पर्वतीय संग्रहालयको २० औं वार्षिकोत्सव

पोखरा ।
अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखराले स्थापनाको २० औं वार्षिकोत्सव मनाएको छ । त्यस अवसरमा संग्रहालयले विभिन्न कार्यक्रम गरेको थियो । आइतबार वार्षिकोत्सव समारोह थियो ।
वार्षिकोत्सव अवसरमा आयोजित १६ विद्यालय सहभागी भएको हाजिरी जवाफ प्रतियोगितामा मदरल्यान्ड सेकेन्डरी स्कुल प्रथम, छोरेपाटन मावि द्वितीय, सैनिक आवसीय मावि तृतीय र कुम्दिनी होम्स सान्त्वना भएको थियो । त्यस्तै, निबन्ध लेखन प्रतियोगितामा जनप्रिय माविकी अस्मिता गौतम सर्वोत्कृट भइन् ।
विजेता सबैलाई वार्षिकोत्सव समारोहमा आइतबार गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी र सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङले पुरस्कार वितरण गरे ।
त्यस अवसरमा मुख्यमन्त्री अधिकारीले पर्यटन नै प्रदेशको समृद्धिको आधार भएको बताए । उनले संग्रहालय सबैको गौरव भएको विचार पनि प्रकट गरे । सामाजिक विकास मन्त्री गुरुङले जनताले गरेको भरोसा टुट्न नदिने गरी काम गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा नेपाल पर्वतारोहण संघका कार्यवहाक अध्यक्ष ठाकुराराज पाण्डे, संघका सल्लाहकार डा गणेशमान गुरुङ, पोखरा १७ की वडाध्यक्ष राधिका शाही योगी, संघका महासंघ धनबहादुर गुरुङ र पोखरा पर्यटन परिषद अध्यक्ष पोमनारायण श्रेष्ठ र संग्रहालयकी कार्यकारी निर्देशक निर्मला न्यौपाने लगायतले बोलेका थिए । संग्रहालयकी कर्मचारी जूनादेवी कुँवरलाई उत्कृष्ट कर्मचारीको पुरस्कार प्रदान गरिएको थियो ।
तपाईको प्रतिक्रिया