रानीमहलमा प्रेस चौतारीको स्थापना दिवस

समाधान संवाददाता २०७९ माघ २४ गते ११:४५

पोखरा ।
प्रेस चौतारी नेपाल पाल्पाले रानीमहलको संरक्षण, दिगो व्यवस्थापन तथा सञ्चालनको ठोस योजना ल्याउन तीन तहको सरकारको ध्यानाकर्षण गराएको छ ।

Advertisement

दरबार परिसरमा साधारण सभासहितको रजत वर्ष मनाउने क्रममा काली गण्डकी किनारामा एकान्त ठाउँमा रहेको रानीमहलको प्रचारप्रसार र पर्यटन प्रवद्र्धनको लागि योजनाबद्ध ढंगले काम बढाउन राज्यका निकायको ध्यानाकर्षण गराएको अध्यक्ष कृष्ण कार्कीले जानकारी दिए ।

साधारण सभाको सन्दर्भमा जारी रानीमहल घोषणापत्रमा ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय स्थल रानीमहलको संरक्षण, व्यवस्थापन र सञ्चालन विषयमा ३ तहका सरकारलाई गम्भीर बन्न आग्रह गरिएको छ ।

‘ऐतिहासिक र सांस्कृतिक हिसाबले महत्वपूर्ण त्यस क्षेत्रको समग्र विकासका लागि लगानी बढाउन आग्रह गर्दछौं,’ घोषणापत्रमा भनिएको छ, ‘पर्यटकीय र पुरातात्विक सम्पदाको संरक्षण तथा विकासका लागि स्पष्ट योजना तर्जुमा गर्न आवश्यक छ ।’

घोषणापत्रमा रानीमहलसँग जोडिएको ऐतिहासिक पक्षको थप खोजी गर्नसमेत माग गरिएको छ । अध्यक्ष कार्कीले राजनीतिक दल,जनप्रतिनिधि, पर्यटन व्यवसायीलाई रानीमहलको अवस्थाबारे बुझाउन स्थलगत रुपमा लगेर कार्यक्रम गरेको बताए ।

Advertisement

रानीमहलसम्म पुग्ने बाटोको स्तरोन्नति गर्नेदेखि आसपासको क्षेत्रमा पर्यटकका लागि बसोबासको लागि स्तरीय होटल निर्माणको लागि सम्बन्धित पक्षसँग माग गरेको उनले उल्लेख गरे ।

काली गण्डकीको नदी कटानलाई रोक्न माग गर्दै घोषणापत्रमा काली गण्डकी करिडोर निर्माणको क्रममा भएको क्षतिको मूल्यांकन गरी संरक्षणको योजना अगाडि सार्न माग गरिएको छ ।

प्रतिनिधि सभाका सदस्य नारायणप्रसाद आचार्यले रानीमहलको संरक्षण र पर्यटकीय हिसाबले प्रवद्र्धनको लागि ध्यान दिने बताए । उनले रानीमहलको प्रचारप्रसार र संरक्षणका लागि सञ्चार माध्यमले भूमिका खेलेको उल्लेख गरे ।

पछिल्लो समयमा सन १९८७ मा जनरण खड्गसम्शेर राणाले दिवंगत श्रीमती तेजकुमारीकाे नाममा बनाएको रानीमहलको संरक्षण तथा व्यवस्थापनको जिम्मा तानसेन नगरपालिकाले पाएको छ ।

तानसेनका पूर्व नगर प्रमुख अशोककुमार शाहीले तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको पालामा पुरातत्व विभागले रानीमहल तानसेन नगरपालिकालाई हस्तान्तरण गरेको जानकारी दिए ।

तानसेन नगरपालिका वडा नम्बर १३ स्थित रानीमहल दरबार नेपालकै ताजमहलको रुपमा चिनिन्छ । कालीगण्डकी नदीको उत्तरतर्फ हानिने मोडमा विशाल चट्टानमाथि पश्चिमी कलाशैलीमा रहेको रानीमहललाई प्रेमको प्रतीकको रुपमा लिइन्छ । रानीमहल १४ फ्रबुअरीमा पर्ने भ्यालेन्टाइन डे मनाउनेका लागि धेरै प्रेमीप्रेमिकाको गन्तव्य स्थलमा पर्छ ।

तपाईको प्रतिक्रिया