उद्योगी, व्यवसायीका समस्यामाथि छलफल

समाधान संवाददाता २०७९ माघ २३ गते ११:०७

पोखरा ।
कर्जाको ब्याजदर बढेको छ । अर्थतन्त्र संकुचनमा छ । बजारमा ‘चेक बाउन्स’का घटना बढिरहेका छन् । कालोसूचीमा पर्ने व्यवसायीको संख्या पनि पछिल्लो आर्थिक वर्षमा उकालो लागेको छ । कतिसम्म भने व्यवसायी लामो कथा लेखेर मृत्युवरण गर्न अभिषप्त भएका छन् । आखिर यो परिस्थितिको समाधान के छ ?

Advertisement

पोखरा उद्योग वाणिज्य संघले आइतबार यही विषयमा अन्तरसंवाद आयोजना गर्‍यो । ‘उद्योगी/व्यवसायीमाथिका चुनौती र उत्पन्न निराशा: सकारात्मक सोच, कर्म अनि उज्यालोतिरको यात्रा’ विषयक अन्तरक्रियामा अग्रज महिला उद्यमी रामकली खड्काले आग्रहको भाषामा भनिन्, ‘व्यवसायीसँग ऋण त हुन्छ तर कर्जा उठाउने नाममा कर र भ्याटले छापा मार्दा पसलसम्म मात्रै छापा मारे हुन्थ्यो, साना नानीबाबुहरु सुत्ने कोठासम्म पुगेर खानतलासी नगरे हुने ।’

उनको आग्रह वक्ता तथा गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङप्रति लक्षित थियो । गुरुङले जवाफ दिए, ‘यो बर्दी भनेको चिनारीका लागि लगाउने कुरा हो ।

तर, व्यवहारको पाटो हो, हाम्रा व्यक्तिगत व्यवहारको कुरा हुन्छ, हाम्रो प्रहरीमा पनि सुधारको आवश्यकता छ । ’ उनले यसअघि नै सबै आरोपितलाई हिरासतमै राखेर वा पक्राउ नै गरेर कारबाही गर्नु आवश्यक नभएको बताइसकेका थिए ।

‘सबै आरोप लागेका व्यक्तिलाई समातेरै ल्याउनुपर्छ भन्ने पनि छैन । त्यो अनुसन्धान अधिकारीले निर्णय गर्ने कुरा हो । एउटा अभियुक्त भाग्दैन भन्ने ग्यारेन्टी भए, अनुसन्धान अधिकृत वा वकिललाई त्यो ग्यारेन्टी हुनुपर्‍यो । बाहिर छाड्दा प्रमाणहरु नष्ट गर्दैन् भन्ने भएमा र उसबाट थप बदमासी हुँदैन भन्ने भए पक्राउ गर्नु आवश्यक हुँदैन ।’

Advertisement

उनले व्यावसायिक असफलतामात्र आत्महत्याको कारक नभएको तर्क गरे । मानिसलाई सानैदेखि नैतिक शिक्षा दिनसके सानो समस्यामा पनि निराश हुने प्रवृत्तिबाट मुक्ति पाउन सकिने उनले बताए । ‘अब आत्महत्या न्यूनीकरणमात्र होइन, आत्मबल वृद्धिको अभियान थाल्नुपर्छ’, उनले थपे ।

उनले प्रहरीको कस्टडीमा कुनै खालको दुव्र्यवहार र यातना नहुने जिकिर पनि गरे । चेक बाउन्सको हकमा अन्य प्रमाण जुटाउन आवश्यक नपरे प्रहरीले छिटो निरुपण खोज्ने गरेको पनि उनको भनाइ छ । ‘चेक बाउन्स हुनेले पुलिसकहाँ गयो भन्ने छ, अर्को पक्षले गरिदिएन भन्ने पनि छ । हामीले मध्यस्थता गर्ने ठाउँसम्म हामीले गरेका छौँ’, उनले सुनाए ।

कार्यक्रमका अर्का वक्ता थिए, वरिष्ठ अधिवक्ता दामोदर अधिकारी । उनीसँग सोथियो, ‘बैंकले ताकेता गर्दैमा डराइहाल्नुपर्छ ?’ उनले भने, ‘पर्दैन, चेक बाउन्सको कुरा नै गर्दा नै प्रहरीमा उजुरी पर्दैमा ताकेता गरिहाल्नुपर्ने अवस्था आउँदैन ।

कानुनले दुईवटा विकल्प दिएको छ । एउटा बाटो अदालतको हुन्छ, अर्को बाटो प्रहरीको हुन्छ । मान्नुहोस्, कुनै व्यवसायीमाथि चेक बाउन्सको उजुरी प¥यो भने, उहाँहरुले कानुनी बाटो समात्न सकिन्छ । उजुरी लिएर अदालततर्फ जान सकिन्छ ।’ अदालतले नै सबै मुद्दाको निरुपण गर्ने हो नि । त्यस्तोमा व्यवसायीलाई केही सहज हुन्छ ।’

उनले कालोसूचीमा राख्ने भनेको एउटा प्रक्रिया भएको र त्यसबाट व्यवसायी हतोत्साही भइहाल्नु नपर्ने बताए । ‘त्यसको पनि कानुनी प्रक्रिया हुन्छ, कानुनी उपचार खोज्न सकिन्छ’, उनले भने,‘ नेपालको संविधान २०७२ ले व्यापार व्यवसायको अधिकार प्रदान गरेको छ । व्यवसाय गर्दा बाधा व्यवधान आउँछ । कानुनी उपचार खोजेर कालोसूची वा लिलामी प्रक्रियालाई पछाडि धकेल्ल सकिन्छ ।’

कालोसूचीमा परेका वा धितो लिलामीमा जाने अवस्थामा कानूनी उपचार खोज्नेलाई निशुल्क कानूनी सेवा प्रदानको अवसर भएको पनि उनले बताए । त्यस्तो अवस्थामा परिवारको सदस्यले कानूनी उपचार खोज्नुपर्ने उनको सुझाव थियो ।

अन्तरसंवादका अर्का वक्ता वरिष्ठ मनोचिकित्सक डाक्टर रविराज तिमिल्सिनाले आफूलाई केन्द्रमा राखेर सोच्ने हो भने तनाव व्यवस्थापन गर्न सकिने सुझाए । उनले आत्महत्या तत्कालको प्रतिक्रियाजस्तो देखिए पनि त्यो निर्णयको पछाडि लामो प्रक्रिया हुने तर्क गरे ।

‘अब सबैले म भन्ने सोचौँ र आफूलाई केन्द्रमा राखेर कुरा गरौँ’, उनले भने, ‘चार जनामध्ये एक जनामा मानसिक समस्या छ भन्ने तथ्यले देखाएको छ, त्यसको उपचार सम्भव छ । निद्रा मार्नुभएन, निद्राको लागि समय निकाल्नुपर्‍यो । समस्या सबैलाई थाहा छ तर हामीले आफ्नै लागि समय निकालेका छैनौँ,समस्या त्यहीँ छ ।’ उनले पीडा सहन पर्दैन, व्यवस्थापन गरे पुग्छ भन्नेमात्र बुझे समस्याबाट मुक्ति पाइने बताए ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले समस्यामा परेका व्यवसायीलाई परामर्श दिन कार्यक्रम आयोजना गरिएको बताए । संघका सूचना अधिकृत वासुदेव मिश्रले कार्यक्रममा सहजीकरण गरेका थिए ।

तपाईको प्रतिक्रिया