोलको बराबरी भएपछि खेल टाइबेकरमा पुगेको थियो ।

दोस्रो खेलमा एम फाइभ मालेपाटनले सराङकोट एफसीलाई २–० को गोल अन्तरले पराजित गर्‍यो । एम फाइभको जीतमा आयुष थापाले २ गोलको योगदान दिए । खेल संयोजक गुरुङका अनुसार सोमबार पहिलो चरणकै ८ वटा खेल हुनेछन् ।

Advertisement

सो प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले खेलकुदको विकासका लागि आफूले पहल गर्ने बताए । २१ वर्षदेखि खेलकुदमा काम गर्दै आएको उल्लेख गर्दै उनले पोखरालाई खेलकुदको केन्द्र बनाउने पक्षमा सदनमा प्रतिबद्ध रहने बताए ।

आगामी फागुन २ गतेसम्म सञ्चालन हुने सो प्रतियोगिताको विजेतालाई सिल्ड, मेडल तथा प्रमाणपत्रसहित १ लाख ६१ हजार १ सय ५१ रुपैयाँ प्रदान गरिने क्लबका अध्यक्ष असिम थापाले जानकारी दिए ।

Advertisement

उपविजेताले सिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने छ । सर्वाेत्कृष्ट खेलाडीलाई ट्रफीसहित ८ हजारद्वारा पुरस्कृत गरिनेछ ।

अध्यक्ष थापाले उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई जनही ६ हजार रुपैयाँ र ट्रफी प्रदान गरिने बताए । अनुशासित टिमलाई ९ हजार र ट्रफी प्रदान गरिनेछ ।

प्रतियोगितामा क्वाटरफाइनलका खेलबाट १ खेलाडीलाई म्यान अफ द म्याचको ट्रफी र नगदले पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया