पल शाहलाई १५ दिनभित्र उपस्थित गराउन उच्च अदालको आदेश

समाधान संवाददाता २०७९ माघ २४ गते १०:२१

पोखरा ।
फिल्म अभिनेता पल शाहलाई १५ दिनभित्र अदालतमा उपस्थित गराउन उच्च अदालत पोखराले आदेश दिएको छ ।

Advertisement

कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषि राजभण्डारीको संयुक्त इजलासले सोमबार शाहविरुद्धको बाल यौन दुराचारको मुद्दामा दुबै पक्षलाई झिकाउने आदेश दिएको अदालतका रजिस्टार श्रीलाल पौडेलले जानकारी दिए ।

शाहलाई नाबालिकामाथि बाल यौन दुराचार गरेको अभियोगमा जिल्ला अदालत नवलपरासी पूर्वले साढे २ वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो । उक्त फैसला अनुसार पल २०८१ भदौ १५ गतेसम्म जेल बस्नुपर्छ ।

फैसलाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय र शाह दुबै पक्षले उच्च अदालत पोखरामा पुनरावेदन गरेका थिए ।
शाहलाई जबर्जस्ती करणीको मुद्दामा सफाइ दिने नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालत पोखरामा माघ १२ गते पुनरावेदन दिएको थियो ।

आफूलाई थुनामा पठाउने नवलपुर जिल्ला अदालतको आदेशविरुद्ध अभिनेता शाह गत कात्तिक २५ गते उच्च अदालत पोखरा गएका थिए ।

Advertisement

नाबालिका बलात्कारको आरोपमा पल शाहलाई जिल्ला अदालत तनहुँले भने माघ ३ गते सफाइ दिइसकेको छ । जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको थियो ।

गत फागुन ११ गते नाबालिकाका बुबाले पलविरुद्ध तनहुँ र नवलपुर जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । त्यसपछि फरार पलले फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेर आत्मसमर्पण गरेका थिए ।

त्यसअघि मुद्दाको थुनछेक बहसमा जिल्ला अदालत तनहुँले २०७८ चैत १० मा र जिल्ला अदालत नवलपुरले चैत २३ गते पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको थियो ।

विवाहको प्रलोभन देखाएर जबरजस्ती करणी गरेको, मध्यरातमा पीडितको कोठामा गएको स्वीकार गरेको र गर्भवती भएमात्र स्वीकार्छु भन्ने पीडकको अडियोलाई आधार मानेर अदालतले अभियोग पुष्टि हुने थुप्रै आधार देखिएको भन्दै शाहलाई थुनामै राखेर अनुसन्धान अगाडि बढाउन आदेश गरेको थियो । त्यसविरुद्ध शाहका वकिलले उच्च अदालत पोखरामा निवेदन दिएका थिए ।

यसबीचमा पीडितले बयान फेरेकी थिइन् । उनले पीडकले जबरजस्तीकरणी नगरेको र आवेशमा आएर जाहेरी दिएको बयान दिएकी थिइन् । उनका संरक्षक बुबाले पनि बयान फेर्दै अरुको उक्साहटमा जाहेरी दिएको बयान दिएका थिए ।

तपाईको प्रतिक्रिया